रसुवा भन्सार : लक्ष्य भन्दा ५९ प्रतिशत बढी राजस्व संकलन

 कात्तिक २, २०७८ मंगलबार १३:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चालु आर्थिक वर्ष २०७८/७९ को असोज महिनामा रसुवा भन्सारले लक्ष्यभन्दा ५९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले असोज महिनामा ५९ करोड १६ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमा ९४ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको तुलनामा ५९ दशमलव १७ प्रतिशत बढी हो ।

कार्यालयले यो वर्ष ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गएको तीन महिनामा वार्षिक लक्ष्यको २९ दशमलव ३७ प्रतिशत राजस्व उठेको छ । कार्यालयका अनुसार हालसम्म २ अर्ब ७५ लाख ७ हजार रुपैयाँँ राजस्व उठिसकेको छ ।

नाकाबाट पछिल्लो समय सवारी साधन, मेसिन औजार, स्याउ ओखर लगायतका सामग्री आयात भइरहेको कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । ‘पछिल्लो समय दैनिक ७ वटादेखि ९ वटासम्म गाडीले सामग्री आयात गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘यही कारण हाम्रो राजस्व संकलनमा वृद्धि भएको हो ।’ 

२०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । हाल नाका एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । कोराेनाका कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा गएको वर्ष राजस्व संकलन पनि प्रभावित भएको थियो ।

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार राजस्व संकलन गरेको थियो ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । तर कोराेनाका कारण निर्यात लामो समयदेखि ठप्प छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया