कांग्रेसले नरुचाएकै हो त पुस्तान्तरण ?

 पुस ६, २०७९ बुधबार १५:०:५७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

यस पटकको चुनावमा जनताको रुझान नयाँ तथा युवा पुस्ताको उम्मेदवारमा देखियो । तर नेपाली कांग्रेस संसदीय दलको चुनावको दृश्य भने त्यसअनुसार देखिएन । जनताले युवा तथा नयाँ पुस्तालाई रुचाउँदा त्यही जनताबाट निर्वाचित भएर आएका सांसदले भने कांग्रेस संसदीय दलको नेतामा युवा पुस्ताको नेतृत्व रुचाएको देखिएन । 

प्रत्यक्षबाट निर्वाचित ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेको कांग्रेस संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी हुँदा महामन्त्री गगन थापा २५ मत ल्याएर पराजित हुनुभएको छ । नेता शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत युवा नेताले समर्थन गरे पनि थापाको अपेक्षाअनुसारको मत आएन । 

संसदीय दलको नेताको चुनाव अगाडि संस्थापन पक्षको पक्षमा ५८ र शेखर समूहमा ३१ सांसद रहेका थिए । नेता शेखर कोइराला र थापाबीच को उम्मेदवार बन्ने छलफल चल्दै गर्दा प्रदीप पौडेललगायतका नेताहरू शेखर पक्षमा आएपछि थापाले कम्तीमा ४० प्रतिशत मत पाउने अनुमान गरिएको थियो । तर परिणाम त्यस्तो भएन । देउवा गगनले भन्दा ३९ मत बढी ल्याएर संसदीय दलको नेता चुनिनु भयो । 

चुनावपछि कांग्रेसका बहुमत सांसद संसदीय दललाई नयाँ ढङ्गले सञ्चालन गर्ने आफ्नो प्रस्तावको पक्षमा नरहेको थापाले बताउनुभयो । अपेक्षाअनुसारको मत नआएको पनि उहाँको भनाइ छ । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनका पक्षबाट महामन्त्रीको उम्मेदवार प्रदीप पौडेलसमेत अहिलेको संसदीय दलको नेताको चुनावमा खुलेर थापाको पक्षमा देखिनुभएको थियो । तर पनि थापाले सोचेअनुसारको मत प्राप्त गर्न नसक्नुमा पुस्तान्तरणको प्रयास सफल नभएको रूपमा लिनुपर्ने पौडेलको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो एउटा लोकतान्त्रिक अभ्यास हो । यसलाई यहीरूपमा बुझ्नुपर्छ । हामीले एउटा पुस्तान्तरणको अभ्यास थालेका थियौँ । हामीले त्यस निम्ति प्रयास गरेको हो । तर त्यो प्रयास यस पटक पनि सार्थक भएन ।’

यस पटकको प्रयास सार्थक नभए पनि यसलाई आउँदा दिनमा निरन्तररूपमा अगाडि बढाउँदै जाने पनि उहाँले बताउनुभयो । पौडेल भन्नुहुन्छ, ‘परिणामको कुरा नगरौँ । यो एउटा प्रक्रिया र संस्थागतरूपले अगाडि आइसक्यो ।’

पौडेलले नेपाली कांग्रेसमा पुस्तान्तरण भएको र अब नयाँ ढङ्गले काम अगाडि बढ्ने र कांग्रेसको प्राथमिकता अब नयाँ ढङ्गबाट निर्धारण हुन्छ भन्ने सन्देश दिन खोजेकोमा त्यसको निम्ति अझै प्रयास गर्नुपर्ने देखिएको बताउनुभयो ।

‘अनुमानितभन्दा कम मत आएको हो । यो विवेक प्रयोग गरेर जनताबाट विश्वास प्राप्त गरेका सांसदले गर्ने मतदानको विषय पनि हो’, उहाँ भन्नुहुन्छ, ‘परिवर्तनको पक्षमा मत नआएकोले त्यसलाई अझै सशक्त ढङ्गले अगाडि लैजानु जरुरी रहेको छ ।’

कांग्रेस संसदीय दलको नेतामा देउवा पुनः चुनिए पनि वैकल्पिक र युवा नेतृत्वको रूपमा थापा स्थापित भएको बताउनुहुन्छ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले । शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थनमा थापा संसदीय दलमा चुनाव लडेपछि यसले कांग्रेसभित्र पनि एउटा तरङ्ग उत्पन्न गरेको पनि उहाँको विश्लेषण छ । 

यस पटकको चुनावमा जनताको चाहना विशेषगरी युवा पुस्ता र नयाँ दलकारूपमा प्रतिबिम्बित भए पनि तिनै जनताबाट चुनिएर आएका सांसदको चाहना भने कांग्रेस संसदीय चुनावमा त्यस्तो देखिएन । तर नेपाली कांग्रेसको संसदीय दलको चुनावको परिणामको दृष्टिकोणले त्यो प्रतिबिम्बित नभए पनि जनताको भावना भने सम्मान भएको भनाइ छ वाग्लेको ।

उहाँ भन्नुहुन्छ, ‘गगन थापा गणितीयरूपमा तत्कालका लागि पराजित भए पनि नेपाली कांग्रेसभित्र त्यो आशाको सन्देश कायमै रहेको र यद्यपि गगनको पराजय भए पनि जनताको भावनालाई नेपाली कांग्रेस पार्टीका सांसदले सम्मान गरेको देखियो ।’

यो संसदीय चुनावले जनताको आकाङ्क्षा, भावना सम्बोधन गर्ने ठाउँ कांग्रेसभित्र रहेको र सम्भावना कांग्रेसभित्र कायमै छ भन्ने सन्देश दिएको पनि वाग्लेको भनाइ छ । कांग्रेसभित्र 'भिजन' र जनाधार दुवै भएका नेताहरूको एउटा समीकरणसमेत बनेकोले पार्टीभित्रको यो ध्रुवीकरण कायम रहेकाे खण्डमा आउँदा दिनमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने भूमिका देखिने पनि उहाँको विश्लेषण छ ।

‘यो समूह सरकार सञ्चालन र पार्टी सञ्चालनका बारे उठाउँदै आएकाे एजेन्डालाई सरकारले सम्बोधन गरेर पार्टीले अगाडि बढाउँदा समर्थन गर्ने र त्यो भावनाअनुसार सरकार र पार्टी सञ्चालन भएन भने खबरदारी गर्ने भूमिकामा रहेकाे छ’, वाग्ले बताउनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया