ललितपुर - ३ मा तोसिमा कार्कीको चर्चा चुलिँदो, भुसाल र खड्कालाई बलियो चुनौती

 कात्तिक २९, २०७९ मंगलबार १२:३९:१७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विपरीत सर्वोच्च अदालतले उम्मेदवारी कायमै रहने आदेश दिएपछि ललितपुर ३ को चुनावी चर्चा झनै चुलिएको छ । यसले कार्की र ललितपुर ३ झनै चर्चामा रहे ।

आयोगको निर्णय र अदालतको आदेशले कार्कीलाई ललितपुर ३ मा बलियो प्रतिस्पर्धीको रुपमा उभ्याइदिएको छ । २०६४ तथा २०७४ सालको चुनाव जितेर यस पटक ह्याट्रिक गर्ने सुरमा रहेकी माओवादीकी पम्फा भुसाल र संसदतर्फको आफ्नो पहिलो यात्रा बढाइरहेका एमालेका अमृत खड्कालाई कार्कीको उम्मेदवारी बलियो चुनौतीको रुपमा खडा भएको छ ।

२०७४ सालको संसदीय चुनावमा २४ हजार ३६ मत ल्याएर भुसाल विजयी हुँदा कांग्रेसका मदनबहादुर अमात्य २२ हजार ३ सय २८ मत ल्याएर पराजित हुनुभएको थियो । २०७४ सालमा भुसाललाई एमालेको पनि साथ रहेको थियो । तर, यसपल्ट भने एमाले प्रतिस्पर्धीको रुपमा छ । हुन त गठबन्धनमा यसपटक माओवादीले कांग्रेसको साथ पाउने आशा गरे पनि गठबन्धन भन्दैमा कांग्रेसको मत एकतर्फी रुपमा माओवादीलाई नै जानेमा माओवादी पनि पूर्णरुपमा विश्वस्त छैन । यसकारण पनि भुसाल यसअघिको संसदीय चुनावमा जति ढुक्क देखिनुहुन्न अहिलेको चुनावमा ।

हस्तकला महासंघका उपाध्यक्ष तथा निर्यात व्यवसायी महासंघका सचिवसमेत रहनु भएका खड्का २०५४ सालमा सबैभन्दा कम उमेरमा ललितपुरको सैँबु गाविसको अध्यक्ष बन्नु भएको थियो । पार्टीमा इमानदार र स्वच्छ छविको नेताको पहिचान बनाउनु भएका खड्कालाई ललितपुर ३ मा धेरै बाहिरिया उम्मेदवार आएर जित्ने अनि काम नगर्ने भन्ने आरोप लागेपछि पनि स्थायी बासिन्दा भएका कारण पार्टीले यस पटक उम्मेदवार बनाएको हो । तर, पार्टीभित्रको विवाद अनि सत्तागठबन्धनका कारण पनि उहाँलाई चुनाव जित्न भने त्यति सजिलो छैन । तर, ठूलो पदमा बसेर काम नगरेका कारण परीक्षण नभएको अनि युवा, व्यवसायी, स्थानीय तथा स्वच्छ छवि भएका कारण पनि उहाँ प्रतिस्पर्धामा भने अगाडि नै हुनुहुन्छ । यो नै उहाँलाई जितसम्म पुर्याउन सक्ने आधार हुनेमा एमालेका कार्यकर्ताको विश्वास छ ।

दुई/दुई पटक यसै क्षेत्रबाट संसदमा प्रतिनिधित्व गरेको र पहिले पनि धेरै पटक मन्त्री र अहिले पनि ऊर्जामन्त्री रहनु भएकी भुसाललाई भने बाहिरिया र यस क्षेत्रको विकासमा खासै चासो नराखेका कारण पनि यस क्षेत्रका मतदाता रुष्ट देखिन्छन् । सातदोबाटोदेखि चापागाउँ हुँदै हेटौँडा जोड्ने छोटो र सजिलो बाटोको रुपमा चिनिने कान्ति राजपथ, गोदावरी सडक, भैँसीपाटीको सडक अनि खानेपानीलगायतका मुद्दामा खासै चासो नदिएको र फास्ट ट्रयाक निर्माणका सन्दर्भमा भएको खोकनाको जग्गा विवादकाबारे खासै चासो नदिएको आरोप उहाँमाथि लाग्ने गरेको छ । यति मात्र होइन खोकना जग्गा विवादका क्रममा भुसाल प्रवेश निषेधित क्षेत्र भनेर बुंगमती र खोकना क्षेत्रमा पोस्टर टाँसेर उहाँलाई छिर्न नदिने अभियान नै चलाइएको थियो ।

यस्ता विविध कारण र माओवादीको राम्रो सांगठनिक पकड नभएका कारण पनि यसपटक उहाँलाई चुनाव जित्न धेरै गाह्रो पर्ने माओवादीकै कार्यकर्ताको पनि विश्लेषण पनि छ । यसै क्षेत्रका सुनाकोठीका प्रदेश सभाका निवर्तमान सांसद तथा ३ ‘क’ का उम्मेदवार राजकाजी महर्जनको दरिलो साथका कारण स्थिति केही सहज देखिए पनि अन्य क्षेत्रमा भने माओवादीको राम्रो पकड नहुनु र उहाँको व्यक्तिगत छवि पनि मतदाता माझ त्यति सकारात्मक नभएका कारण यसपटक उहाँलाई ह्याट्रिक गर्न मुश्किल पर्ने देखिन्छ ।

अहिले भुसाल र खड्कालाई चुनौती बनेर देखापरेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको कुरा गर्दा मनोनयन र त्यसपछिका दिनमा पनि खासै चर्चा थिएन । स्वतन्त्र र युवाको लहर चले पनि कार्की सुरुका दिनमा खासै प्रभावकारी देखिनु भएको थिएन । तर, निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि भने उहाँको चर्चा ह्वात्तै बढ्यो । र, उम्मेदवारी दर्ता अगाडि नै उहाँले आयोगमा आफू उम्मेदवार हुन पाउने नपाउने सन्दर्भमा आयोगको निर्णय माग्दै दिएको निवेदन सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि मतदाताको मनमा आयोगले त्रुटिपूर्ण काम गरेको भन्ने छाप पर्न गयो । त्यसमा अदालतले उहाँको उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएपछि यो सन्देश झन व्यापक बन्दै गयो । र, उहाँले विभिन्न सञ्चार माध्यममा आफू दुई/दुई पटक उम्मेदवार बन्न पाएको कुरालाई सार्वजनिक गर्दै प्रचार गरेपछि यसले व्यापकता पायो र एउटा लहर नै चल्यो ।

अझ यसमा आयोग आफ्नो निर्णयको बचाउ गर्दै पुनः अदालत गएपछि आयोग एउटा व्यक्तिको पछाडि हात धोएर पछि लागेको भन्ने आरोपसमेत लाग्यो । तर, आयोगले यसका बारेमा लाभको पदका बारेमा सधैँका लागि स्पष्ट हुन खोजेर अदालत गएको स्पष्टोक्ति दिइसकेको छ । यति हुँदाहुँदै पनि अदालतले आफ्नो अन्तरिम आदेशलाई कायम राख्दै मेडिकल काउन्सिल सदस्यका रुपमा कहिलेकाहीँ बैठकमा उपस्थित भएर लिएको भत्तास्वरुपको रकमलाई लाभको पदको रुपमा नरहेको स्पष्ट पार्दै निर्णय गरेपछि कार्कीलाई भने यो चुनाव जित्ने एउटा राम्रो अवसरका रुपमा पनि प्राप्त भएको छ । यसले उहाँको पक्षमा जनमत बढेको देख्न पनि सकिन्छ । र, केही अघिसम्म त्यस्तो ठूलो प्रतिस्पर्धीको रुपमा नदेखिएकी कार्की अहिले भने भुसाल र खड्काका लागि राम्रै चुनौती बनेर देखा पर्नु भएको छ ।

९४ हजार मतदाता रहेको ललितपुर क्षेत्र नम्बर ३ मा गोदावरी नगरपालिकाका वडा नम्बर १२ र १४ साथै ललितपुर महानगरका १, २, ३, ४ र ५ तथा १० अनि १३, १४ र १५ साथै १८ त्यस्तै २० देखि २९ नम्बर वडा पर्छन् ।

पालिका चुनावको मतपरिणाम अनुसार यहाँ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन् । वडाध्यक्षले पाएको मतमा कांग्रेसको १९ हजार ७ सय ४४, एमालेको १९ हजार ७ सय ११, माओवादीको ७ हजार ९ सय ५८, एकीकृत समाजवादीको ५ हजार १ सय २९, राप्रपाको ४ हजार ४ सय ४० र स्वतन्त्रको ३ हजार ५ सय ६६ मत छ ।

पालिक चुनाव र संसदीय चुनावमा धेरै फरक भएकोले यही मतका आधारमा को विजयी हुन्छ भन्नुभन्दा पनि यसबाट केही विश्लेषण भने पक्कै गर्न सकिन्छ । यस आधारमा भन्नुपर्दा अहिले चुनाव यसै भन्न नसकिने र राम्रै त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ ।

ललितपुर ३ नम्बर क्षेत्रमा यसअघि २०४८ सालमा जनमोर्चाका लिलामणि पोखरेल तथा २०५१ र २०५६ मा एमालेका रघुजी पन्त त्यस्तै २०६४ मा माओवादीकी पम्फा भुसाल अनि २०७० मा कांग्रेसका मदन अमात्य हुँदै २०७४ पुनः भुसाल नै निर्वाचित हुनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया