रुपन्देहीका ६३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

 चैत २९, २०७८ मंगलबार ९:५५:४० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीका ६३ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार भारतसँग सीमा जोडिएका, भौगोलिक अवस्था र विगतका चुनावमा भएका गतिविधिका आधारमा सुरक्षा संवेदनशीलताको सूची तयारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै विश्लेषण र मूल्याङ्कनका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको हो। रुपन्देहीमा २०८ मतदानस्थलहरु कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएकोछ ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसको लागि विवरण सङ्कलन गर्ने कार्य भइरहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनु भयो ।

रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता रहेका छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् । रुपन्देहीमा राष्ट्रिय मान्यता प्राप्त ६ सहित ३८ दलले पालिकाको चुनावमा प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताउनुभयो ।  

१६ पालिका रहेको रुपन्देहीमा अघिल्लो पालिकाको चुनावमा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो । अहिले भने एमालेलाई चुनौती दिन सत्तारुढ दलले गठबन्धन बनाएका छन्। गठबन्धनको बैठकले लुम्बिनी प्रदेश भित्रका १०९ पालिकामा गठबन्धन बाहेकका दलकाबीचमा चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै सफल बनाउने दायित्व आबद्ध सबै दलको रहेको बताउनु भएको छ । प्रमुख विपक्षी दल एमालेले केहीदिन भित्रै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ । वडा र पालिकास्तरबाट सिफारिस भएर आएका उम्मेदवार मध्येबाट टिकटको टुङ्गो लगाइने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया