स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल

 मंसिर १४, २०७९ बुधबार ८:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – स्याङ्जा-२ र बाजुरामा पुनः मतदान वा गणना भन्नेमा अन्यौल भएको छ ।  यी दुई क्षेत्रमा के गर्ने भन्नेमा निर्वाचन आयोगले पनि निर्णय  गर्न सकेको छैन ।

हिजो बैठक बसे पनि कुनै निष्कर्ष निस्कन सकेन । आज फेरि बैठक बस्ने तयारी छ । आयुक्तहरूबीच नै राय बाझिँदा निर्णय हुन नसकेको हो । बैठकको सुरुवातमा स्याङ्जा-२ र बाजुरा गएको आयोगको टोलीले प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदनमा विवादित क्षेत्रको वस्तुस्थिति, विभिन्न पक्षको भनाइ जस्ताको–तस्तै राखिएको थियो । तर, टोलीले दोलखामा जस्तो पुनः मतदानको सिफारिस भने गरेको थिएन ।

वस्तुस्थितिसहितको प्रतिवेदन बुझाएको टोलीले निष्कर्ष निकाल्ने र निर्णय गर्ने जिम्मा भने आयुक्तहरूलाई छोडेको थियो । निष्कर्षसहितको प्रतिवेदन नआउँदा पुनः मतदान कि गणना भन्नेमा आयुक्तहरू बाझिएका थिए । केही आयुक्तले स्याङ्जामा ज्यान गुमाइसकेकालाई पनि भोट हालेको भन्ने आएकाले त्यस्तो मतलाई कसरी सदर मान्न सकिन्छ भनेर तर्क गरेका थिए भने केही आयुक्तले मतपेटिका उठाउँदासम्म दलहरूकै सहमतिमा प्रतिनिधिले हस्ताक्षर गरेर उठाएको, मतदान तथा निर्वाचन अधिकृतबाट कुनै कैफियत नभएको र गणनाको समयमा झमेला गरिएको भन्दै गणना अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।

दुवै प्रतिवेदनमा आयुक्तहरूको मत बाझिएपछि प्रमुख आयुक्त दिनेश थपलियाले बैठक स्थगित गर्नु भएको थियो । बैठक आज बिहान ११ बजे फेरि बस्दै छ । दोलखामा भने आयोगले पुनः मतदान गर्ने निर्णय गरिसकेको छ । दोलखामा भोलि पुनः मतदान हुँदैछ ।  
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया