हिउँले सेताम्य मुस्ताङ र म्याग्दी (फोटोफिचर)

 पुस १४, २०७८ बुधबार १०:५०:४२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज (बुधबार) बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङको उपल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो क्षेत्रमा सामान्य हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले अहिले पनि मुस्ताङको सदरमुकाम जोमसोमलगायत तल्लो क्षेत्रसम्मै सामान्य खालको हिमपात भैरहेको बताउनुभयो ।

हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । हिमपातका कारणले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा आज बिहानदेखि सम्पर्क हुन नसकेको प्रजिअ शर्माले बताउनुभयो । टेलिकमका टावरमा हिउँ जमेर ब्याट्री डाउन भएपछि सम्पर्कबिच्छेद हुन सक्ने अनुमान गरिएको छ । अहिले मुस्ताङको तापक्रम क्रमशः माइनसतर्फ झरिरहेको हुँदा अत्यधिक चिसो भैरहेको स्थानीयले बताएका छन् । 

वर्षा र हिमपात तथा कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ । मौसम प्रतिकुल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न सकेको छैन भने विमान कम्पनीले पनि उडान रद्द गरेको प्रजिअ शर्माले बताउनुभयो । मुस्ताङमा यो सिजनको तेस्रोपटक हिमपात भएको हो । हिमपातका कारण चिसो ह्वात्तै बढेकाले अहिलेको समयमा मुस्ताङ भ्रमण नगर्दा उचित हुने प्रजिअ शर्माको भनाइ छ ।

यसैबीच वर्षासँगै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको घारेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेक, धवलागिरि गाउँपालिकाको गूर्जा, मुदीलगायत उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गए रातिदेखि परेको हिमपातका कारण म्याग्दीको पर्यटकीयस्थल घोरेपानी क्षेत्रमा एक फिटसम्म हिउँ जमेको पर्यटक प्रहरीचौकी घोरेपानीका प्रहरी जवान राजेश यादवले जानकारी दिनुभयो । 

अहिले म्याग्दी सदरमुकाम बेनीबजारसहित जिल्लाको तल्लो क्षेत्रमा सिमसिम पानी परिरहेको छ । म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चिसो बढेको हुँदा सर्वसाधारणहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य छन् । 

यस्तै मध्य पुसमा हिमपात र वर्षा भएपछि किसान भने उत्साहित भएका छन् । हिमपात र वर्षाका कारण हिउँदे बालीको उत्पादन राम्रो हुनेहुँदा किसानमा खुसीयाली छाएको हो । यसवर्ष हिउँदे उत्पादन बढ्ने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया