‘व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न सकेन’

 पुस ६, २०७९ बुधबार १३:२५:२१ | सुजीत झा
unn.prixa.net

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापकीय समस्या र कर्मचारी अभावका कारण मधेस सरकारले अपेक्षाकृत काम गर्न नसकेको दाबी गर्नुभएकाे छ । 

आफ्नो पाँच वर्षीय कार्यकालको बारेमा जानकारी दिन आज बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले सुरुकाे धेरै समय व्यवस्थापनमै खर्च भएको र कर्मचारीकाे अभावका कारण अपेक्षा गरेजस्ताे काम गर्न नसकेकाे बताउनुभएकाे हाे । सङ्घीय सरकारले काम गर्ने वातावरण नबनाएकाे पनि उहाँले उल्लेख गर्नुभयाे । 

मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न मधेस सरकार सफल भएकाे दाबी गर्नुभयाे । विभिन्न ऐन, कानुन निर्माणदेखि लिएर तीन वटा विश्वविद्यालय स्थापना गरि सञ्चालनमा ल्याउनु आफूहरूकाे उपलब्धि रहेको उहाँले बताउनुभयो ।

मधेस प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै उहाँले दलित, उत्पीडित समुदाय को हकमा पनि सरकारले थुप्रै काम गरेको उल्लेख गर्नुभयो । दलितप्रति कुनै प्रकारको विभेद तथा छुवाछुतको व्यवहार नहाेस् भनेर उनीहरूको उत्थानका लागि दलित विकास समिति नै गठन गरेको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘दलितका लागि रासन कार्डको व्यवस्था गर्नुको साथै उनीहरूको विकासका लागि सरकारले थुप्रै काम गरेको छ ।’ जुन समुदायको जति जनसङ्ख्या छ, त्यसले त्यति नै अधिकार पाउनुपर्ने, त्यसको त्यति नै राज्यमा प्रतिनिधित्व हुनुपर्ने काम मधेस प्रदेश सरकारले गरेको उहाँको भनाइ छ । यो काम मधेस प्रदेशबाहेक अन्य कुनै प्रदेशले गर्न नसकेको उहाँले दाबी गर्नुभयाे । 

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री राउतले शहीद परिवारको लालनपालन र सामाजिक सुरक्षाका लागि पनि सरकारले धेरै काम गरेको दाबी गर्नुभयाे । सरकारले शहीदकाे सम्मानका लागि मधेसी शहीद प्रतिष्ठान स्थापना गरेको बताउनुभयो । त्यही प्रतिष्ठानमार्फत शहीद परिवारका लागि थुप्रै काम भइरहेको र आउँदा दिनमा पनि यसलाई निरन्तरता उहाँले आउँदाे सरकारलाई सुझाव दिनुभयाे । 

मुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा प्रतिपक्षले रचनात्मक सहयोग गरेको बताउँदै प्रतिपक्षीबाट आफूले कहिल्यै पनि दबाब महसुस नगरेको दाबी गर्नुभयाे । 

जनता समाजवादी पार्टी पनि मधेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै उहाँले पाँच वर्ष सफलतापूर्वक सरकार चलाएका कारण आउने दिनमा जसपालाई पुनः अवसर प्राप्त भएमा त्यसबाट पछाडि नहट्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया