एपीएफले जित्याे पुरुष फुटबलकाे स्वर्ण

 कात्तिक ३, २०७९ बिहिबार १८:११:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा स्तब्ध बनाउँदै सशस्त्र प्रहरीकाे एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । आज बिहीवार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा एपीएफले आर्मीलाई पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो ।

यसअघि निर्धारित ९० मिनेट र थपिएकाे ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित भएका दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल भएको थियो । खेल अवधिभर एपीएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौला अवसर बनाए पनि सदुपयोग गर्न चुकेको थियो ।

यस्तै आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो । यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ ।

यस्तै कास्य पदकका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो । गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो ।

अन्तिम अपडेट: चैत २७, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया