सगरमाथा क्षेत्रमा चिसाेका कारण रोकिएका विकास निर्माणका काम सुरु

 फागुन २९, २०७८ आइतबार ११:३४:५९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रोकिएका विकास निर्माणकाे कामले गति लिन थालेको छ ।

अत्यधिक चिसोका कारण हिउँदमा स्थगित गरिएका विकास निर्माणका कामहरु मौसम तातो हुन थालेसँगै सुरु हुन थालेकाे गाउँपालिकाले जनाएको छ ।अहिले खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को खुन्दे क्षेत्रमा करिब एक महिनादेखि रोकिएको खानेपानी योजनाको काम सुरु भएकोे छ।

यसअघि नै पाइप बिछ्याउने काम सम्पन्न गरे पनि अत्यधिक चिसोका कारण बाँकी काम गर्न नसकिएकाे प्रवक्ता ल्हाक्पा छिरिङ शेर्पाले बताउनुभयो ।

मौसम अनुकूल भएसँगै करिब दुई हप्ता अघिबाट रोकिएका कामहरु सुरु गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनु भयाे । उहाँका अनुसार अहिले पाङ्बोचे स्वास्थ्य चौकी भवन, त्याङमोजे गुम्बाको माने मर्मत, खुम्जुङ भ्याली भित्रको पर्यटक पदमार्गकाे मर्मत, खुम्जुङ स्कुलको भवन मर्मत लगायतका कामहरु भइरहेका छन् ।

पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्ने गर्छ । 

चिसोका कारण सिमेन्ट सेट नहुने भएकाले तातो मौसमको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको खुम्बु पासङल्हामु गाउँपालिका-४ खुम्जुङका स्थानीय छिमी छिरिङ शेर्पाले बताउनुभयो ।

नयाँ आर्थिक वर्षमा विनियाेजन गरिएकाे बजेट असोज कात्तिकमा मात्रै निकासा हुनेगर्छ । तर मंसिर अन्तिमबाटै यस क्षेत्रमा चिसोका कारण काम गर्न सकिँदैन । त्यसैगरी पुस माघकाे चिसाेपछि चैतबाट मात्रै काम गर्न सकिने स्थानीय बताउँछन् । 

चिसोले हिउँदमा विकास निर्माणका कामहरु रोकिने भएकाले खुम्बुमा सम्भव भएसम्म हिउँद अघि नै काम सक्ने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया