ग्वार्को फ्लाईओभर : यसरी हुँदैछ काम

 मंसिर २८, २०७९ बुधबार १२:५४:२७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

प्लाईओभरकाे 'डिजाइन'

कोटेश्वरदेखि कलङ्कीसम्म चक्रपथ विस्तारको काम सम्पन्न भएपछि यसै योजना अन्तर्गत ग्वार्को, सातदोबाटो तथा एकान्तकुना जस्ता व्यस्त चोकहरुमा फ्लाईओभर निर्माणको योजना रहेको थियो । अहिले ग्वार्कोमा फ्लाईओभर बनाउने काम सुरु भएको छ । ग्वार्को चोकमा बन्दै गरेको फ्लाईओभर नेपाल  सरकारको १७ करोड रुपैयाँको लागतमा बन्न लागेको हो ।

सडक विभाग अन्तर्गत गुणस्तर तथा अनुन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार २०७८ माघमा सम्झौता भएर दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीलाई ठेक्का परेको छ । फ्लाईओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । निर्माण सम्पन्न भएको पाँचवर्षसम्म पनि मर्मतसम्भारको काम पनि सम्बन्धित ठेकेदार कम्पनीले नै गर्नुपर्ने शर्त छ ।

श्रेष्ठका अनुसार अहिले बन्ने फ्लाईओभरमा ग्वार्को चोकमाथि चार लेनको ३५ मिटरको समतल पुल बन्छ । पुलमा उक्लिनका लागि बिएण्डबी अस्पताल नजिकै तथा बालकुमारीमा र्याम निर्माण हुन्छ । ग्वार्को चोकबाट सातदोबाटोतर्फको लम्बाइ १ सय ८५ मिटरको हुनेछ । त्यस्तै ग्वार्को चोकबाट बालकुमारीतर्फको र्यामको लम्बाइ भने ३ सय २० मिटरको हुनेछ ।

उहाँ भन्नुहुन्छ, ‘बालकुमारीतर्फको लम्बाइ धेरै हुनु तथा सातदोबाटोतर्फको लम्बाइ कम हुनुको कारण भने सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदा त्यहाँ स्लोप धेरै भएको हुनाले लम्बाइ कम हुन आएको हो । तर, समग्र लम्बाइ भने ५ सय ४० मिटर हुन आउँछ ।’

निर्माणभन्दा पनि ट्राफिक व्यवस्थापन ठूलो चुनौती रहेका कारण अहिले निरन्तर ट्राफिक व्यवस्थापन माहाशाखाको समन्वयमा काम सञ्चालन गर्न लागिएको पनि उहाँले जानकारी गराउनु भयो ।

नेपालमा अहिलेसम्म फ्लाईओभर निर्माण नभएको र त्यस्तो अनुभव नेपाली निर्माण कम्पनीहरुसँग पनि छैन । तर, यो निर्माणको काम खासै जटिल नभएको र अन्यत्र पनि नेपाली निर्माण व्यवसायीले विभिन्न प्रकारका पुलको काम गरिसकेकोकाले खासै अप्ठ्यारो नहुने पनि श्रेष्ठको बुझाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘यो फ्लाईओभर भनिए पनि एकदम सिम्पल खालको डिजाइन हो । यसमा एउटा पुल र माटो भरेर र्याम बनाउने हो । नेपाली कन्ट्रयक्टरहरुले योभन्दा लामो लामो स्पान बनाइसकेको हुनाले यो गर्न नसक्ने भन्ने डिजाइन होइन ।’

यो माटोको र्याम भने नयाँ प्रविधिबाट बन्नेछ । नेपालमा एक/दुई ठाउँमा प्रयोग भए पनि अहिले यहाँ प्रयोग हुन लागेको कारण भने ठाउँ कम भएका कारण पनि हो । इन्जिनियर श्रेष्ठका अनुसार यो नयाँ प्रविधि हो र केही महँगो पनि छ । विदेशतिर यस्ता प्रविधिको प्रयोग धेरै भए पनि नेपालमा भने एक/दुई ठाउँमा मात्र भएको छ ।

‘स्पेस कन्जस्टेड भएर भर्टिकल्ली वाल उठाउनु पर्ने भएकोले यो प्रविधि अपनाउन लागिएको हो,’ श्रेष्ठ भन्नुहुन्छ, ‘नेपालमा पनि एक/दुई ठाउँमा यो प्रविधिको प्रयोग भएको छ । यो नयाँ टेक्नोलोजीको रिटेनिङ वाल हुन्छ ।’

ग्वार्को चोकमा हुने लामो जाम हटाउनु नै फ्लाईओभरको मुख्य उद्देश्य हो । त्यसकारण यसको निर्माणपछि जाम हट्ने विश्वास गरिएको छ । फ्लाईओभर निर्माणपछि मंगलबजारबाट इमाडोल र इमाडोलबाट मंगलबजार ओहोरदोहोर गर्ने गाडी चोकमा नरोकिकनै अहिले भएकै सडकबाट गुड्नेछन् । चक्रपथ भएर चल्ने गाडी भने माथि फ्लाईओभरबाट गुड्नेछन् । फ्लाईओभर अहिलेको चक्रपथको फास्ट ट्रयाकमा निर्माण हुने हुँदा सर्भिस लेनमा भने यथावत गाडी चलिरहन्छ ।

श्रेष्ठका अनुसार यो इपीसी मोडलको कन्ट्रयाक्ट भएका कारण यसको डिजाइन स्वयम ठेकेदार कम्पनीको रहन्छ । र ठेकेदार कम्पनीले पेस गरेको डिजाइनमा केही त्रुटि देखिएमा वा सुधार गनुपर्ने अवस्था आएमा मात्र सडक विभागले डिजाइनमा हेरफेर गर्ने गर्छ ।

ग्वार्कोमा फ्लाईओभर निर्माण सम्पन्न भइसकेपछि आउँदो आर्थिक वर्षमा सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर निर्माण अघि बढाइने योजना छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी फ्लाईओभर निर्माण गरिने पनि विभागले जनाएको छ ।

सरकारले आफ्नै लगानीमा यी तीन ठाउँमा निर्माण गर्ने योजना बनाएकोमा कोटेश्वर र बानेश्वर जस्ता अत्यधिक व्यस्त चोकमा जापान सरकारसँग फ्लाईओभर तथा सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तारबारे पनि छलफल भैरहेको छ ।

यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

फ्लाईओभर निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मङ्सिर २३ गतेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, माहलवाहक तथा दुईपाङ्ग्रे गाडीलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाउन थालिएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै गाडी ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चल्ने व्यवस्था गरिएको छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, माहलवाहक तथा दुईपाङ्ग्रे गाडी बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे गाडीलाई फास्ट ट्रयाकबाट चल्न पाउँछन् । अहिले हरेक दिन ग्वार्कोमा लामो जाम हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया