यस्तो हुनसक्छ नयाँ सरकार गठनको अङ्कगणित

 मंसिर २३, २०७९ शुक्रबार १२:१०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चुनावको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ । खासगरी मुख्य दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाब–किताबमा जुटेका छन् ।

आपसी भेटघाट, छलफल र कुराकानी सुरु भएको छ । कुल २ सय ७५ जना सांसदमा प्रत्यक्षबाट १ सय ६५ जना निर्वाचित भैसकेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जनाको नाम दलहरुले भोलि दिउँसो ४ बजेसम्ममा बुझाउनुपर्नेछ । यो सँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुनकुन दल मिलेर सरकार बन्छ भन्ने चासो पनि बढ्दै गएको छ ।

यस पटकको संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व भएको छ भने पाँच जना स्वतन्त्र सांसदहरुले पनि चुनाव जितेका छन् । यसरी हेर्दा नयाँ सरकार बनाउनका लागि धेरै चुनौती देखिएको छ र धेरै अवसर पनि ।

नयाँ सरकार गठन गर्ने अङ्कगणितीय अवसर

संसदमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ ।

समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ । कांग्रेसको कुल सांसद ८९ हुनेछन् । त्यस्तै नेकपा एमालेको प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट पुगेको छ ।

नेकपा माओवादी केन्द्रको भने  १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ ।

यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ ।

यिनै ७ पार्टीले थ्रेसहोल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् ।

समानुपातिकबाट सिट नपाए पनि नेकपा (एकीकृत समाजवादी) को १० सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिट र स्वतन्त्र सांसदहरु ५ सिटको सङ्ख्यामा छन् ।

संसदको अंक गणित हेर्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसको कुल सिट सङ्ख्या ८९ छ । स्वभाविक रुपमा संसदको पहिलो ठूलो दलले सरकारको दाबी गर्नेछ । र आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ ।

सोमवार मात्र गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेको अवस्थामा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यसो हुँदा पनि गठबन्धनलाई सहज बहुमत पुग्दैन ।

नेपाली कांग्रेसको नेतृत्वमा पहिलो विकल्प 

नेपाली कांग्रेसको ८९ सिट, नेकपा माओवादी केन्द्रको ३२, नेकपा (एकीकृत समाजवादी) को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा १ सय ३६ सिट पुग्छ ।सरकार गठनका लागि चाहिने बहुमत सङ्ख्या १ सय ३८ हो । यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ । यसमा स्वतन्त्रबाट विजयी दुई सांसदलाई समावेश गराउन सकेमा बहुमत पुग्छ । अनि सरकार बन्न सक्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो विकल्प

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा १ सय ६५ सिट सङ्ख्या पुग्छ । यसो हुँदा बहुमतको सरकार बन्न सक्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा तेस्रो विकल्प

अर्को, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलाउँदा १ सय ५२ सिट पुग्छ । सरकारको गठनको यो अर्को सम्भावना हो ।

नेपाली कांग्रेसको नेतृत्वमा चाैँथो विकल्प

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १ सय ४३ सिट पुग्छ । यसो हुँदा नेकपा माओवादी केन्द्रलाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा पाँचौं विकल्प

अर्को नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको १ सय ४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्काे सम्भावनाको रुपमा लिन सकिन्छ । गठबन्धनमा स्वतन्त्र सांसदहरुको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ ।

नेकपा एमालेको नेतृत्वमा पहिलो विकल्प

दोस्रो दल बनेको नेकपा एमाले पनि सरकार गठनको लागि अङ्कगणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरुले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी गर्दा १ सय ३४ सिट पुग्छ । सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरुको सहयोग लिनुपर्ने हुन्छ ।

नेकपा एमालेको नेतृत्वमा दाेस्रो विकल्प

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १ सय ४६ सङ्ख्या पुग्छ । जुन सङ्ख्याले सहजै सरकार गठन गर्न पुग्छ ।

नेकपा एमालेको नेतृत्वमा तेस्रो विकल्प

अर्को, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १ सय ३४ सिट पुग्छ । यसमा ५ सिट स्वतन्त्र सांसदहरुको सहयोग अनिवार्य छ ।

नेकपा एमालेको नेतृत्वमा चौथो विकल्प

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १ सय ४५ सिट सङ्ख्या पुग्छ र सरकार गठन गर्न सकिन्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको विकल्प

अर्को अत्यन्तै सहज विकल्पको रुपमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनाउँदा १ सय ६७ सिट पुग्छ । सहजै सरकार बनाउन सकिन्छ । 

यद्यपि सङ्घीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरु राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा उपाध्यक्ष जस्ता पदहरुमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरुलाई छ ।

सातै वटा प्रदेश सरकार गठन गर्न सहज हुनेगरी पनि सङ्घीय गठबन्धन गर्न दलहरु अग्रसर हुन्छन् । यसले गर्दा कुन–कुन पार्टी मिलेर सरकार बनाउनेछन् चासोकै विषय छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया