अरुण तेस्रोकाे डाइभर्सनल टनेलकाे बाँध बाढीले बगायो

 जेठ १४, २०७८ शुक्रबार १४:१९:४७ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको छ ।

बिहीवार (हिजो) देखि लगातार परेको पानीपछि अरुण नदीमा आएको बाढीले बाँध बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कविन राईले जानकारी दिनुभयो । डाइभर्सनल टनेल बाढीले बगाएपछि त्यो सेक्टरको काम रोकिएको  छ ।

अरुण तेस्रोको डाइभर्सनल टनेलमा पानी हाल्न बनाइएको ढुङ्गा माटोको अस्थायी ड्याम बाढीले भत्काएको हो । बाढीले ड्याम भत्काउँदा पानी प्याँक्न प्रयोग गरिएका डिवाइटिङ पम्प तीन वटा र पम्पमा लाग्ने फलामे पाइप ४० मिटर, सिमेन्ट, गिटी, कङ्क्रिट गर्दा प्रयोग गरिने दुई सय लिटरको टिनको खाली केमिकल ड्रम ३५ वटा, टिनले बारेको ६/६ मिटरको टिनको तीन वटा पोस्ट घरसहित बगाउँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

यो ड्याम साइटमा भारतीय जेपी एसोसियट कम्पनीले काम गरिरहेको छ । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना भारतीय सरकारी जलविद्युत् कम्पनी सतलज एसजेभीएन कम्पनीले निर्माण गरिरहेको छ ।

२०७५ साल वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर आयोजनाको शिलान्यास गर्नुभएको थियो । त्यसयता आयोजनाले कामलाई तीव्रता दिँदै आएकाे छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया