बालबालिकालाई कोरोनाको तेस्रो लहरबाट जोगाउन अहिलेदेखि नै तयारी थालौँ

 जेठ ३०, २०७८ आइतबार १३:४१:३ | डा. तारानाथ पोखरेल
unn.prixa.net

कोरोनाको दोस्रो लहर, पहिलो लहरभन्दा गम्भीर र फरक छ । अहिलेको कोरोनाले युवा र किशोरकिशोरी बढी प्रभावित भएका छन् । पहिलो लहरमा ज्येष्ठ नागरिक र दीर्घरोगी धेरै प्रभावित भएका थिए । बिस्तारै अहिले बालबालिकामा पनि उच्च जोखिम देखिएको छ । विभिन्न देशमा भाइरसको नयाँनयाँ भेरियन्टहरु देखिन थालेका छन् । 

विश्वव्यापी रुपमा फैलिरहेको महामारी भएकाले तत्काल नियन्त्रणको सम्भावना छैन । सबै मानिस सङ्क्रमित भइसकेपछि वा खोप लगाएर  प्रतिरोधात्मक क्षमता बढाएमात्र नियन्त्रणमा आउन सम्भव छ ।  कतिपय देशहरुमा तेस्रो लहर सुरु भइसकेको र वैज्ञानिकहरुले नेपालमा पनि तेस्रो लहर देखिन सक्ने र तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । अहिले पनि कोरानाको पहिलो लहरको तुलनामा  सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । 

बालबालिकाको लागि कोरोना भाइरस विरुद्धको खोपको विकास भइसकेको छैन । केही देशमा खोपको परीक्षण हुन लागेको भनिए पनि विकास हुन र खोप लगाउनका लागि अझै समय लाग्न सक्छ । बालबालिका स्वभावैले एक अर्कासँग खेल्ने, स्कुल जाने र  एकअर्कोमा घुलमिल भइहाल्ने स्वभावका हुन्छन् । उनीहरुलाई जनस्वास्थ्यको मापदण्डको पालना गर्न लगाउन गाह्रो हुने भएकाले झनै जोखिम हुन्छ । कोरोनाको तेस्रो लहर आएमा अहिले हामीसँग भएको जनशक्ति र पूर्वाधारले बालबालिकाको उपचारको लागि पुग्दैन ।

पूर्वाधार मात्र होइन,  भएका जनशक्तिलाई तालिमसँगै पूर्वाधार थप गरेर उपयुक्त मेसिन, औजार, जनशक्ति, बालरोग विशेषज्ञहरुलाई तालिम दिएर तयारी अवस्थामा राख्नुपर्छ । बालबालिकालाई सधैँ घरभित्र थुनेर राख्न सम्भव हुँदैन । स्कुल पठाउनै पर्छ । उनीहरुले खेल्न र घुम्न पाउनै पर्छ ।  यो बालअधिकार भित्रको कुरा पनि हो । कुनै न कुनै समय सरकारले स्कुल खोल्नु नै पर्छ । यी कारणहरुले गर्दा बालबालिका बढी सङ्क्रमित हुने सम्भावना रहन्छ।

१८ वर्षमुनिका बालबालिकाको लागि कोरोनाको खोपको विकास भएको छैन ।  बालबालिकालाई प्रयोग गरिने औषधिहरु पनि छैनन् । अहिले कोरोनाका बिरामीहरुलाई दिइरहेको औषधि बालबालिकालाई प्रयोग गर्न मिल्दैन । यी विभिन्न कारणले  गर्दा बालबालिकाहरुमा कोरोना सङ्क्रमण  एकदमै छिटो फैलन सक्छ । 

ठूलो मानिस र बालबालिकामा औषधिको मात्रा पनि मिल्दैन । बालबालिकामा उपचार गर्ने प्रक्रिया फरक हुन्छ । ठूला र साना बालबालिकालाई दिने अक्सिजन मिल्छ, तर अक्सिजन दिने उपकरण मिल्दैन । आईसीयूमा हुने बेडहरु, क्रिटिकल केयरका सामानहरु, मनिटरदेखि सुईसम्म बालबालिकाको  लागि छुट्टै  प्रयोग गर्नुपर्ने हुन्छ । भेन्टिलेटरहरु पनि छुट्टै हुन्छ । कुनै, कुनै प्रयोग गर्न सकिए पनि त्यसलाई केही परिवर्तन गरेर मात्र प्रयोग गर्न सकिन्छ ।  

सहरका मानिसहरु धेरैले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । नलगाएकाहरु पनि धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । तर अबको सङ्क्रमण गाउँगाउँमा फैलने सम्भावना धेरै छ । गाउँघरमा झनै आवश्यक जनशक्ति र पूर्वाधारको अभाव छ । त्यसको लागि अहिलेदेखि नै विशेष व्यवस्था गर्नुपर्ने हुन्छ । 

बालबालिकालाई केही प्रतिशत बेड छुट्याउनेसँगै सरकारले केही महत्त्वपूर्ण निर्णय गरेर जानकारी गराइसकेको छ । तर त्यतिले मात्रै पुग्दैन । परिपत्रसँगै कार्यान्वयनका लागि पहल गर्नुपर्छ । अहिलेदेखि नै स्रोत साधनको व्यवस्थापन तथा अनुगमन गर्नुपर्छ । जनशक्तिको व्यवस्थापन  र परिचालन  गर्नुपर्छ । 

सामूहिक रुपमा सम्बन्धित सबै क्षेत्र यसमा लाग्नुपर्छ । विशेषगरी बालरोग विशेषज्ञहरुको संस्था, बालबालिकालाई सहयोग गर्ने  अन्य सङ्घ संस्थाहरु तथा प्रदेश र पालिकाहरु सबैले बालबालिकालाई प्राथमिकतामा राखेर काम  सुरु गर्नुपर्छ ।  जनसङ्ख्याको ४० प्रतिशत बालबालिका भए पनि हाम्रो तयारी खासै भएको छैन । वयस्क र प्रौढका लागि मात्र खर्च भएको छ । 

४० प्रतिशत बालबालिकालाई केही नभए पनि हाम्रो स्रोतको २० देखि २५ प्रतिशत अहिले नै छुट्याउन आवश्यक छ । नत्र महामारी आइसकेपछि एकैपटक तयारी गर्न नसकिने भएकाले अभाव झेल्न बाध्य हुनुपर्छ । थोरै सहज वातावरण बन्ने बित्तिकै त्यसको तयारी थाल्नुपर्छ ।  नेपाल पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर उच्च भएको देश हो । स्रोत साधनको व्यवस्थापन गरेमा अहिले मात्र नभइ आउँदाे दिनमा दिगो विकासको लक्ष प्राप्त गर्न ठूलो योगदान पुर्याउँछ । 

अहिलेदेखि नै मापदण्डको पालना गर्ने, तालिमको व्यवस्थापन, क्षमता अभिवृद्धि गर्ने, हामीसँग भएका क्षमताको अध्ययन गर्ने र त्यसको प्रतिवेदन तयार  पार्ने गर्नुपर्छ ।  खोपको प्राथमिकता र लक्ष्य बालबालिका हुन् भनेर नेपालको खोप ऐनमा उल्लेख गरिएको छ । महामारीमा प्रयोग हुने खोप बाहेक पहिलो प्राथमिकतामा  पाँच वर्षमुनिका बालबालिका र महिला हरु नै रहन्छन् । उन्मूलन गर्नुपर्ने रोगहरु आउन नदिनका लागि बालबालिकाहरुलाई खोप लगाउनुपर्छ । कोरोनाको खोपको  विकास भएमा त्यसको पहिलो प्राथमिकतामा बालबालिकाहरु रहन्छन् । 

बालबालिका सङ्क्रमित हुन नदिनका लागि अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । वयस्क वा प्रौढमा कोरोना नियन्त्रण गर्न जति सजिलो छ, बालबालिकामा  त्यो भन्दा कयौँ गुणा गाह्रो हुन्छ । त्यसैले क्रमशः उपचारको पाटो नै दह्रो बनाउँदै जानुपर्छ । जोखिमको सञ्चार अहिलेदेखि नै गर्नुपर्छ । र समुदायस्तरमा जनचेतना  फैलाउनुपर्छ । आमा, परिवारका सदस्य, उपचार गर्ने स्वास्थ्यकर्मीहरु, र विज्ञहरुलाई अहिलेदेखि सम्भावित जोखिमको सन्देश दिन आवश्यक हुन्छ ।  

(स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. पोखरेलसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारितं ) 

अन्तिम अपडेट: साउन १२, २०७८

डा. तारानाथ पोखरेल

डा. तारानाथ पोखरेल स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया