काठमाण्डौ ४ र ५ : गगनलाई राजनको र ईश्वर–प्रदीपलाई स्वतन्त्रको चुनौती

 कात्तिक २७, २०७९ आइतबार ११:३८:२९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

यसपटकको चुनावमा पनि काठमाण्डौ ४ मा पुरानै प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गगन थापा तथा एमालेका राजन भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । थापा तेस्रो पटक जितेर आफूलाई देशको प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरिरहनु भएको छ भने भट्टराई आफ्नो हारको बदला लिने दाउमा हुनुहुन्छ ।

संविधान सभाका दुई निर्वाचनमा काठमाण्डौको यस क्षेत्रमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । पहिलो संविधान सभा चुनावमा कांग्रेसकी सुप्रभा घिमिरेले वर्तमान राष्ट्रपति तथा तत्कालीन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई र दोश्रो संविधान सभा चुनावमा  गगन थापाले एमालेकै निर्मल कुइँकेललाई हराउनु भएको थियो ।

२०७४ सालको चुनावमा भने गगन थापाले वाम गठबन्धनबाट उम्मेदवार बनेका राजन भट्टराईलाई हराउनु भएको थियो । अहिले पनि उहाँहरु दुवैबीच यसै क्षेत्रमा प्रतिस्पर्धा रहेको छ । २०७४ को चुनावमा थापाले भट्टराईलाई ७ हजार भन्दा बढीको मतान्तरले पराजित गर्नु भएको थियो ।

तर, अहिले सन्दर्भ बदलिएको छ । त्यसबेला भट्टराईलाई भोट हालेको माओवादी केन्द्रले यस पटक गठबन्धनमा थापालाई भोट हाल्नेछ । यस अर्थमा पनि थापा जितको नजिक रहेको कांग्रेसका नेता कार्यकर्ताको विश्लेषण छ । तर, प्रत्यक्ष चुनाव नजिते पनि आफ्नो बौद्धिक व्यक्तित्वका कारण समानुपातिकबाट संविधान सभा सदस्य बनेका भट्टराईलाई बलियो प्रतिस्पर्धीको रुपमा नै कांग्रेसले पनि लिने गरेको छ । काठमाण्डौ ४ मा थापा र भट्टराईको चर्चा चलिरहँदा विवेकशील साझा पार्टीकी युवा उम्मेदवार सुबुना बस्नेत पनि कम चर्चामा हुनुहुन्न ।

युवा पुस्ताको राजनीतिमा बेग्लै आकर्षण बनाएका थापालाई पनि यसपटक पहिले जस्तो फराकिलो मतान्तर नहुने देखिन्छ । केन्द्रीय राजनीतिमा धावा बोल्न सक्ने अवस्थामा रहे पनि कपन सडक तथा अन्य पूर्वाधारमा ध्यान नदिएको त्यहाँका नागरिकको गुनासो छ । यसकारण पनि जित्नका लागि पनि ठूलो मेहनत गर्नुपर्ने देखिन्छ । यसमा भट्टराईको व्यक्तित्व, पहुँच तथा विषयमाथि राख्न सक्ने आफ्नो स्पष्ट दृष्टिकोण पनि कारण देखिन्छ ।

युवा तथा वैकल्पिक राजनीतिको लहर चलेका कारण विवेकशील साझाकी उम्मेदवार सुबुना बस्नेतको पनि युवामा राम्रै आकर्षण छ । बस्नेतको चुनाव नै आफ्नो पक्षमा पार्ने स्थिति नभए पनि त्यो मतले हारजितको मतान्तरमा भने राम्रै प्रभाव पार्ने देखिन्छ ।

यस क्षेत्रमा काठमाण्डौ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० रहेका छन् । यसैगरी बुढानीलकण्ठ नगरपालिकाका १ र २ का साथै ८ देखि १३ नम्बर वडा रहेकाृ यस क्षेत्रमा केही वडामा राप्रपाको पनि राम्रै उपस्थिति रहेको छ ।

कोही कार्यकारी बन्ने र कोही राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव राख्ने दाउमा रहेको ४ नम्बर क्षेत्रमा त्यहाँका नागरिकको भने आफ्नै गुनासो छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डीखाटारका दीपक ढुंगानाका अनुसार बत्ती, बाटो, स्वास्थ्य, शिक्षा जस्ता कुराको समस्या नभए पनि यस क्षेत्रमा खानेपानीको भने राम्रै समस्या छ । बोरिङको पानी पिउनु पर्ने र घरघरमा धारो नभएको अवस्था छ अहिले त्यहाँ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले भोट माग्न आउनेहरु कानुन बनाउन जाने भए पनि उहाँहरुको सरकार बन्यो भने यो ठाउँमा अन्य समस्या नभए पनि पानीको समस्या भएकोले समाधान गर्न मेरो आग्रह छ ।’

यसै क्षेत्रका बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ का बेसनाथ भट्टराई यहाँ समस्या धेरै रहेकोले सतहमा बसेर हेर्ने कि केलाएर हेर्नेमा भर पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौका जनता काकाकुल भएको एक वर्ष भयो । मेलम्ची थुनेको एक वर्ष भयो । अब काठमाण्डौका जनताले के हेरेर भोट दिने ?’

काठमाण्डौ ५ मा युवा पौडेल र पाका पोखरेललाई स्वतन्त्रको चुनौती

काठमाण्डौ ५ मा यसै क्षेत्रका निवर्तमान सांसद तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र विद्यार्थी आन्दोलनबाट आएका कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यसै क्षेत्रमा ह्याट्रिक गर्ने साेचमा रहेका रहेका पोखरेललाई संसद छिर्ने दाउमा रहेका पौडेलले राम्रै चुनौती दिने देखिन्छ । २०७४ सालमा कांग्रेसका प्रकाशशरण महतलाई झण्डै १० हजारको फराकिलो मतान्तरले विजयी भएका पोखरेल यसै क्षेत्रमा लामो समयदेखि नागरिकका साथमा काम गर्दै आएको र केन्द्रीय राजनीतिमा पनि राम्रै पहुँच भएका कारण पोखरेलको जित हुनेमा आशावादी देखिन्छ एमाले । अर्कोतर्फ युवा नेतृत्व, राजनीतिमा अहिलेसम्म कुनै दाग नलागेको र कांग्रेसको राजनीतिमा संस्थापनसँग राम्रो पहुँच भएका कारण पौडेलको जित देख्छन कांग्रेसीहरु ।

तर, पोखरेल र पौडेललाई यस पटक यस क्षेत्रका स्वतन्त्र युवा उम्मेदवारको पनि राम्रै चुनौती देखिन्छ । पहिले विवेकशील साझाबाट काठमाण्डौ मेयरकी प्रतिस्पर्धी रञ्जु दर्शना तथा अभियन्ता हेमराज थापा पनि अहिले यस क्षेत्रमा उम्मेदवार बनेका छन् । वैकल्पिक राजनीति र युवा तथा स्वतन्त्रको लहर चलेका कारण पनि उनीहरुको उपस्थितिलाई कम आँक्न नमिल्ने देखिन्छ ।

७० हजार भन्दा केही बढी मतदाता रहेको ५ नम्बर क्षेत्रमा काठमाण्डौ महानगरको २,३,४ र ५ नम्बर वडा, टोखा नगरपालिकाको २,३,४,५,६ र ७ नम्बर वडा तथा बुढानिलकण्ठ नगरपालिकाको ३,४,५,६ र ७ नम्बर वडा पर्छन् । गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमाले सत्तागठबन्धनभन्दा केही अघि देखिन्छ यस क्षेत्रमा । एमालेले १९ हजारभन्दा धेरै मत पाउँदा सत्तागठबन्धले १७ हजारभन्दा बढी मत पाएको छ ।

मतको विश्लेषण र नेताहरु चुनाव जितेर राजनीतिमा आफ्नो पकड बनाउने सुर कसिरहँदा जो नेता आए पनि यस क्षेत्रको समस्याका बारेमा जिम्मेवार नभएको यहाँका नागरिकको गुनासो छ ।

टोखा नगरपालिका वडा नम्बर नम्बर ५ का सन्तोष मोक्तान यस क्षेत्रमा स्वास्थ्य, शिक्षा जस्ता आधारभूत कुरामा समस्या रहेको बताउनुहुन्छ । उहाँका अनुसार सरकारले पैसा हुने र धनीका लागि मात्र अनुकुल हुने व्यवस्था गरेको छ । उहाँ भन्नुहुन्छ, ‘हामी जस्ता बेरोजगार तथा पहुँच नभएकालाई सरकारले हेरेको छैन । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरा गरिबको पहुँचमा छैन ।’

यसै क्षेत्रकी मनिता लुँइटेल भने अहिलेका पाका नेता नै सबैभन्दा समस्या रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ बाटोको समस्या छ । धुलो उडेर बसिसाध्य छैन । साथै सरकारी स्कूलमा पनि राम्रो पढाइ सरकारी अस्पतालमा राम्रो स्वास्थ्य सुविधा तथा देशमा बेरोजगारी समस्याको समाधान हुनुपर्यो ।’ 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया