उपभाेक्ताकाे सजिलाेका लागि गरिएकाे निर्णय सर्वाेच्चकाे आदेशले राेकियाे : सचिव श्रेष्ठ

 असोज १०, २०७८ आइतबार १६:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले उपभोक्ताको सजिलाेका लागि गरेको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रष्टयाउनु भएको हो । 

आज आइतवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई एक वर्षको परीक्षण कालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको पनि समितिलाई जानकारी गराउनुभयो । 

त्यस्तै आफ्नै सवारी साधन प्रयोग गरेर दिइने प्रयोगात्मक परीक्षा परीक्षण गर्ने ठाउँमा नेपाल सरकार यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिएअनुसार नै गर्नू भनेर आदेश दिएकाले तत्काल रोक्न सरकार बाध्य हुनुपरेको बताउनुभयो ।

सचिव श्रेष्ठले अहिले चालक अनुमति पत्र दिन कुनै समस्या नरहेको जानकारीसमेत दिनुभयो । ट्रायल (प्रयोगात्मक परीक्षा) पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने  उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया