गोकुल बाँस्कोटा : स्थापित पत्रकारदेखि 'विवादित' मन्त्रीसम्म

 मंसिर ९, २०७९ शुक्रबार १३:११:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – काभ्रे क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।

उहाँले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँ ५ हजार ८ सय ६३ मतान्तरले पराजित गर्नुभएको हो । हुमागाईँले ३९ हजार ५ सय ८२ मत प्राप्त गर्नुभयो । उहाँले २०७४ सालको चुनावमा पनि काभ्रे क्षेत्र नम्बर २ बाट नै चुनाव जित्नुभएको थियो । 

अहिले नेकपा एमालेको पोलिटब्युराे सदस्य र काभ्रे जिल्ला इन्चार्ज समेत हुनुहुन्छ । 

२०२३ सालमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ मा जन्मनु भएका बाँस्कोटाले डेडीथुम्का उच्च माविबाट एसएलसी, रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह तथा रत्न राज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गर्नु भएको हो । 

२०३८ सालमा अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएका बाँँस्कोटा २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ सालमा जिल्ला अध्यक्षमा निर्वाचित हुनुभयो । २०४५ सालमै युवा संघको सदस्य बन्नुभएका बाँस्कोटा २०४७ सालदेखि २०५० तथा २०५४ देखि २०५८ सालसम्म नेकपा एमाले काभ्रेको जिल्ला कमिटी सदस्य हुनुभयो ।

यस्तै २०५३ सालदेखि २०५९ सालसम्म काभ्रे काठमाण्डौ सम्पर्क मञ्च  जिल्ला कमिटीको सचिव बन्नुभयो । २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटी काभ्रेको सहसचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव हुनभयो ।

२०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला कमिटीको अध्यक्ष बन्नुभएका बाँस्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै पोलिटब्युरो सदस्य बन्नु भएको थियो । २०७४ साल मङ्सिरमा भएको निर्वाचनबाट उहाँ सङ्घीय सांसद बन्नुभयो ।

पत्रकारिता क्षेत्रमा पनि स्थापित बाँस्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुनुहुन्छ । उहाँले नेकपा एमाले प्रचार विभागको सदस्य तथा नेपाल पत्रकार महासङ्घ काभ्रेको सदस्यको रूपमा समेत काम गरिसक्नु भएको छ ।

लामो समय मिडिया क्षेत्रमा सक्रियतापूर्वक काम गर्नुभएका उहाँले विभिन्न साप्ताहिक पत्रपत्रिकाहरूमा प्रमुख सम्पादक, कार्यकारी सम्पादक, समाचारदाता भएर काम गर्नु भएको छ । २०५१ सालदेखि २०५२ सालसम्म रेडियो नेपालको कार्यक्रम घटना र बिचारमा पनि बाँस्कोटाले काम गर्नु भएको थियो ।

२०७४ चैत २ गतेदेखि २०७५ वैशाख १७ गतेसम्म सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहँदै २०७५ वैशाख १८ गतेदेखि २०७६ फागुन ८ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्नुभयो । बाँस्कोटाले केही समय सहरी विकास मन्त्रीको रूपमा पनि कार्यभार सम्हाल्नु भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोडको बार्गेनिङ अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया