टुँडिखेलमा सीप सिक्नेको घुइँचो, १० क्षेत्रमा निःशुल्क तालिम

 बैशाख २८, २०८१ शुक्रबार १४:२४:४१ | महेश ज्ञवाली
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको टुँडिखेल हिजोआज अर्कै किसिमको ऊर्जाले भरिएको छ । प्रायः खाली समय कटाउने ठाउँ भनेर चिनिने टुँडिखेलको एक भागमा सीप मेला चलिरहेको छ । सीप मेलाले टुँडिखेललाई सिकाइको केन्द्रमा परिणत गरेको छ । मेलामा विभिन्न स्टल छन् र हरेक स्टलमा थरिथरिका तालिम र सीप सिकाइँदैछ । जसमा सिकर्मी, प्लम्बिङ र प्राविधिक लगायत १० क्षेत्रमा २९ भन्दा बढी सीपमा निःशुल्क तालिम दिने स्टल छन् । 

सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सीसीटीभी क्यामेराबारे सीप सिक्न पाइन्छ । हस्पिटालिटी क्षेत्रमा पाक कला, बेकरी, बरिस्टा, बार्टेन्डिङ, वेट्रेसिङको सीप सिकाइन्छ ।

यस्तै अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, अटो एअर कन्डिसनको सीप सिकाइन्छ । कला र संस्कृति क्षेत्रमा कला र स्कप्चरको तालिम लिन पाइन्छ । निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टाइल र मार्बल फिटिङ र प्लम्बिङमा व्यावहारिक सीप सिकाइन्छ । 

यसैगरी गार्मेन्टतर्फ टेलरिङ, ड्रेसमेकिङ र फेसन डिजाइनको सीप सिक्न पाइन्छ । ब्युटिसियन अर्थात् शृङ्गार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने ता स्टाइलिङ र सैलूनको तालिम लिन पाइन्छ । मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम लिन पाइन्छ । डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिक्न पाइन्छ ।

यो सीप मेलाले बहुमूल्य सीप प्राप्त गर्न, नयाँ अवसरको मार्ग अन्वेषण गर्न र उज्ज्वल भविष्यका लागि आफूलाई सशक्त बनाउने अवसर दिएको छ । तर सिकर्मी, प्लम्बिङ र मेकानिकललगायत अरू धेरै सीपमा भन्दा डिजिटल युगको महत्त्वअनुसार सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मत लगायत अरू प्राविधिक धारमा धेरैको चासो देखिएको छ ।

अनामनगर बस्ने बाजुराको हिमाली गाउँपालिकाका राजेश पाण्डेले पनि सीप मेलामा डिजिटल मार्केटिङको तालिम लिइरहनु भएको छ । बिजनेसका विद्यार्थी रहेका राजेशले यो तालिमलाई भविष्यमा गतिशील क्षेत्रका लागि सहयोगीको रूपमा हेर्नुभएको छ ।

‘रोजगारी बजार प्रतिस्पर्धात्मक छ तर डिजिटल मार्केटिङको सीपले भविष्यमा जुनसुकै व्यवसाय गर्दा सहज बनाउन सक्छ’, राजेशले भन्नुभयो, ‘भविष्यमा आफ्नो व्यावसायलाई अगाडि बढाउन मार्केटिङको एकदम खाँचो हुन्छ । अहिले धेरै ठाउँमा डिजिटलाइजेशन भएको छ । डिजिटल युगमा डिजिटल मार्केटिङले सहयोग पुर्‍याउला भन्ने आशाका साथ तालिम लिइरहेको छु ।’

डिजिटल मार्केटिङ जस्तै मोबाइल फोन मर्मत, कम्प्युटर हार्डवेयर मर्मतलगायतको सीप सिक्नेको भिड पनि उलेख्य छ । यसले देशमा फस्टाउँदै गइरहेको प्राविधिक सीपको आवश्यकता र रोजगारीका अवसरलाई प्रष्टै देखाएको छ । यो क्षेत्रमा विद्यार्थी र युवाको आकर्षण बढी देखिन्छ ।

सीप मेलामा सिलाइकटाइकाे सीप सिक्नेको आकर्षण पनि उस्तै छ । सियो, धागो, कैँची र सिलाइ मेशिनकाे काममा व्यस्त हुनेमा धेरैजसो महिला नै छन् । कोही कपडाको लम्बाइ नाप्दै छन्, कोही सिलाइ मेशिन चलाउँदैछन् । हेर्दा सजिलो देखिने सिलाइकटाइको सीप सिक्न पनि सजिलै छ । सीप सिकेपछि महिला पुरुष वा युवा, वृद्ध सबैका लागि उपयोगी हुन्छ । साथै यो व्यावहारिक सीपले स्वःरोजगारी, व्यवसाय वा फेसन उद्योगमा राम्रो अवसर प्रदान गर्दछ ।

प्रशिक्षक नमूना इटनीकाअनुसार तालिममा आधारभूतदेखि अग्रिम तहको सीप सिक्न पाइन्छ । सीप सिकेपछि घरमै बसेर सानोतिनो व्यावसाय गर्न मिल्छ । ‘यसका लागि लगानी पनि कम लाग्छ । अहिले नेपालमा फेसनेवल हुन रुचाउने धेरै छन् । त्यसैले डिजाइनिङदेखि गार्मेन्टसम्म जताततै अवसर नै अवसर छ’, इटनीले भन्नुभयो ।

यसका फाइदा पनि धेरै छन् । घरमा कामधन्दा सकेर फुर्सद मिलेको समयमा सिलाइकटाइको काम गरेर आयआर्जन गर्न मिल्छ । ‘टेलरिङ उद्योग फस्टाउँदैछ, दक्ष कामदारको आवश्यकता पनि धेरै छ, सीप सिकेपछि कमाइ पनि मनग्य हुन्छ’, इटनी भन्नुहुन्छ ।

पर्यटनको केन्द्रका रूपमा परिचित नेपालमा दक्ष सेफ, बेकर र बारिस्टाको माग पनि बढिरहेको छ । त्यसैले होटल, रेष्टुँरा, क्याफेलगायत आतिथ्यको संसारमा पाइला राख्न उत्सुक हुनेलाई अवसर पनि प्रशस्तै छ । बढ्दै गइरहेको होटल, क्याफे, रेस्टुरेन्टदेखि अन्तर्राष्ट्रिय तहमा पनि दक्ष सेफ तथा जनशक्तिको निरन्तर माग छ ।

होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरकाअनुसार विषेशगरी विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर छ । नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेमा पाक कलामा निपुणता भएकाको माग बढी छ । यो सीप सिकेर विदेश जान सहज हुने भएकाले धेरैजसो युवा विद्यार्थीको आकर्षण देखिन्छ ।

वैशाख १९ गतेदेखि शुरु भएको सीप मेला एक महिनासम्म चल्छ । सीप मेलामा इच्छुक सबैले तालिम लिन पाइन्छ । यो नयाँ सीप सिक्ने उत्कृष्ट अवसर हो । यसका लागि नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्छ । त्यसपछि बिहान, दिउँसो र बेलुका रुचि अनुरूप समय छान्न मिल्छ ।

उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्दैछ । काठमाण्डौ महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले यो कार्यक्रमले कामदारको आकाङ्क्षा र रोजगारदाताको आवश्यकताबीचको पुल बन्ने लक्ष्य राखेको बताउनुभयो । ‘निःशुल्क सीप तालिम प्रदान गरेर काठमाण्डौ महानगरपालिकाले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सशक्त बनाउँदैछ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया