अब वालिङका कृषक आफैले हाते ट्याक्टर मर्मत गर्ने

 असार २२, २०७९ बुधबार १२:३८:१० | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – पछिल्लाे समय नगरपालिकाले मात्रै होइन धेरै निकायले प्रविधि हस्तान्तरणको रुपमा किसानहरुलाई हाते ट्याक्टर वितरण गरिरहेका छन् । गाडी रिजर्भ नै गरेर गाँउ गाँउ पुर्‍याइएका हाते ट्याक्टरहरुमा सानो समस्या आउँदा फेरि गाडी नै रिजर्भ गरेर बजार पुर्‍याउनु पर्ने समस्या थियो । तर अब भने यो समस्याबाट स्याङ्जा, वालिङका कृषकहरुले पार पाउने भएका छन् । 

वालिङ नगरपालिकाले आफ्नाे पालिकाभित्रका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरेको छ । जसले गर्दा कृषकहरुले गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै विभिन्न निकायले वितरण गरेका दुई हजार भन्दा बढी हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा नै मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । 

कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगर उपप्रमुख कविता तिवारीले अब गाँउ गाँउमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनशक्तिm तयार भएको जानकारी गराउनु भयो । हाते ट्याक्टर बिग्रिँए किसानहरुलाई आर्थिक मार पर्ने गरेको भन्दै बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको तिवारीले बताउनुभयो ।  

वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको विशेष तालिम सञ्चालन गरेको हो ।  यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाससकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । 

‘सबैको ध्यान ट्याक्टर वितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले बितरण सँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेका हौं’, भट्टराईले भन्नुभयो । 

१४ वटै वडाबाट छानिएर आएका १५ जना व्यावसायिक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो । तालिममा सहभागी भएपछि उत्साहित भएका वालिङ २ का कृषक नीरबहादुर सार्कीले भन्नुभयो, ‘मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएका छन् अब आफै मर्मत गर्छु ।’
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया