राष्ट्रियताको सवालमा याे गठबन्धनले अपराध नै गरेको छ : शाक्य

 साउन १५, २०७९ आइतबार २०:२०:४२ | किरण लोहनी
unn.prixa.net

गाेरखा – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रियताको सवालमा पाँच दलीय गठबन्धनले अपराध नै गरेको आरोप लगाउनुभएको छ । गठबन्धनकै कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको पनि उहाँले बताउनुभयो । 

नेकपा एमाले जिल्ला कमिटी गोरखाले आज आइतवार जिल्ला सदरमुकाममा गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘छिमेकी देश चीन शक्तिशाली हुँदै गएकोमा अमेरिकालाई टाउको दुखेको बेला एमसीसीका नाममा अमेरिकालाई चीनविरुद्ध खेल्न आमन्त्रण गरिएको छ ।’ प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमिका अभिवृद्धि विषयमा बोल्दै शाक्यले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठबन्धन सरकारले खेलबाड गरेको बताउनुभयो । ‘केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेकसहितका भू–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गर्‍याे, जमिन फिर्ता लिने प्रक्रिया चलिरहेकै थियो’, उहाँले प्रश्न गर्नुभयो, ‘तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ, यो के हो ?’ 

उपाध्यक्ष शाक्यले गठबन्धन सरकारलाई कुनै पनि हालतमा हटाउनुपर्ने भन्दै उनीहरूका खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो–चाँडो गठबन्धन आफैँ भत्किने बताउनुभयो । नेपालमा कम्युनिस्टहरूलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको उहाँको भनाइ छ । ‘तर वामपन्थी आन्दोलन कमजोर बनाउने वातावरण हामीले नै दिएको हो’, उहाँले भन्नुभयो, ‘नेतृत्वमा स्वार्थ, गुट, अराजकता बढ्न थाल्यो । समाजवादमा पुग्ने बाटो बिर्सिन थालियो ।’ 

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालनकाे विषयमा प्रशिक्षण दिनुभएकाे थियाे । यस्तै पाेलिटब्युरो सदस्य एवम् सांसद मनकुमारी केसीले पालिका चुनावकाे सिकाइ र आउँदाे चुनावकाे तयारी र केन्द्रीय सदस्य रामशरण बस्नेतले सङ्गठनात्मक सिद्धान्त, सङ्गठन निर्माण र परिचालनकाे विषयमा प्रशिक्षण दिनुभएकाे थियाे । गण्डकी प्रदेश कमिटी उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टीबीचको सम्वन्धका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेकपा एमालेबाट गोरखाका पालिकामा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको जिल्ला कमिटीले सम्मान गरेको छ । जिल्ला कमिटीले आइतवार आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरूलाई सम्मान गरिएको हो । गएकाे वैशाख ३० गते भएको पालिका चुनावमा गोरखामा एमालेबाट ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो । जनप्रतिनिधिहरूलाई सम्मान गर्दै एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जनताको मत जितेर काम गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया