मधेस प्रदेशको दोस्रो कार्यकालको पहिलाे बैठक आज

 पुस १८, २०७९ सोमबार १३:१२:४० | सुजीत झा
unn.prixa.net

फाइल तस्बिर

धनुषा - मधेस प्रदेशको दोस्रो कार्यकालको पहिलो प्रदेश सभा बैठक आज सोमवार बस्दैछ । गएकाे शुक्रवार शपथग्रहण गरेका प्रदेश सांसदहरुको पहिलो बैठकमा शुभकामना आदानप्रदान हुनेछ । संवैधानिक प्रावधान अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको बैठक आह्वान गर्नुपर्छ ।

मन्त्रिपरिषद्को बैठकले १८ गते प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । मधेस प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । तीमध्ये दुईजनालाई सभासदको रुपमा शपथग्रहण गराउन सर्वोच्च अदालतले रोक लगाएको छ । अहिले १ सय ५ जना सदस्य कायम रहेका छन् ।

प्रदेश सभाका सभामुख र उप सभामुख चयन गर्न पुस ३० गते उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ । सङ्घीय सत्ता गठबन्धनकै आधारमा मधेस प्रदेशमा सरकार गठन र सभामुख, उप सभामुखको चयन हुनेछ। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले सभामुख बनेका नेकपा एसका सांसद गोविन्दबहादुर न्यौपानेले गर्नुहुनेछ । 

मधेस प्रदेशको पहिलो चरणमा जसपाको मुख्यमन्त्री रहनेछ । सभामुख एमालेले पाउने छ । एमालेले सभामुखका लागि उम्मेदवारको चयन गरिसकेको छैन् । सभामुखका लागि त्रिलोकी चौधरी, शारदा थापा र राजकुमार लेखीको नाम अगाडि सारिएकाे छ । एमालेको प्रदेश सभामा २३ जना सांसद रहेका छन् । पार्टीले उपयुक्त ठानेका सांसदलाई सभामुख चयन गरिने एमालेका युवा सांसद दीपेन्द्र ठाकुरले बताउनुभयो ।

सभामुखका लागि दलमा कुनै विवाद नहुने उहाँले दाबी गर्नुभयो । लेखी संसदीय दलको नेताका लागि इच्छुक रहेको देखिन्छ । तर उहाँले दलको नेतामा स्थान नपाए सभामुखका लागि प्रयास गर्नसक्ने बताइन्छ । सभामुखका लागि रामचन्द्र मण्डल पनि सशक्त दाबेदार हुनुहुन्छ । तर उहाँ धनुषाबाट सरकारमा जाने सम्भावना रहेको छ । प्रदेश सभामा मण्डल आर्थिक समितिका सभापति रहनुभएकाे थियाे। तर माओवादी केन्द्र परित्याग गरेसँगै उहाँको सदस्य पद खारेज गरिएको थियो ।

संघीय सत्ता गठबन्धनमा रहेका दलहरुबीच भएको सहमति अनुसार मधेस प्रदेशमा मुख्यमन्त्री जसपाले र सभामुख एमालेले पाउने सहमति भएको छ । मुख्यमन्त्री आलोपालो भनिए पनि सभामुख पाँच वर्षका लागि रहने बताइएको छ । यसअघि जसपाका नेता सरोजकुमार यादवले पाँच वर्षे सभामुखको कार्यकाल पूरा गर्नुभएकाे छ । उहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सभामुख भए पनि एकीकरण हुँदा जसपामा नै रहनुभएकाे थियाे । सभामुख र उप सभामुखमध्ये एकजना महिला अनिवार्य रहनुपर्ने प्रावधान छ । यसअघि जसपाबाट उप सभामुखमा उपमा देव रहनुभएकाे थियाे । उप सभामुखमा माओवादीको दाबी छ ।

माओवादीलाई उप सभामुख दिने सहमति भइसकेको बताइएको छ । स्रोतका अनुसार मुख्यमन्त्रीमा दाबी गरिरहेको जनमत पार्टीलाई भने पहिलो चरणमा २ वटा मन्त्रालय दिनेछ । यद्यपि जनमतले पहिलो चरणमा मुख्यमन्त्री लिने दाबी छाडिसकेको छैन । जनमतको संसदीय दलको नेतामा महेशप्रसाद यादव सर्वसम्मतले चयन भइसक्नुभएकाे छ । उहाँकै नेतृत्वमा जनमत सरकारमा जाने सम्भावना रहेको स्रोतले जनाउनु भएकाे छ । प्रदेशमा जनमत चौथो ठूलो दल बनेको छ ।

जनमतको १३ जना सांसद प्रदेशमा रहेका छन् । जसपा, जनमत र माओवादी केन्द्रले बराबरको भाग पाएका छन् । मुख्यमन्त्री लालबाबु राउतको सरकारमा माओवादी र नेकपा एस सहभागी हुनुभएकाे थियाे । एमाले प्रमुख प्रतिपक्षमा रहेका थिए । जनमत पार्टी पहिलो पटक प्रदेश सभामा प्रवेश गरेको छ ।

तत्कालीन सत्तारुढ गठबन्धनबाट जसपा बाहिरिएपछि मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुलाई हटाइएको थियो । सङ्घीय गठबन्धनमा नेकपा एसको सहभागिता अहिलेसम्म नभएकाले प्रदेश सरकारमा पनि सहभागिता हुने सम्भावना छैन् । एसको ७ जना सभासद रहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने सम्भावना छ । प्रदेशमा लोसपाको ९ जना सभासद छन् । प्रदेशमा सबैभन्दा ठूला दल रहेकाे एमाले सरकारमा सहभागी भए पनि नेतृत्व पाउने छैन ।

दोस्रो ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहनेछ । कांग्रेसकाे २२ जना सांसद छन् । नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल समाजवादी पार्टी (नेसपा) को विषयमा टुंगो लागिसकेको छैन् । नागरिक उन्मुक्ति पार्टी र राप्रपाले केन्द्रमा सरकारलाई समर्थन गरेका छन् । तर ती पार्टी सरकारमा सहभागी भइसकेको छैन ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया