विदेशमा मृत्यु हुनेको तथ्याङ्क : मलेसिया, साउदी र कतार असुरक्षित

 भदौ १७, २०७५ आइतबार ११:४२:१० | सन्जिता देवकोटा

काठमाडौं – गएको आर्थिक वर्षमा विदेश जानेको संख्या घटे पनि रेमिट्यान्स बढेको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स रकम ८ दशमलव ६ प्रतिशतले बढेको हो । रेमिट्यान्स बढ्दा परिवारसँगै देशलाई पनि फाइदा त भयो, तर ८२१ जनाका परिवारले आफ्ना परिवारका सदस्य गुमाए ।

ज्यान गुमाउनेमा मोरङका युवा धेरै 

आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा धेरै मोरङ जिल्लाका युवाले ज्यान गुमाएका छन्  । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार रोजगारीका लागि विभिन्न देश पुगेका मोरङका ३९ जना युवाको उतै ज्यान गयो । 

मोरङपछि विदेशमा सर्लाहीले सबैभन्दा धेरै युवा गुमाएको छ । गएको आर्थिक वर्षमा सर्लाहीबाट मात्रै ३६ जना युवाको विदेशमा ज्यान गएको छ । विदेश जाने युवाको संख्या धेरै भएको जिल्ला धनुषाका ३३ जनाले गएको वर्ष विदेशमा ज्यान गुमाएका छन् । 

त्यस्तै, सिरहाका २९, महोत्तरीका २७, रुपन्देहीका २४, नवलपरासीका २३, झापाका २३, स्याङ्जाका २२, दाङका २१, कपिलवस्तु र बाराका १९ जनाको गएको वर्ष विदेशमा ज्यान गएको छ ।

यसैगरी गएको वर्ष इलामका १८, चितवनका १८, सुनसरीका १७, सप्तरीका १७, उदयपुरका १६, रोल्पाका १६, कास्कीका १५, खोटाङका १५, रामेछाप १४ र नुवाकोट १४ जना युवाले उतै ज्यान गुमाए । 

गएको वर्ष विदेशमा ज्यान गुमाउनेको विवरण हेर्नुहोस्

मलेसिया, युएई, कुवेतपछि दक्षिण कोरियामा धेरै नेपालीले ज्यान गुमाए 

रोजगारीका लागि सबैभन्दा धेरै युवा मलेसिया गएका छन् भने मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै मलेसियामै छ । 

गएको वर्ष मात्रै मलेसियामा २८९ जना नेपाली युवाले ज्यान गुमाएका छन् । मलेसिया पछि साउदीमा धेरै नेपाली युवाको ज्यान गएको छ । गएको वर्ष मात्रै साउदीमा २०३ जना नेपालीको ज्यान गएको छ । 

साउदीपछि कतार असुरक्षित देखिएको छ । गएको आर्थिक वर्षमा कतारमा १२३ युवाको ज्यान गएको छ । त्यस्तै युएईमा ९४, कुवेतमा २६ र दक्षिण कोरियामा २२ युवाले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०६७/०६८ देखि २०७४/०७५ सम्ममा मलेसियामा मात्रै दुई हजार १५२ जना नेपालीको ज्यान गएको छ भने ३७३ जना अंगभंग वा बिरामी भएर फर्किएका छन् ।

यो तथ्याङ्कले नेपाली कामदारका लागि मलेसिया सबैभन्दा धेरै असुरक्षित रहेको देखाउँछ । मलेसियामै धेरै नेपाली भएकाले पनि ज्यान गुमाउनेको संख्या त्यहीँ बढी देखिएको हुन सक्छ ।

सुरक्षित वैदेशिक राेजगारीका लागि सरकारका याेजना

मलेसिया, कतार, साउदी, युएईमा ज्यान गुमाउने नेपालीको संख्या धेरै भएकाले सरकारले यी देशमा कामदार पठाउँदा विशेष सुरक्षा सतर्कता अपनाउने योजना बनाइरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेश जानुअघि सीप सिक्न अनिवार्य गर्न लागिएको बताउनुभएको छ ।

 सरकारको प्राथमिकता स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने भएको बताउँदै उहाँले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हुँदासम्म सीप भएका कामदार मात्र पठाउने सरकारको योजना रहेको बताउनुभएको छ । 

यस्तै मलेसियासँग सरकारी स्तरबाटै सम्झौता गरेर सुरक्षित रुपमा पठाउने सरकारको योजना छ । त्यसका लागि मलेसियाले पठाएको एमओयुको प्रस्तावमाथि छलफल गरेर नेपालले मलेसियालाई पठाइसकेको छ ।

अब हुने सरकारी स्तरको सम्झौतामा उल्लेख हुने सुरक्षाको ग्यारेन्टीले नेपाली कामदारको मृत्युदर घटाउन मद्दत गर्ला भन्ने आश गर्न सकिन्छ । 

यस्तै कतारमा पनि रोजगारदाता स्वयंले नै कामदार लैजाने वातावरण बनाउन सरकारले तयारी थालेको छ । म्यानपावरसँग सम्पर्क नगरी रोजगारदाता स्वयंले कामदार लैजाँदा बढी सुरक्षित हुने विश्वास गरिएको छ ।

 

याे पनि हेर्नुहाेस्ः
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया