उहिलेको कुरा : वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको मोटरसाइकल अनुभव

 भदौ १४, २०७९ मंगलबार १३:४४:१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

कुरो २०२७ सालतिरको हो । अर्थात् आजभन्दा झन्डै आधा शताब्दी अगाडिको । पैदल हिँड्ने मान्छे त गन्नुपर्ने त्यस समयमा बाटोमा मोटरसाइकल कुदाउँदाको सान अहिले 'प्राइभेट जेट' राखेभन्दा कम थिएन ।

२०२७ सालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत खुलेको आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा) मा उहाँ जागिरे हुनुभयो । त्यस बेला पशुपतिशमशेर राणा त्यसको प्रमुख/निर्देशक हुनुहुन्थ्यो । सहायक निर्देशक हुनुहुन्थ्यो रत्नशमशेर राणा । पशुपतिशमशेरको आफ्नै गाडी थियो ।
 
सहायक निर्देशक राणालाई चढ्नका लागि भनेर सेडाले त्यस बेला ३ सय ५० सीसीको प्लानेटा भन्ने रसियन मोटरसाइकल किनेको थियो । मोटरसाइकल चलाउने क्रममा राणाले डिल्लीबजारमा एउटा केटीलाई ठक्कर दिनुभयो । अनि पुलिसले मोटरसाइकल डिल्लीबजार थानामा लग्यो । घाइतेलाई अस्पताल पुर्‍याइयाे ।
 
शर्मा मैतीदेवी बस्नुहुन्थ्यो । बुझ्दै जाँदा त्यो घाइते केटीको दाइ उहाँले चिनेको रहेछ । राणा पनि 'केस' गरे झन्झट हुन्छ भन्नेमा हुनुहुन्थ्यो । यता घाइते पनि खासै केही नभएको हुनाले अलिकति पैसा लिएर मिल्ने सुरमा रहेछन् । उनीहरू २/४ सय रुपैयाँ भए पनि हुने भन्नेमा रहेछन् । त्यसपछि राणाले २/४ दिने भएपछि उहाँले लगेर पैसा दिनुभयो केस मिल्यो ।
 
अब मोटरसाइकल लिन चौकीमा जानुपर्ने भयो । राणालाई थानामा जान इज्जतले दिएन । त्यस बेला सेडामा १२/१४ जना नयाँ युवालाई भर्ना गरिएको थियो । त्यसमा पनि राई, गुरुङहरू थिए । राणाले त्यस बेला यत्रा यत्रा मान्छे छन् चौकीमा गएर मोटरसाइकल ल्याउन सक्ने कोही छैन भनेर चुनौती र गाली दुवै गर्नुभयो । उहाँलाई मोटरसाइकल थानामा राख्दा झन्झट होला भन्ने थियो ।
 
अरू कोही तयार हुन्छन् कि भनेर उहाँले सुरुमा केही भन्नु भएन । अरू कोही नबोलपछि उहाँले बिस्तारै गएर ‘सर आज्ञा हुन्छ भने म ल्याउँछु’ भनेर भन्नुभयो । राणाले फेरि ‘३ सय ५० सीसीको मोटरसाइकल चढ्न सक्छौ बाजे’ भन्नुभयो । उहाँले म कोसिस गर्छु भन्नुभयो । त्यसपछि राणाले साँचो र अफिसले निजलाई मोटरसाइकल दिनु भनेर चिठी पनि दिएर पठायो ।

०००

भोलिपल्ट उहाँ खाना खाएर अफिस जाने क्रममा डिल्लीबजार थानामा जानुभयो । थानामा चिठी दिनुभयो । अनि मोटरसाइकल लिनुभयो र मोटरसाइकल अलि ठूलो भएको हुनाले त्यहीँ थानामा एक पटक घुमाइ पनि हेर्नुभयो । उहाँका लागि यो खासै ठूलो रहेन । किनकि उहाँले त्यसभन्दा पहिले नै टिम्बर कर्पोरेशनमा जागिर खाँदा मोटरसाइकल चढिसक्नु भएको थियो । यो २०२० सालतिरको कुरा हो ।
 
थानाबाट मोटरसाइकल लिएर उहाँ अफिस जानुभयो । त्यस बेला सेडाको अफिस त्रिविको पुस्तकालयमाथि थियो । सेडाको भवन बनेको थिएन । सबैजना भर्खर अफिस आइपुगेका रहेछन् । उहाँले त्यो ३ सय ५० सीसीको मोटरसाइकल चढेको देखेर अचम्म मान्दै ‘लौ यहाँ घुमाउ’ भनेर पनि भने । उहाँले घुमाएर देखाएर मोटरसाइकल थन्क्याउनु भयो ।
 
दुर्घटना भएको हुनाले अब त्यो मोटरसाइकल राणाले नचढ्ने विचार गरिसक्नु भएको थियो । त्यसैले मोटरसाइकल थन्किएर बसेको थियो । उहाँ प्रशासनमा काम गर्ने मान्छे सिंहदरबारलगायत अन्य अफिसमा जानुपर्दा गाडी चढेर जानुपर्थ्याे । अनि उहाँले एक दिन मोटरसाइकल थन्किएर बसेको छ, बरु मै पेट्रोल हालेर चढ्छु भनेर भन्नुभयो । अफिसले हुन्छ भनेपछि उहाँले मोटरसाइकल चढ्न थाल्नुभयो । पछि पशुपतिशमशेरले अफिसको काममा हिँड्ने, आफ्नो पैसा खर्च गरेर किन पेट्रोल हाल्नु भनेर उहाँलाई महिनाको १०/१५ लिटर पेट्रोलको कुपनको पनि व्यवस्था गर्नुभयाे । यो २०२७ सालको कुरा हो ।

अहिले त ३/४ सय सीसीका ठूला तथा अन्य अलि राम्रा मोटरसाइकल बाटोमा देखिए भने मान्छेले फर्केर हेर्छन् । यो त झन् २०२७ सालको कुरो । त्यस बेला ३ सय ५० सीसीको मोटरसाइकल चढेर हिँड्दा उहाँको सान नै बेग्लै हुन्थ्यो । हेल्मेट लगाएर मोटरसाइकल चलाएर हिँड्दा बाटोमा उभिएका पुलिसले पनि सलाम गर्थे । किनकि त्यस बेला मोटरसाइकल चढ्ने भनेकै ठूलाबडा राणाहरू र पुलिसका हाकिमहरू मात्र हुन्थे ।
 
त्यस बेला पनि मोटरसाइकलको बत्ती बल्छ कि बल्दैन भनेर चेक गर्ने चलन थियो । उहाँको मोटरसाइकलको बत्ती बल्दैन थियो । उहाँको मोटरसाइकलको पछाडि पुलिसबाट अवकाश पाएको एक जना मान्छे बसेको थियो । पछाडि बसेको मान्छेले सापलाई चिन्दैनस् भनेर चेक गर्ने मान्छेलाई भन्यो र उहाँको मोटरसाइकल चेक नगरि छोडिदियो । यो रत्नपार्कको कुरा हो ।

०००

त्यस बेला राणाहरूले ट्राइम्प भन्ने १ सय देखि १ सय ५० सीसीको बेलायती मोटरसाइकल चढ्थे । सन साइकल भन्ने खुट्टाले पाइडल चाल्न पनि मिल्ने अनि इन्धनबाट पनि चल्ने ५०/६० सीसीका साना मोटरसाइकलहरु पनि थिए ।

२०२० सालतिर उहाँले टीसीएनमा जागिर खाँदा नेशनल ट्रेडिङमा १ सय ५० सीसीको जुपिटर भन्ने रसियन मोटरसाइकल आएको थियो । त्यो कर्मचारीलाई किस्ताबन्दीमा दिने उद्देश्यले ल्याइएको थियो । उहाँलाई अफिसले मोटरसाइकल किनिदियो । निलो रङको मोटरसाइकलको नम्बर थियो ८४८ । त्यो मोटरसाइकलको त्यस बेला ३ हजार रुपैयाँ परेको थियो ।

मोटरसाइकलले उहाँलाई एक प्रकारको नजानिँदो हिरो बनाएको रहेछ अरूको नजरमा । सेडामा काम गर्ने उहाँभन्दा माथिल्लो तहका हाकिमहरू पनि बेग्लै प्रकारको इज्जत गर्थे । विधान आचार्यले उहाँका बारेमा मोटरसाइकल चढ्ने अधिकृत भनेर उहाँका बारेमा लेख्नुभएको छ । आचार्य त्रिविको अर्को विभागमा काम गर्नुहुन्थ्यो । मन परेर होला आचार्यलाई त उहाँको हस्ताक्षरसमेत मनपर्दो रहेछ । यी सबै कुरा अभिव्यक्ति साहित्यिक पत्रिकामा छापिएको छ ।

०००
महाकवि लक्ष्मीप्रसाद देवकोटाका कान्छा भाइ मधुसूदन देवकोटाले त्यस बेला साइकल किन्नुभएको थियो । महाकवि बनारस गएपछि उहाँलाई लिन भनेर मधुसूदन पनि बनारस जाने हुनुभयो । अब घरमा राख्दा साइकल अरूले चलाएर बिगार्लान् भनेर उहाँको घरको छिँडिमा ल्याएर राख्नुभयो । त्यो पनि साइकललाई चिसो लाग्छ भनेर किला ठोकेर अनि झुन्ड्याएर ।  

उहाँका काकाहरूले पनि साइकल चलाउन दिनु हुन्नथ्यो । तर उहाँ भने कसैले थाहा नपाउने गरी झिकेर त्यहीँ छिँडीमा यहाँबाट त्यहाँ गरेर चलाउनुहुन्थ्यो । यसरी उहाँले साइकल सिक्नुभएको हो । ज्ञानेश्वरका उहाँका मित्र मुकुन्दप्रसाद उपाध्यायको स्कुटर थियो । त्यो स्कुटर यसो उसो गरेर उहाँले मोटरसाइकल चलाउन सिक्नुभएको हो ।

मोटरसाइकलको लाइसेन्स उहाँले हनुमानढोका प्रहरी चौकीमा लिनुभएको हो । त्यस बेला चौकीमा डीएसपी हुनुहुन्थ्यो सुनुवार थरका । अनि उहाँले गएर लाइसेन्सका लागि आएको भन्नुभयो । डीएसपीसापे राम्रोसँग आउँछ, चल्याउन जान्या छ भनेर सोध्नुभयो । ल ठिक छ त्यसो भए आँगनमा घुमाउ भनेर डीएसपीसापले माथि कौसीबाट हेर्नुभयो । उहाँले घुमाएपछि पास । लाइसेन्स तुरुन्तै पाइयो । लाइसेन्सको त्यस बेला यस्तै ५/७ रुपैयाँ लिएको जस्तो लाग्छ उहाँलाई । त्यस बेला लाइसेन्समा फोटो टाँस्ने चलन थिएन । सानो एउटा किताबमा नेपाली कागजमा लेखेर दिने चलन थियो ।

मोटरसाइकल तथा केही गाडी भए पनि त्यस बेला काठमाण्डौको बाटोको अवस्था राम्रो थिएन । न्युरोड गेटदेखि भित्र आधा बाटो पिच थियो । सिंहदरबारदेखि भद्रकालीसम्म भने दुवै साइड पिच थियो । डिल्लीबजार, मैतीदेवी, कुपण्डोलका बाटाहरू हिले बाटा थिए ।

बाटोमा खासै हिँड्ने मान्छे हुँदैनथे । साइकल नै ठूलो कुरा भएको त्यो समयमा मोटरसाइकल आउँदा मान्छेले फर्केर नहेर्ने कुरै थिएन । झन् त्यसमाथि ३ सय ५० सीसीको मोटरसाइकल । गाउँतिरबाट आएका मान्छे त उभिएरै हेर्थे ।

०००

उहाँ २०३२ सालमा सेडाको काममा अमेरिका जानुभयो । अमेरिका जाँदा पहिला दिल्ली, बेलायत अनि मात्र अमेरिका पुगिन्थ्यो त्यस बेला । तीन पटक हवाईजहाज चढ्नुपर्थ्याे । उहाँलाई बेलायतमा ट्याक्सी ड्राइभरले फोन बोकेको र न्युयोर्कको एम्पाएर स्टेट भवनमा चढेर हेर्दा सबैतिर झलमल बत्ती बलेको देखेर चकित हुनुभएको थियो ।

संयोगले त्यो अमेरिका स्वतन्त्र भएको २ सयौँ वर्ष रहेछ । अनि उहाँले अमेरिका स्वतन्त्र भएको त्यो अवसरमा पिट्सबर्गको एउटा सानो डाँडोमा गएर हेर्नुभयो । त्यस बेलाका स्वतन्त्रताको अवसरमा पड्किएकाे पटका देखेर पनि उहाँ आश्चर्यचकित हुनुभएको थियो । विभिन्न अक्षर तथा आकृति भएका पटका घण्टौँ पड्किँदा उहाँलाई के मात्र भएन ।

उहाँलाई मोटरसाइकलको एकदमै साेख थियो । त्यसैले अमेरिका गएका बेला उहाँले मोटरसाइकल पसलमा गएर मोटरसाइकलका बारेमा सोधखोज गर्नुभयो । यसलाई कसरी नेपाल लान सकिन्छ भनेपछि पहिले जापान पठाएर त्यहाँबाट नेपाल पठाउने कुरा भयो । अमेरिकाबाट करिब ३ महिनामा मोटरसाइकल कलकत्ता आइपुग्यो र त्यहाँबाट वीरगञ्ज भन्सार हुँदै काठमाण्डौ आइपुग्यो । यो सबै गर्दा उहाँको बेन्ले १ सय सीसीको मोटरसाइकलको दाम ११/१२ हजार रुपैयाँ पर्न आयो । पछि त्यो मोटरसइकल उहाँले १३/१४ हजार रुपैयाँमा बेच्नुभयो । त्यस बेला गाडीको मूल्य नै १५/१६ हजार रुपैयाँ पर्थ्याे । तर उहाँले त्यति पैसामा गाडी आउँछ भन्ने ज्ञान नभएका कारण मोटरसाइकल मगाउनुभएको रहेछ ।

०००

त्यस बेला न्युरोडमा एउटा पेट्रोल पम्प थियो । पेट्रोल लिटरमा नभएर ग्यालेनमा बेचिन्थ्यो । एक ग्यालेनको त्यस्तै ५/७ रुपैयाँ थियो । न्युरोडमा पेट्रोल बेच्ने डिल्लीबजारका जोशीहरूको नाम नै आयल स्टोर थियो । पेट्रोल पम्प अहिलेको जस्तो नभएर ड्रममा राखेर बेचिन्थ्यो । ड्रमबाट हातले घुमाउने मेशिनले तानेर ग्यालेनमा भर्ने गरिन्थ्यो ।

पहिले पेट्रोल बोकाएर ल्याउने समयमा मजिस्ट्रेट अफिसले कुपन दिन्थ्यो र बल्ल पेट्रोल हाल्न पाइन्थ्यो । काठमाण्डौ मजिस्ट्रेटमा निवेदन दिएर फलानोलाई यति ग्यालेन दिनु भनेपछि बल्ल किन्न पाइन्थ्यो । त्यस बेला मोटरसाइकल बनाउने अहिले जस्तो पसल थिएन र मिस्त्रीहरू पनि थिएनन् । यहाँका कौ अर्थात् फलामको काम गर्नेहरूले मोटरसाइकल बनाउँथे । उनीहरूले राणाहरूको थोत्रो मोटरसाइकल ल्याएर चल्ने बनाउँथे ।

२०२० सालमा उहाँले टीसीएनमा काम गर्दा उहाँको अन्दाजमा काठमाण्डौमा करिब १ सय वटा मोटरसाइकल थिए । सडकमा आधा घण्टा उभिँदा पनि एउटा मोटरसाइकल देख्न गाह्रो थियो । त्यो समयमा मोटरसाइकल चढेर हिँड्दाको रवाफ नै बेग्लै थियो । २०२७ सालमा ३ सय ५० सीसीको प्लानेटा चढेर हिँड्दा कस्तो हुन्थ्यो होला केवल अनुमान गर्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया