मलाई भाेट नहाल्नेलाई पनि साथमै लिएर पार्टी सञ्चालन गर्नेछु : देउवा

 पुस १०, २०७८ शनिबार १४:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी सञ्चालन गर्ने बताउनु भएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू पार्टीमा सबैको सभापति भएको र सबैलाई समेटेर उनीहरुको मतको कदर गर्दै पार्टीलाई अघि बढाउने बताउनु भएको हो ।

उहाँले आगामी निर्वाचनमा पार्टीलाई सबैभन्दा ठूलो दल बनाउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै ती चुनौतीलाई पनि सामना गरेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसका लागि पार्टीलाई निष्पक्ष ढंगले अघि बढाउने सभापति देउवाको योजना छ । त्यस अवसरमा उहाँले आगामी निर्वाचनमा विजयी गराउने गरी पार्टीलाई अघि बढाउन सबैको साथ र सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ । स्थानीय निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । हाम्रो पार्टीले सबैभन्दा ठूलो पार्टी बन्नुछ । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु' सभापति देउवाले भन्नु भयो,'महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलब छैन । म सबैको सभापति हुँ । मेरो जिम्मा ठूलो छ । त्यसकारण सबैलाई समावेश गरेर, सबैको भावनाको कदर गरेर यो पार्टीलाई हाँक्न चाहन्छु ।'

सभापति देउवाले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने गरी निर्वाचन सम्पन्न गराएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पनि धन्यवाद दिनु भयो । उहाँले महाधिवेशनबाट निर्वाचित पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई पनि ज्ञापन गर्नु भयो । त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक पार्टी हो भन्ने कुरा पनि महाधिवेशनमा भएको निर्वाचनले पुष्टि गरि दिएको स्मरण गराउनु भयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया