लेखक डा. खगराज बरालको ‘मालामा नउनिएका फूलहरू’ बजारमा

 फागुन ८, २०७८ आइतबार ८:२७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शिखा बुक्स प्रकाशनले प्रकाशन गरेको लेखक डा. खगराज बरालको गैह्रआख्यान अनुभूति सङ्ग्रह ‘मालामा नउनिएका फूलहरू’ यही फागुनको पहिलो हप्तादेखि बजारमा आएको छ ।

श्रमिक बरालका नामबाट कलम चलाउने बरालका साहित्यमा सातओटा सिर्जना प्रकाशित छन् । बरालले शिक्षासम्बन्धी नीति, सिद्धान्त र कार्यान्वयनमा झण्डै एक दर्शन कृति नेपाली पाठकसामु पस्किसक्नु भएकाे छ। 

बरालका यसअघि ‘सिकाउने शैली’ (२०७५) तथा ‘सिकाइ र सहयोग’ (२०७६) नै प्रकाशित भइ पाठकहरूबीच निकै लोकप्रिय रहे । गएकाे वर्ष बरालले आख्यानअन्तर्गत ‘स्यानी’ उपन्यास ल्याउनु भएकाे थियाे । यो उपन्यास पनि पाठकमाझ निकै लोकप्रिय बन्यो ।

‘मालामा नउनिएका फूलहरू’मा २० ओटा भिन्नभिन्न अनुभूति रहेका छन् । यस अनुभूति सङ्ग्रहमा बराल मस्तिष्कले होइन, मनले बोलेका छन्, बरालका अभिव्यक्तिमा बनावटीपन छैन । पुस्तक पढ्दा कतै कथाजन्य अनुभूति पाइन्छ भने कतै अनुभूतिजन्य निबन्ध पाइन्छ ।

घर परिवारदेखि विश्व परिवेशसम्मका, स्वेदशदेखि विदेशसम्मका, दार्शनिक चिन्तनदेखि सामान्य मानवीय व्यवहारसम्म, मानवदेखि मानवेत्तर प्राणी र वनस्पतिसम्मका विषयलाई यस अनुभूति सङ्ग्रहमा समावेश गरिएको छ । सामान्य मानिसले पनि ध्यान नदिएका मसिना विषयलाई पनि लेखकले विशेष महत्त्वका साथ उठान गरेका छन् ।

कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य चार सय पचहत्तर रुपैयाँ रहेको छ । ‘मालामा नउनिएका फूलहरू’  पुस्तक फागुनको पहिलो हप्तादेखि ज्ञानज्योति बुक्स पब्लिेकसन प्रा लि, बागबजारले वितरणको जिम्मेवारीसहित देशभरका प्रमुख बजारमा ल्याएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया