अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन यी कागजात अनिवार्य

 माघ १९, २०७८ बुधबार १४:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीमा जान श्रम कार्यालय ताहाचलबाट पुनः श्रम स्वीकृति लिँदै हुनुहुन्छ ?

अहिले श्रम कार्यालय ताहाचलले पूर्ण रूपमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको छ । यसअघि पनि अनलाइनबाट पुनः श्रम स्वीकृति लिन पाइने व्यवस्था थियो । तर कार्यालयमै भौतिक रूपमा उपस्थित भएर पनि लिन सकिन्थ्यो ।

भौतिक रूपमा उपस्थित भएर सेवा लिन नागरिकलाई सास्ती भएको र कार्यालयमा पनि भिड हुने, कहिले काहीँ उपस्थित भएका सबैलाई सेवा प्रदान गर्न सम्भव नहुनेजस्ता समस्या भएपछि छिटो, सजिलो र सहज रूपमा सेवा प्रदान गर्न पूर्ण रूपमा अनलाइनबाट मात्र सेवा प्रदान गर्न थालिएको कार्यालयका निर्देशक तथा सूचना अधिकारी हरिराम नागिलाले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘भौतिक रूपमा पनि सेवा प्रदान गर्दा दिनमा २ हजार २५ सय जनासम्म नागरिकहरू उपस्थित भएर सेवा लिनुहुन्थ्यो, तर अहिले अनलाइनबाट सेवा प्रदान गर्न थालेपछि यो महामारीको समयमा कार्यालयसम्म धाएर लाइन बस्न परेन, संसारको जुनसुकै कुनामा बसेर पनि प्रक्रिया पुर्‍याएर निवेदन दिन सकियो ।’

माघ २ गतेदेखि कार्यालयले अनलाइनबाट मात्रै पुनः श्रम स्वीकृति प्रदान गर्न थालेपछि दैनिक ९ सय देखि १ हजार जनाले सेवा लिइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

बायोमेट्रिक नभएकाहरू कार्यालयमै उपस्थित हुन पर्ने

बायोमेट्रिक नभएकाहरूले भने अहिले पनि श्रम कार्यालय ताहाचल या अन्य श्रम कार्यालयहरूमा उपस्थित भएर नै पुनः श्रम स्वीकृति लिइरहेका छन् । अहिले पनि दैनिक २० देखि ४० जनासम्म बायोमेट्रिक नभएकाहरूले कार्यालयमा उपस्थित भएर सेवा लिने गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ ।

तर बायोमेट्रिक नभएकाहरूलाई वैदेशिक रोजगार कार्यालय काठमाण्डौ वा अन्य प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूमा गएर बायोमेट्रिक गराउन अनुरोध गरिएको छ ।

यसरी लिनुहोस् अनलाइनबाटै पुनः श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाण्डौ ताहाचलबाट अहिले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस)मार्फत अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति प्रदान भइरहेको छ । विभागको वेबसाइट www.dofe.gov.np  मा गई अनलाइन श्रम स्वीकृति क्लिक गर्नुपर्छ । अथवा www.feims.dofe.gov.np  मा गई लगइन गरेर फाराम भर्न सकिन्छ ।

श्रम स्वीकृतिको लागि पेस गरिएको कागजात कार्यालयले जाँच गर्दा कुनै कारणले मिलेन र आवेदन अस्वीकृति भएमा त्यसको कारण सहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको यूजर अकाउन्टमा लेखिपठाइन्छ ।

त्यस कारण आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना सही लेख्न पर्छ । यूजर नेम र पासवर्डको प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन दिँदाको यूजर नेम र पासवर्ड सुरक्षित राख्न पर्छ ।

नेपाल आउनु भएको छ भने श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकट लिँदा राम्रो हुन्छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्छ । नत्र यात्रा गर्न पाइँदैन ।

पुनः श्रम स्वीकृतिका लागि अनलाइनबाटै बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम बुझाउन सकिन्छ ।

आवश्यक कागजात

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी आवश्यक पर्छ । पासपोर्टको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी, पुरानो भिसा भएमा त्यसको पनि स्क्यान कपी चाहिन्छ । 

यस्तै अध्यागमन कार्यालयले पासपोर्टमा लगाएको डिपार्चर र अराइभलको स्टाम्प भएको पासपोर्टको पेजको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काममा जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी पनि पेस गर्नपर्छ । 

यदि घरेलु काममा जाने हो भने वैदेशिक रोजगारीमा घरेलु कामदारमा पठाउने सम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ अनुसार सम्बन्धित देशमा रहेको नेपाली दूतावासको सिफारिस पत्रको स्क्यान कपी पनि चाहिन्छ ।

 म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा अनलाइन भुक्तानी प्रदायकबाटै भुक्तानी गरेको हुनपर्छ । यसबारेमा थप जानकारी चाहिएमा ९७७१५९०९७४९ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया