म्याग्दी : जङ्गली जनावरबाट बाली जाेगाउनै मुस्किल

 भदौ १४, २०७९ मंगलबार ११:४१:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका किसानहरुले वर्षेबालीअन्तर्गत यसवर्ष लगाएको मकैमा जङ्गली जनावरको आतङ्क बढेको छ । किसानहरुले आफ्नो खेतबारीमा लगाएको मकै बालीमा जङ्गली जनावरहरुले खाइदिने र नष्ट गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । 

जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धवलागिरि गाउँपालिकाको विभिन्न वडामा जङ्गली जनावरले मकैबाली खाएर हैरान बनाएको छ । म्याग्दी जिल्लाका किसानहरुले लगाएको मकै बालीमा खासगरी बाँदर, बँदेल, दुम्सी (सार), मृग, भालुलगायत जङ्गली जनावरको आतङ्क फैलिएको हो । 

घर तथा खेतबारी नजिकै बाक्लो र ठूलो जङ्गल भएकाले जङ्गली जनावरको आतङ्क बढ्दै जान थालेको किसानहरु बताउँछन् । बेनी नगरपालिका–१, रत्नेचौरको आनन्दबगर क्षेत्रमा लगाइएको मकै बालीमा बाँदरको आतङ्क बढेको छ भने बेनपा–५, पुलाचौरको चिप्लेटी, गाजने, नयाँगाउँलगायत ठाउँमा जङ्गली जनावर दुम्सी मकै बारीमा पसेर बाली सखाप पार्ने गरेको किसानहरुले गुनासो गरेका छन् । 

यसैगरी अन्नपूर्ण–६, घार र ७ नम्बर वडा हिस्तानसहित अन्य वडामा पनि जङ्गली जनावरहरु बाँदर, बँदेल, मृग र दुम्सीले मकै बालीमा क्षति पुर्याएको भन्ने किसानबाट जानकारी आएको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक सम्झना खत्रीले बताउनुभयो । अन्नपूर्ण–६, घारका किसान यामबहादुर खड्काले जङ्गली जनावर मृग (राते) र बाँदरले मकै खाएर आफूहरुलाई हैरान बनाएको गुनासो गर्नुभयो । उहाँले बाँदर तथा मृगले मकै भाँच्न नदिएपछि गाउँका केही किसानले मकै लगाउन छोडेको बताउनुभयो । 

किसान खड्काले भन्नुभयो, ‘बाँदरसँग कसै गरे पनि नसकिने भयो । बाँदरले मकै बालीमा ठूलो नोक्सान गर्यो । बाँदर र मृगले धेरै दुःख दिएको हुँदा प्रायजसाे किसानहरुले गाउँमा मकै छर्न छोडिसके । हामीले पनि अर्को वर्षदेखि छोड्छौँ।’ ‘मृगले समेत बारीमा लगाएको सागसब्जी, भटमास, बोडी, सिमी, गहुँ, जौ सबै खाएर दुःख दिएको छ । खेत बारीमा लगाएको चिज केही पनि हुन दिँदैन । रातको समयमा पनि आएर बाली खाने गरेर एकदमै हैरानी बनाएको छ । महँगाे तिरेर खेताला खोजेर खेतिपाती लगायो आखिरमा आएर जङ्गली जनावरले खाइदिन्छ हामीले के गर्नु । मेरो यसपटक १ रोपनीमा लगाएको मकै सबै बाँदर र मृगले खायो । वडा र पालिकाले हामी किसानलाई हेर्दैनन्’ उहाँले भन्नुभयो ।  

त्यस्तै रघुगङ्गा गाउँपालिका–१, बेगखोलाको बाँदुकमा पनि मकै बालीमा बाँदरले दुःख दिएको छ भने पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको १ नम्बर वडा कुहुँ र ३, ४ बराङ्जामा बाँदरले मकै खाइदिएर किसानलाई हैरान बनाउने गरेको छ । उता धवलागिरि गाउँपालिका–३, मुनामा भने जङ्गली जनावर भालुले मकै खाएर सखाप पारेको भन्दै किसानले गुनासो गरेको धवलागिरि गाउँपालिकाको कृषि शाखाले जनाएको छ । छ वटा पालिका रहेको म्याग्दीको प्रायजसाे ठाउँमा खासरी बाँदर (हनुमान र सेतो) लङ्गुरको आतङ्क अत्यधिक रहेको छ । दिनरात मकै बालीमा बाँदर पसेर नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

बेनी नगरपालिका–५, चिप्लेटीका किसान भगवती कार्कीले दुम्सी आएर मकैबाली सबै नास पारेको गुनासो गर्दै भन्नुभयो, ‘राति १२ बजेसम्म बारीमा बसेर घर सुत्न जान्छौँ । अनि बिहान ४ बजे उठेर आएर हेर्दा दुम्सीले मकै खाएर गइसकेको हुन्छ ।’ धेरै पहिलेदेखि नै दुम्सीले मकै खाएर दुःख दिने गरेको उहाँले बताउनुभयो ।

‘घर तथा खेत बारीको वरिपरि वन धेरै फैलिएपछि दुम्सीले वर्षैपिच्छे मकै खाएर सताउने गरेको छ । बरु बाँदरले त्यति खाएको छैन, दुम्सीले मकै धेरै खाइदियो’ उहाँले भन्नुभयो । मकै बालीमा पसेको दुम्सी र बाँदरले मकै खानुका साथै भाँचेर नष्ट समेत गरिदिँदा किसानहरु थप पीडित बनेका छन् । 

मकै बालीलाई किसानहरुले खाद्यान्न बालीअन्तर्गत प्रमुख बालीको रुपमा लिने गर्दछन् । वन्यजन्तु जनावरलाई वनजङ्गल क्षेत्रमा नै पर्याप्त खानेकुरा तथा फलफूलको व्यवस्थापन गर्नसके खाद्यान्न बाली र मानव बस्तीमा नआउने डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताउनुभयो । जङ्गली जनावरलाई धपाउनेबाहेक अन्य उपाय नभएको हुँदा जिस्काउन, हान्न र मार्न पाइँदैन । 

हरेक वर्ष चैतदेखि जेठ महिनासम्म बारीमा मकै छर्ने गरिन्छ भने साउनदेखि असोजसम्म मकै बाली भित्र्याउने समय हो । जङ्गली जनावरले मकै बाली नष्ट गरेर किसानलाई दुःख दिएको भए पनि म्याग्दीका पालिका र कृषि ज्ञान केन्द्रले भने किसानको माग सम्बोधन गर्ने त्यस्तो कुनै कार्यक्रम तथा बजेट नभएको जनाएका छन्। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया