मनसुनी वर्षाले दाङमा ४ हजार ७ सय परिवार प्रभावित

 कात्तिक २, २०७९ बुधबार २०:९:२४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दशैँ अवधिभर परेको पानीले दाङमा चार हजार सात सय ४४ परिवार प्रभावित भएका आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । 

वर्षापछिकाे बाढी, पहिरो र डुबानले एक हजार पाँच सय ६६ घर बस्नै नमिल्ने गरी भत्किएको र तीन हजार एक सय ७८ घर केही मात्रामा भत्किएको तथ्याङ्क अहिलेसम्म सङ्कलन भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिनुभयाे । 

बाढी र पहिरोमा परी नाै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यस्तै बाढी र डुबानमा परी झन्डै दुई हजार सात सय पशुचौपाया मरेका र एक हजारभन्दा बढी घाइते भएका तथ्याङ्क आएकाे सहायक प्रजिअ अधिकारीले बताउनुभयाे । 

दाङका १० पालिकामध्ये देउखुरीका चार वटा पालिकामा सबैभन्दा बढी क्षति भएको छ । देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घरमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवार विस्थापित भएका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लाको राजपुर गाउँपालिकामा तीन सय २५, बङ्गलाचुली गाउँपालिकामा तीन सय, लमही नगरपालिकामा दुई सय ६५, गढवा गाउँपालिकामा दुई सय ५४ र राप्ती गाउँपालिकामा एक सय २० घर भत्किएका छन् । यस्तै घोराही उपमहानगरपालिकामा ८०, तुलसीपुर उपमहानगरपालिकामा ९७, बबई गाउँपालिकामा ७०, शान्तिनगर गाउँपालिकामा ४४ र दङ्गीशरण गाउँपालिकामा ३० घरमा क्षति पुगेकाे छ । 

बाढी, पहिरो र डुबानमा परेर पीडित भएकाहरूलाई राहत वितरणको काम पनि चलिरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । अहिलेसम्म १७ लाख रुपियाँभन्दा बढीकाे राहत वितरण भइसकेको र वितरण कार्य जारी रहेको कार्यालयले जनाएको छ । राहत वितरणमा एकरूपता कायम गर्न सम्बन्धित क्षेत्रको पालिकाबाट मात्रै राहत वितरण गर्ने निर्णय गरिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । 

बाढी र डुबानले किसानले लगाएका धानबालीमा पनि ठूलो क्षेति पुर्‍याएकाे छ । अन्य क्षेतिको विवरण सङ्कलन भएरहेको सम्बन्धित पालिकाहरूले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • नारायण भण्डारी

    Oct. 19, 2022, 8:34 p.m.

    सैनामैना-२ रुपन्देहीमा आज दिउँसो ठूलो पानी परेकाले किसान हरुलाइ पोहोर कै समस्या दोहोरिने चिन्ता छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया