पाेखरा विमानस्थलमा 'क्यालिब्रेशन फ्लाइट' पछि उडान रुटबारे निर्णय हुन्छ : मन्त्री श्रेष्ठ

 साउन २५, २०७९ बुधबार १९:३२:४९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले क्यालिब्रेशन फ्लाइटको टुङ्गो लागेपछि मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रुटबारे निर्णय हुने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन कास्कीले आज बुधवार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘जहाज कम्पनीसँग छलफल गर्नका लागि पनि विमानस्थल सञ्चालनको निर्णय गरेका हौँ । उडान रुट र जहाज कम्पनीसँग अब छलफल अघि बढ्छ ।’ विमानस्थलको ९८ प्रतिशत निर्माण सकिएको छ । आउँदो पुस १७ अर्थात् जनवरी १ देखि यो विमानस्थल सञ्चालनमा ल्याउने सरकारले निर्णय गरिसकेको छ ।

यद्यपि विमानस्थल सञ्चालनअघि पोखराको ल्यान्डफिल साइट हटाउनुपर्ने र रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने काम बाँकी नै छ । यसको तयारी धेरै अघिदेखि गरे पनि काम हुन सकेको छैन । मन्त्री श्रेष्ठले दुवै काम सँगै हुने र विमानस्थल सञ्चालनमा ल्याउन कुनै अवरोध नरहने बताउनुभयो । उहाँले रिठ्ठेपानीको डाँडा कटानका लागि रुखहरू काटिसकेको र ल्यान्डफिल साइट सार्न पोखरा महागनरपालिका लागिपरेको बताउनुभयो । विमानस्थलले गण्डकी प्रदेशको पर्यटन विकासका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । 

नयाँ विमानस्थल सञ्चालनपछि चलिरहेको विमानस्थलमा के गर्ने भन्ने बारेमा श्रेष्ठले प्राविधिक टोलीसँग छलफल गरेर नै निर्णयमा पुग्ने बताउनुभयो । यस्तै उहाँले पोखरामा प्याराग्लाइडिङलाई अहिले नै विस्थापन गर्ने पक्षमा आफूहरू नरहेको सुनाउनुभयो । प्याराग्लाइडिङ पोखराको ब्रान्डिङ भएको भन्दै सुरक्षामा असर नपर्ने गरी यो व्यवसाय कायम गर्ने स्थिति भए जोगाउने उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै उहाँले पर्यटनलाई पुनरुत्थान गर्नका लागि गएको ८ गते ७४ बुँदे कार्ययोजना घोषणा गरेको भन्दै नेपालमा पर्यटक ल्याउन २०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया