एमाले विभाजनको असर : दैलखका पालिकामा साठी–चालिसको अवस्था

 भदौ १५, २०७८ मंगलबार २०:३९:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – प्रमुख विपक्षी दल नेकपा एमालेभित्रको विवाद औपचारिक विभाजनमा पुगिसकेपछि दैलेखका पालिकामा जनप्रतिनिधिहरू पनि आफ्नो समर्थन कहाँ रहने भनेर खुल्न थालेका छन् । प्रष्ट रूपमा खुलेका हिसाबले एमालेमा रहनेको सङ्ख्या झन्डै ६० प्रतिशत र नेकपा (एकीकृत समाजवादी) समर्थन गर्नेमा ४० प्रतिशत हाराहारी देखिएकाे छ ।

२०७४ मा भएको पालिका तह चुनावमा दैलेखका ११ मध्ये सात पालिकाका १४ जना प्रमुख तथा उपप्रमुखमा आठ जना एमालेमै रहने भएका छन् भने ६ जनाले एकीकृत समाजवादीमा जाने औपचारिक रूपमा खुलेका छन् ।  

दैलेखका पालिकाका ९० वडामध्ये ५३ वडामा वडाध्यक्षसहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जनाले एमालेमै रहने जनाएका छन् भने कम्तीमा २२ जना वडाध्यक्षले एकीकृत समाजवादीमा जाने बताएका छन् ।

पालिकामा एमालेबाट जितेका प्रमुख तथा उपप्रमुख मध्ये मूलघर एमालेमै रहनेहरू आठ जनाको सङ्ख्या त्यो पार्टीबाट जितेकाहरूको ५७ दशमलव १५ प्रतिशत हुन आउँछ । यस्तै एकीकृत समाजवादीमा जान चाहनेहरूको सङ्ख्या ६ जनाको प्रतिशत हेर्दा ४२ दशमलव ८५ प्रतिशत हुन आउँछ ।   

दैलेखका ११ पालिकाका ९० वटा वडामध्ये ५३ वडा जितेको एमालेका ३१ जना मूलघरमा रहने जनाएका समर्थकहरूको सङ्ख्या पनि ५८ दशमलव ५० प्रतिशत र एकीकृत समाजवादी गोलबन्द हुन चाहेका २२ जना वडाध्यक्षको सङ्ख्या ४१ दशमलव ५० प्रतिशत हुन्छ ।

एमाले विभाजनको घटनाक्रम

एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि त्यस बेलाको नेकपाका तीन केन्द्रीय सदस्यमध्ये दुई जना त्यस कदमविरुद्धको सङ्घर्षमा थिए । सांसद सङ्ख्याका हिसाबले पनि प्रतिनिधि सभाका तीन सांसदमध्ये दुई जना संसद् विघटनविरुद्धको आन्दोलनमा थिए ।

संसद् विघटनविरुद्ध सङ्घर्ष गर्दा प्रचण्ड र माधव नेपाल समूह उति बेलाको नेकपाको दुई तिहाइ सडकमा थियो । संसद् विघटन स्वाभाविक थियो भनेर समर्थन गर्ने केपी ओली पक्षधर एक तिहाइ पनि थिएन । २०७७ फागुन ११ गते संसद् पुनर्स्थापनापछि अर्को मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र पुनर्स्थापना हुने भनेपछि भने केपी ओली पक्षधर विस्तारै थपिँदै गएको थियो ।

२०७७ फागुन २८ गते केपी ओली पक्षधर केन्द्रीय सदस्यहरूको बैठकबाट माधव नेपाल समूहका नेताहरूलाई कारबाही गर्ने घाेषणा गरिएकाे घटनासम्म एमालेमा नेपाल समूहको बाहुल्यता थियो । तर औपचारिक विभाजनपछि भने मूलमा रहनेहरूको संख्या केही बढी छ भने एकीकृत समाजवादीमा समावेश हुन चाहने ४० प्रतिशत जति छन् ।

२०७८ जेठ ८ गते दोस्राे पटक प्रतिनिधि सभा विघटन सम्बन्धमा जेठ २७ गते प्रतिनिधि सभा पुनर्स्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सर्वोच्च अदालतको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट हटेपछि चाहिँ ओलीको पक्षमा सहानुभूति बढेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरूको अगुवा गरेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७८ भदौ ३ गते निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएपछि केन्द्रमा भीम रावल, घनश्याम भुसाल लगायतले उतै समर्थन गरेजस्तै दैलेखका तीन जना केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर बुढा र विष्णु रिजालले मूलघर एमालेमै रहने घोषणा गरेका छन् । 

प्रतिनिधि सभाका तीन सदस्यमध्ये क्षेत्र – १ का रवीन्द्रराज शर्मा र क्षेत्र नं – २ का सांसद राजबहादुर बुढा एमालेमै रोकिनुभएको छ । एकीकृत समाजवादी दर्ता भएपछि समानुपातिक सांसद पार्वती विशुंखेमात्र एकीकृत समाजवादीमा लाग्नुभएको छ ।

प्रदेश सभामा उथलपुथल  

नेकपा एमालेको औपचारिक विभाजनले सङ्घीय संसद् र पालिका जनप्रतिनिधिहरूको विभाजनभन्दा प्रदेश सभाका जनप्रतिनिधिहरूको अवस्था झनै उथलपुथलको छ । 

पहिलो पटक प्रतिनिधि सभा विघटनकै बेलादेखि ओली पक्षमा देखिएका माओवादी केन्द्रबाट दैलेख निर्वाचन क्षेत्र – १ को ‘क’ क्षेत्रबाट निर्वाचित धर्मराज रेग्मी फागुन २३ गतेको सर्वोच्चको फैसलापछि पनि एमालेमा रहने घोषणापछि माओवादी केन्द्रले कर्णाली प्रदेश सभालाई दिएको लिखित जानकारीअनुसार उहाँको सांसद पद गएको छ ।

बहुमत रहेको नेकपा एमालेले माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रपञ्च भइरहेको बेला २०७८ वैशाख ३ गते 'फ्लोर क्रस' गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदको पद गएको हो ।

फ्लोर क्रस गरेका कारण पद गुमाउने चार प्रदेश सांसदमध्ये दैलेख निर्वाचन क्षेत्र नं. १ ‘ख’ क्षेत्रबाट निर्वाचित एमाले सांसद अम्मरबहादुर थापाको सांसद पद पनि गुमेको छ । फ्लोर क्रस गराएर सरकार जोगाइदिएकोे पुरस्कारमा थापाले अहिले कर्णाली प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालय सम्हाल्नुभएको छ ।

दल बदलको कारण पद गएका कारण दैलेख क्षेत्र नं. १ ‘क’ का धर्मराज रेग्मी र फ्लोर क्रस गरेका दैलेख क्षेत्र नं १ ‘ख’ का अम्मरबहादुर थापाको कर्णाली प्रदेश सभा सदस्य पद खाली भएको छ तर उपचुनाव तय भइसकेकाे छैन ।

कर्णाली प्रदेश सभा दैलेख क्षेत्र नं २ ‘क’ का सांसद सुशील थापा र दैलेख क्षेत्र नं. २ ‘ख’ का सांसद राजबहादुर शाही दुवै जना एमालेमै रहने भएका छन् । शाही कर्णाली प्रदेश सभाका सभामुख हुनुहुन्छ । कर्णाली प्रदेश सभामा एमालेकी समानुपातिक सांसद मीनासिंह रखाल पहिलेदेखि नै केपी ओली गुटमा हुनुहुन्छ ।  

मूलघरमा शरण

संसद् विघटनविरुद्धको सङ्घर्षमा सहभागी भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा र उपाध्यक्ष प्रेमकुमारी विष्टले मूलघर एमालेमै बस्ने निधो गरेको प्रतिक्रिया दिनुभएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाही र दुल्लू नगरपालिकाका उपमेयर विष्णु थापा पनि अन्तिम समयमा एकीकृत समाजवादी भन्दा एमालेमै भविष्य देखेर ओली गुटमा जोडिनुभएको छ ।

पहिले प्रतिगमनको आन्दोलनमा सहभागी भएका तर अहिले केपी शर्मा ओलीले जसो गरे पनि सहने गरी एमालेमा संलग्न भएकामा दैलेख क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश सभा दैलेख क्षेत्र नं २ ‘क’ का सांसद सुशील थापा र पार्टी केन्द्रीय सदस्य विष्णु रिजाल एमालेमा संलग्न छन् ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया