सिन्धुपाल्चोक कांग्रेस अधिवेशन : कसले जित्ला ?

 फागुन १८, २०७८ बुधबार १८:४३:९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – नेपाली कांग्रेसको विवादित १६ वटा जिल्लाको अधिवेशन पटक–पटक सर्ने क्रम अब रोकिने देखीएको छ । यस्तैमा सिन्धुपाल्चोक जिल्लाले यही फागुन २७ र २८ गते अधिवेशन गर्ने घोषणा गरेको छ । याे घाेषणासँगै चुनावी माहोलले जिल्लाका नेता–कार्यकर्तालाई ऊर्जा थपिएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा नगर र गाउँ अधिवेशन सम्पन्न भएको छ । १२ वटा स्थानीय निकायमा गाउँ र नगर अधिवेशनबाट धेरैजसाे नयाँ अनुहार नेतृत्वमा आएका छन् ।

सिन्धुपाल्चाेकमा अहिले पार्टी सभापतिका लागि आधा दर्जन अनुहार देखिएका छन् । यीमध्ये तीन जनाको उमेदवारीलाई महत्त्वका साथ हेरिएको छ । गाउँपालिकालाई पटक–पटक जिल्लाकै प्रथम बनाउन सफल वंशलाल तामाङदेखि प्राध्यापक, पूर्व क्षेत्रीय सभापतिले समेत उमेदवारी घोषणा गरेका छन् । 

१. वंशलाल तामाङ

तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको साहसिक–ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालदेखि लाग्नुभएका वंशलाल तामाङको सक्रिय राजनीतिक यात्रा २०३६ सालमा जिल्लाकै ऐँसेलुखर्क माविमा नेपाल विद्यार्थी सङ्घको इकाइ समिति सभापतिका रूपमा सुरु भएको हो ।

तामाङले जेल–नेल र अवरोध चिर्दै नेपाल विद्यार्थी सङ्घ– सिन्धुपाल्चोकको संस्थापक सदस्यका रूपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्नुभयाे । जिम्मेवारीबाेध, प्रतिबद्धता र लोकतन्त्र तथा प्रजातन्त्रप्रतिको लगावले अन्ततः तामाङ २०४६ देखि २०४८ सालसम्म नेविसङ्घकाे जिल्ला अध्यक्ष बन्नुभयाे । 

राजनीतिक परिवर्तन र नागरिकको लोकतान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालाको प्रेरणा पाउनुभएका तामाङ २०४२ सालमा तत्कालीन पञ्चायती निरङ्कुशताविरुद्ध पार्टीले आह्वान गरेको शान्तिपूर्ण सत्याग्रहका लागि काठमाण्डौको डिल्लीबजारमा रहेकाे चारखाल अड्डामा धर्ना बस्दा पक्राउ पर्नुभयाे । तत्कालीन व्यवस्थाले नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक परिवर्तनका लागि लागेबापत दिइएको कठोर यातनाले उहाँकाे राजनीतिक लोकप्रियताले अरू उचाइ लियाे । 

पब्लिक युथ क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट समाजशास्त्र–मानवशास्त्रमा स्नातक गर्दासम्म तामाङको राजनीतिक लोकप्रियता केन्द्रीय राजनीतिमा समेत स्थापित भइसकेको थियो । २०४६ सालदेखि नै पार्टीकाे जिल्ला सदस्य हुँदै जिल्ला सचिव बन्नुभएका तामाङको पार्टी सङ्गठन विस्तार र पार्टीको लोकप्रियता वृद्धिका लागि सक्रिय योगदान आज पनि उस्तै छ । यो तामाङको राजनीतिक लोकप्रियताको महत्त्वपूर्ण मानक हो– यही लोकप्रियता र निष्ठाकै परिणाम २०५३, २०५७, २०६१, २०६७, २०७२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नुभएका उहाँ २०७४ सालको स्थानीय चुनावमा इन्द्रावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएलगत्तै २०७४ सालमा पाँच वर्षका लागि गाउँपालिकाहरूको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घमा महासचिवकाे नेतृत्व पाउनुभयाे ।  

तत्कालीन राजाको निरङ्कुश कदमपछिको सशक्त आन्दोलनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ पार्टीहरूको संयुक्त आन्दोलनमा पार्टी जिल्ला सचिव तथा वाग्मती अञ्चल आन्दोलन परिचालन समितिको सदस्यको हैसियतमा आन्दोलनको नेतृत्व र परिचालन गरेको गर्भिलो अनुभव सम्हाल्नुभएका तामाङ पटक–पटक प्रहरी हिरासत र नजरबन्दमा पर्नुभयाे । यो बीचमा माओवादी जनयुद्ध र शाही सत्ताको निरङ्कुशताविरुद्ध उभिँदा केही समय थाक–थलो छाडेर विदेशिनुपरेको नमिठो अनुभव भए पनि प्रवासमा रहँदा नेपाली कांग्रेसको भगिनि सङ्गठन, नेपाली जनसम्पर्क समितिको संस्थापक सदस्य बनेर तामाङ पार्टीको सङ्गठन विस्तार अभियान निरन्तर जोडिनुभयाे । लोकतन्त्र–प्रजातन्त्र र नागरिक स्वतन्त्रता प्राप्तिको अभियान रोकिएन ।

उत्साह रूपान्तरण र एकता वंशलाल नेतृत्वको सिन्धु कांग्रेस अबको आवश्यकता भन्ने मूल नारासहित तामाङ अहिले प्रचार प्रसारमा लाग्नुभएकाे छ । पार्टीको जिल्ला सङ्गठनलाई सुदृण बनाउनका लागि जिल्ला सभापतिमा उमेदवारी घोषणा गरिसकेको र सङ्गठनलाई सुदृढ, सङ्गठित, गतिशील र एकताबद्ध बनाउने आफ्नो उद्देश्य रहेको तामाङले बताउनुभयाे । 

पाँच वर्ष गाउँपालिका प्रमुखको हैसियतमा रहँदा वा स्राेत–साधन परिचालन गर्दा उहाँले दक्षता मात्र देखाउनुभएन आफूलाई निर्वाचित गर्ने नागरिकप्रति सदैव जवाफदेही रहँदै पार्टीका साथीहरूबीच सौहार्द सम्बन्ध राखी सङ्गठनलाई निरन्तर बलियो बनाउन पनि सक्रिय र प्रतिबद्ध रही इन्द्रावती गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिका बनाउनसमेत सफल हुनुभयाे । 

समावेशी विकासमा गाउँपालिका अग्रस्थानमा रहेको छ । यस्ता कामहरूले लोकप्रिय हुनुहुन्छ वंशलाल तामाङ– 

इन्द्रावतीको प्रत्येक घरमा स्वच्छ र सफा खानेपानी पुर्‍याउने लक्ष्यका साथ तामाङले एक घर एक धारा अभियान चलाउनुभएकाे छ । गाउँपालिकालाई ऐतिहासिक रूपमा चिनाउन भृकुटी पार्कको निर्माण हुँदैछ भने पालिकामा भूकम्पमा परेर ज्यान गुमाएकाको नाममा स्मृति पार्कको निर्माण गरिएको छ । 

इन्द्रावती गाउँपालिकाले आकर्षक गाउँपालिका भवन बनाएको छ । त्यस्तै नवलपुरमै सुविधा सम्पन्न अस्पताल बनेको छ । २८ हजारभन्दा बढी जनसङ्ख्या भएको इन्द्रावतीका नागरिकले यअघिसम्म स्वास्थ्य चौकी भन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपर्थ्यो ।

अहिले प्रत्येक वडाको आफ्नै भवन रहेको छ । खेल क्षेत्रबाट गाउँपालिकालाई चिनाउन रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पालिकाभित्र एक वडा एक खेल मैदानसमेत बनेको छ । विद्यालय र अस्पतालका लागि पर्याप्त जनशक्ति व्यवस्थापन भएको छ । कृषिमा अनुदान र दूध बेच्ने किसानलाई गाउँपालिकाले अनुदानसमेत दिने भएको छ  ।  स्मार्ट पालिका बनाउनका लागि विद्युतीय हाजिरीको समेत व्यवस्था गरिएको गाउँपालिकाका सूचना अधिकारी मनोज दंगालले बताउनुभयाे । 

गाउँपालिकाको वडा नं १० मा सडक कालोपत्र भएको छ । त्यस्तै गाउँपालिका वरिपरिको एक किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको इन्जिनियर राजाराम घोरासैनीले जानकारी दिनुभयाे । 

२. जङ्गबहादुर लामा  

यस्तै कांग्रेस जिल्ला सभापतिको दौडमा प्रबल दाबेदारका रूपमा नेता बस्नेत निकट मानिने पूर्व क्षेत्रीय सभापति जङ्गबहादुर लामाले पनि उमेदवारी घोषणा गर्नुभएकाे छ । लामा कांग्रेस राजनीतिकाे तल्लो तह गाउँ इकाइदेखि नै नेतृत्व सम्हालेर आउनुभएका युवा नेता हुनुहुन्छ । उहाँले १६ वर्षको उमेरमै २०५२ सालमा तत्कालीन हगाम गाविसकाे इकाइ  सभापतिको नेतृत्व सम्हाल्दै जिल्ला तामाङ सङ्घको उपाध्यक्ष हुँदै सङ्घीयताअघिको संरचनामा १२ औँ महाधिवेशनबाट सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय सभापतिको नेतृत्वमा निर्वाचित भइ काम गरिसक्नुभएकाे छ । 

पार्टीका विभिन्न पदमा रही सफलतापूर्वक काम गरिसकेको अनुभव भएकै कारण १४ औँ महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिसमेत भएकाले जिल्ला अधिवेशनमा सभापतिका लागि उमेदवारी दिएकाे उहाँले बताउनुभयाे । 

पार्टीका कार्यक्रमदेखि सामाजिक काममा अनवरत लाग्दै आउनुभएका लामाले अब आउँदै गरेको स्थानीय, प्रदेश र सङ्घीय चुनावमा पहिलो पार्टी बनाउन नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन आवश्यक रहेकाले आफूले उमेदवारी घोषणा गरेको जानकारी दिनुभयाे । 

लामाले झन्डै तीन दशक पार्टीमा गरेको योगदान र सक्रियता नै उमेदवारीको बलियो आधार रहेको पनि बताउनुभएकाे छ । उहाँ आफ्ना बुबा तत्कालीन हगाम गाविसका प्रधानपञ्च हर्कलाल लामाको राजनीतिक जीवनबाट प्रभावित भइ राजनीतिमै लाग्नुभएका लामा मिलनसार अनि सशक्त युवा नेतृत्वकर्ताको रूपमा चिनिनुहुन्छ । 

३. प्रेमध्वज लामा

प्रेमध्वज लामाको राजनीतिक यात्रा २०४३ सालमा नेविसङ्घको सदस्यताबाट सुरु भएको हो । २०४६ सालको जनआन्दोलनमा उहाँले सक्रिय सहभागितासमेत जनाउनुभएकाे थियाे । २०४७ सालमा नेविसङ्घ सिन्धुपाल्चोक जिल्ला सचिवको जिम्मेवारी सम्हाल्नुभएका लामा २०४९ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य हुनुभएकाे थियाे । 

२०५१ सालमा नेविसङ्घ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भइ २०५१/२०५२ मा नेविसङ्घ केन्द्रीय सदस्यको भूमिकामा रहनुभयाे । २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बन्नुभएका लामा महाधिवेशन, महासमिति सदस्य, केन्द्रीय कोभिड अनुगमन समिति सदस्य लगायतकाे भूमिकामा पनि रहनुभयाे ।  

समाज परिवर्तनको सुरुवात भनेको स्थानीय तह या गाउँ तहबाटै हुनुपर्ने उहाँको तर्क छ । त्यसका लागि राजनीतिक चेतना हुनुपर्ने लामाले बताउनुभयाे । ‘हामी लोकतन्त्र भन्छौँ तर लोकतन्त्रको सामान्य मूल्य–मान्यता जान्दैनौँ, पाउने अधिकार र आफ्नो कर्तव्यबारे अनभिज्ञ छौँ । मनपर्ने पार्टी भनेर भोट मात्रै खसालिरहेका छौँ तर पनि लोकतन्त्रको फल नागरिकले पाउन सकेका छैनन्’, उहाँ भन्नुहुन्छ । 

पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयाे । पार्टीमा डनवाद हाबी भएको र नीतिले अघि बढ्न नसकेको लामाकाे गुनासाे छ । ‘अग्रगामी परिवर्तनको नेतृत्व लिन सक्ने युवा ल्याउन चाहेको छु । सही आवाजको प्रतिनिधित्वका लागि मेरो उमेदवारी हो’, उहाँले भन्नुभयाे । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया