पार्टी अब नयाँ बन्ने कांग्रेस कार्यकर्ताको विश्वास

 पुस ३, २०७८ शनिबार १२:५५:२३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिनु भएको छ । उप–सभापतिमा देउवा प्यानलका पूर्ण बहादुर खड्का र युवा अनुहार धनराज गुरुङ आउनु भएको छ । 

महामन्त्रीमा पुराना र वरिष्ठलाई पन्छाउँदै दुई लोकप्रिय युवा नेता गगन थापा तथा विश्व प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । यसले कांग्रेस सुदृढ हुने विश्वास आम नागरिक तथा कांग्रेस कार्यकर्ताले गरेका छन् । 

कांग्रेसमा केही नयाँ गरौँ भन्ने उत्साह, चाह भएको साथै यससम्बन्धी केही दृष्टिकोण समेत रहेको ठानिएका उप–सभापति तथा दुई महामन्त्री महाधिवेशनबाट निर्वाचन भएसँगै कांग्रेसजनमा उत्साहको लहर छाएको छ । 
सुनसरीका रविन शाही अहिले निर्वाचित भएको युवा नेतृत्वले पार्टीलाई सुधार गर्दै लैजाने विश्वास गर्नुहुन्छ । 

‘सुधार गर्दै लैजाने विश्वासमा नै भोट दिइएको हो’ शाही भन्नुहुन्छ, ‘सुधार गर्दै लैजाने हो भने तलदेखि माथिसम्म सुधार गर्नुपर्छ नत्र त सुधारको केही काम नै भएन नि।’

सुधार गर्नका लागि नै युवा नेतृत्व चुनिएको हुनाले उनीहरुले सुधार्नेमा आशावादी शाही भन्नुहुन्छ, ‘उनीहरुले सुधार्छन् भनेर त लिएर आएको हो नत्र त पुरानै पुस्तालाई भोट दिए भैगो नि !’ 

सल्यानका खुमबहादुर पुन मगर अहिले उप–सभापतिदेखि  महामन्त्रीसम्मलाई हेर्दा सक्षम नेतृत्व आएको र उहाँहरुले पार्टीमा क्रियाशील भएर जोश जाँगर लगाएर नयाँ बनाउने देख्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘यो भोटिङले धेरै कुरा सिकाएको र नयाँ नेतृत्वले अब पार्टी कसरी अगाडि बढाउने भन्ने निर्देशन बमोजिम पार्टी चल्ने हुँदा आउँदाे दिन पार्टी तथा देशका लागि राम्रो देखिन्छ ।’

काठमाण्डौ गोठाटारकी कांग्रेस कार्यकर्ता आयुषा रिजाल भन्नुहुन्छ, ‘यस पटकको नेतृत्वबाट धेरै नै आश गरिएको छ । यदि यस पटकको नेतृत्वले पनि केही गरेन भने राजनीतिमा चरम वितृष्णा बढेर जानेछ ।’अहिलेको युवा भनिएको नेतृत्व पनि असफल भएको खण्डमा युवाहरुलाई राजनीतिमा आउन प्रेरित नै गर्न नसकिने तथा राजनीतिप्रति आशावादी बनाउन नसकिने धारणा छ रिजालको । 

‘पक्कै पनि राम्रो, असल र देशको लागि काम गर्छन’ विश्वासका साथ उहाँले भन्नुभयो । अहिलेको युवा नेतृत्वले नीति तथा योजना बनाएर पार्टी तथा देशको नेतृत्व गरेर देशमा विकास गर्नेमा ढुक्क हुनुहुन्छ पोखराका कार्यकर्ता राजीव गुरुङ । 

उहाँ भन्नुहुन्छ, ‘अहिलेको नेतृत्व संयोजनकारी देखिएको छ । सभापतिमा पाका देउवा हुनुहुन्छ भने महामन्त्री तथा उप–सभापतिमा युवा तथा नयाँ दृष्टिकोण भएका युवा । त्यसकारण पनि यसपटकको महाधिवशेनले आशा जगाएको छ ।’

धादिङकी अर्की कार्यकर्ता निरु तामाङ पनि अहिलेको युवा नेतृत्वसँग आशावादी हुनुहुन्छ । तर, सभापति तथा महामन्त्रीबीच मतभिन्नता हुँदा कतै काम गर्ने वातावरण नबनेर फेरि विवाद हुने हो कि भन्नेमा पनि उहाँ चिन्तित हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘पार्टीका नेतृत्वबीच फेरि विवाद भएर काम नबन्ने हो कि !’

सर्लाहीका रामनरेश यादवलाई अहिलेको नेतृत्व सन्तुलित लागेको छ । ‘यस किसमको नेतृत्वले मिलेर काम गर्ने हो भने धेरै आशा गर्न सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘पार्टीको अहिलेको सभापतिले युवा नेतृत्वको कुरा सुनेर, विचार गरेर सँगै हिंड्न खोजेको खण्डमा धेरै हुन सक्छ ।’

जुम्लाका विनोद कठायतको विचारमा भने अहिलेको वर्तमान नेतृत्वले सुगम तथा सहरी क्षेत्रको विकास मात्र नगरि हुम्ला, जुम्ला तथा कर्णाली प्रदेशको विकासमा सोचेर अगाडि बढ्न सके देशकै समग्र विकास हुने देख्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘अहिलेको युवा तथा पाको नेतृत्वले मिलेर काम गरेको खण्डमा तथा सुदूरपश्चिम तथा कर्णाली जस्ता विकासका दृष्टिले पछाडि परेको प्रदेशको विकास हुने गरेर योजना ल्याएका खण्डमा नेतृत्वप्रति भरोसा र विकास पनि सन्तुलित हुन्छ ।’

जनकपुरकी रिना राय भन्नुहुन्छ, ‘मधेशमा जुन किसिमको विकास हुनुपर्थ्याे त्यो भएको छैन । अहिलेको युवा नेतृत्वले मधेश तथा देशका अन्य पिछडिएका क्षेत्रलाई समेट्ने गरी विकासका योजना ल्याएर देशको समग्र विकास गरेका खण्डमा नेतृत्व सफल हुन्छ । र नेतृत्वप्रतिको भरोसा पनि बढ्छ।’

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया