रोल्पाको पर्यटन प्रवर्द्धनका लागि लिबाङ–जलजला 'हेलि टूर'

 माघ २९, २०७८ शनिबार १४:५६:३७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि सदरमुकाम लिबाङदेखि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखराको फिस्टेल एअरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो । लिबाङ–जलजला पर्यटन उडानको शनिवार एक कार्यक्रमकाबीच रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गर्नुभयो । फिस्टेल एअरको नाइन् एन – एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल सुजल श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरु संगम रोका र उहाँका परिवारलाई रोल्पा नगरपालिकाका मेयर केसी र उपमेयर मनकुमारी घर्तीले फूलमाला लगाइदिँदै पर्यटन उडानको शुभारम्भ गरिएको हो ।

हवाई यात्राको पहिलो दिन शनिवार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धनका लागि जलजला पुग्न सडक यात्रा कठिन भएकाले पर्यटकहरुको माग अनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाई छ । 

‘जलजला पुग्ने धेरैको चाहना हुन्छ’ पुनले भन्नुभयो, ‘तर सडकको सहज पहुँच नभएका कारण हवाई यात्रा पर्यटकको रोजाईमा परेको हो ।’ अहिले हिउँ परेकाले पनि जलजला पुग्न सडकको यात्रा झन कठिन हुने गरेको छ । रोल्पाको विभिन्न तीन ठाउँबाट उडानको व्यवस्था मिलाइएको छ । सुनछहरी गाउँपालिकाको पोबाङ, सुलिचौर र लिबाङबाट जलजलाका लागि हेलिकप्टरमा हवाई यात्रा गर्न सकिने बताइएको छ ।

किन जाने जलजला

थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सीमानामा पर्ने सु्न्दर पहाडमा अवस्थित छ जलजला । प्राकृतिक रुपमा निकै मनोरम रहेको जलजला धार्मिक रुपमा पनि निकै महत्वपूर्ण मानिन्छ । अहिले खासगरी जलजलामा हिउँ खेल्न जानेहरुको भिड हुने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा देशभरका एक सय गन्तव्यमा परेको जलजला माओवादी जनयुद्धको केन्द्रको रुपमा पनि चर्चित छ । जलजलालाई माओवादीले द्वन्द्वकालमा माफ्नो सुरक्षित र आधार इलाकाका रुपमा प्रयोग गरेको थियो ।

यस क्षेत्रमा वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाइ बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ ।

यस्तै सुनछहरी गाउँपालिका–२ भित्री गाममा पर्ने पर्यटकीय स्थल कोठीभिरमा पनि हेलिकप्टरको उडान गरिने भएको छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा रहेको कोठीभिरमा अत्याधिक हिउँ परेकाले हेलिकप्टर बसाल्न नमिल्ने हुँदा अहिले त्यहाँ उडान गर्न नसकिएको गेमी होमस्टेका अध्यक्ष पृथ्वी पुनले बताउनुभयाे ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया