पर्यटकको रोजाइमा मुस्ताङको धुम्बाताल (तस्बिरहरू)

 पुस २, २०७८ शुक्रबार १५:५७:५२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ५ सम्ले गाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको मुख्य रोजाइमा परेको छ । नीलगिरि हिमालको काखमा रहेको पर्यटकीय आकर्षण धुम्बाताल स्वदेशी र विदेशी पर्यटकको गन्तव्य बन्दै जान थालेको हो । 

मुस्ताङ सदरमुकाम जोमसोमदेखि दुई किलोमिटरको दुरीमा पर्ने धुम्बाताल दृश्य अवलोकनका लागि निकै आकर्षक मानिन्छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहार झैँ लाग्छ । धुम्बातालको उत्तरतर्फ नीलगिरि हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ । यसै किल्लाको नामबाट जिल्ला सदरमुकाम जोसमोम समेत रहेको घरपझोङ गाउँपालिकाको नामकरण गरिएको स्थानीयवासी बताउँछन् । 

परापूर्वकालदेखि धुम्बातालको जल प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयवासीको भनाइ छ । ताल हेर्नका लागि स्वदेशी र विदेशी पर्यटक त्यहाँ पुग्ने गरेका छन् । हिउँदमा चिसोका कारण पर्यटकको सङ्ख्या केही घटे पनि गर्मीयाममा उल्लेख्य मात्रामा देखिन्छ । तालको नजिकैबाट मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सहज होस् भनेर आरामदायी कुर्सी र फोटो खिच्नका लागि कुर्सी राखिएको छ । ती कुर्सीमा बसेर आनन्द लिँदै पर्यटकले तालको पृष्ठभूमिमा फोटो र भिडियो खिच्ने गर्दछन् ।

समुद्री सतहबाट दुई हजार नौ सय मिटरको उचाइमा रहेको धुम्बाताल पवित्र बौद्ध तालको रूपमा पनि प्रसिद्ध मानिन्छ । धुम्बातालको लम्बाइ एक सय ५० मिटर र चौडाइ एक सय मिटरको हाराहारीमा रहेको अनुमान गरिएको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र 'जेरी' को छायाङ्कन गरेपछि नेपाली युवा पुस्ताले यसलाई 'जेरी ताल' को नामबाट पनि चिन्ने गरेका छन् । 

हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि स–साना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा अन्त्यन्त रमाइलो हुने त्यहाँ पुग्ने पर्यटकको अनुभव छ । त्यहाँ पुगेर तालसँगै वरपरको दृश्यको अवलोकन गर्न पाउँदा आफूलाई आनन्दको अनुभूति मिलेको स्वदेशी पर्यटक अनु घिमिरेले अनुभव सुनाउनुभयो । 

तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछासमेत पालिएको छ । स्थानीयवासीले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन तालमा माछा छोड्ने गर्दछन् । ती माछा कसैले मार्न पाउँदैनन् र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था गरिएको छ । तालमा छाडिएका माछा पर्यटकका लागि आकर्षण बनेका छन् । तालसम्म पुग्न सडक र पदमार्ग बनाइएको छ । 

ताल परिसरमा उज्यालोका लागि बत्ती बाल्न तथा आवश्यक संरचना निर्माण गर्न झन्डै डेढ करोड रुपैयाँ लागतमा डीपीआर तयार गरिएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा मुस्ताङको धुम्बाताललाई समावेश गरेपछि यहाँ पर्यटकको आकर्षण बढेको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया