चीनसँगको नाका नखुल्दा याङ्मावासीलाई जीवन धान्न समस्या

 साउन १८, २०७९ बुधबार १८:५५:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ याङ्मावासी आर्थिक सङ्कटमा परेका छन् । पुरानो तथा ऐतिहासिक पर्यटकीय गाउँ चीनको सीमावर्ती क्षेत्र याङ्माका बासिन्दा अहिले चरम आर्थिक अभावमा छन् । 

आफूले पालेका चौरीबाट उत्पादित पदार्थहरू बिक्री हुन नसक्ता उनीहरूले आर्थिक समस्या भोगिरहेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण तीन वर्षयता चीनसँगको घरिल्ला नाका बन्द भएसँगै याङ्मावासी समस्या परेका हुन् । याङ्माका कान्देग्याबु शेर्पा परिवारको दिनचर्या चौरी गोठमा बित्छ । चौरी पालनबाट नै जीवन निर्वाह गरी रहे पनि अहिले चौरी र चौरीबाट उत्पादन हुने पदार्थ चीनमा निर्यात गर्न उहाँ समस्यामा हुनुहुन्छ ।  

याङ्मा गाउँमा १० परिवारको बसोबास छ । सबैको पुख्र्याैलीदेखिको पेसा चौरी पालन हो । याङ्माका लोप्साङ शेर्पाले पनि अहिले चौरी पालनबाट आम्दानी लिन सक्नुभएको छैन । तीन वर्ष अगाडिसम्म बर्सेनि १२ देखि १५ वटासम्म चौरीका बाछादेखि वयस्क चौरी चीनमा बिक्री गर्दै आएको उहाँको भनाइ छ । शेर्पाका अनुसार एउटा चौरी एक लाख ५० हजार रुपैयाँसम्ममा चीन निर्यात हुने गरेको थियो ।  

चीनका नागरिकले चौरीको बाछो पाल्नका लागि र वयस्क चौरी मासुका लागि लैजाने गरेका याङ्मावासी बताउँछन् । 

समुद्र सतहदेखि चार हजार दुई मिटर उचाइमा पर्ने हिमाली बस्ती याङ्मामा खेतीपाती हुँदैन । चिसो र हिउँका कारणले याङ्मा क्षेत्र चौरी पालनका लागि अनुकूल रहेको फक्ताङलुङ ७ का अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । 

यहाँका बासिन्दाले चौरीको बाछो, वयस्क चौरीका साथै चौरीको घिउ, छुर्पी, चमरलगायत चीनमा राम्रो मूल्यमा निर्यात गर्दै आएका थिए । अहिले नाका बन्द हुँदा यो आम्दानी गुमेको छ । 

याङ्मावासीले चौरी बिक्री गरेर वर्षभरि पुग्ने खाद्यान्न चीनबाट आयात गर्दै आएको थिए । तीन वर्षयता भने सदरमुकाम फुङिलङ बजारदेखि खरिद मूल्यभन्दा चार गुणा बढीमा ढुवानी गर्नुपरेको उनीहरूको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया