धनुषा हत्या प्रकरण : ५ लाख रुपैयाँमा शुटरसँग 'डिल'

 पुस २०, २०७९ बुधबार १५:५९:२१ | सुजीत झा
unn.prixa.net

धनुषा – धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धानुक दासको हत्यामा उहाँकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय दासको गएकाे पुस १० गते आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उहाँका छोरा र ज्वाइँसहित तीन जनालाई पक्राउ गरेको छ । एक जना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराइन नगरपालिकाकाे जटहीका शुटर रञ्जित यादवलाई पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनै जनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेका प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र त्यही कारण छोरा र ज्वाइँ मिलेर धानुककाे हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयाे । 

प्रदीपले नै पाँच लाख रुपैयाँमा शुटरसँग डिल गरेर हत्या गराउन लगाएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार शुटरहरूलाई दुई पटकमा तीन लाख रुपैयाँ दिइसकिएको र दुई लाख रुपैयाँ दिन बाँकी रहेको थियो । केही दिनदेखि प्रदीप घरमै ग्यासको पसल सञ्चालन गर्दै आएका थिए । मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न गएको व्यक्तिले धानुकलाई गोली प्रहार गरी फरार भएको स्थानीयवासीले बताएका थिए । 

मृतक दासले दुई वटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट २० र १८ वर्षका दुई छोरा छन् । कान्छी श्रीमतीबाट छ महिनाकी छोरी छिन् । दास ग्यारेज र पसल सञ्चालन गर्दै आएको घरमा कान्छी श्रीमतीसँग बस्दै आउनुभएकाे थियाे भने जेठी श्रीमती भित्री गाउँमा रहेको अर्कै घरमा छोराहरूसँग बस्दै आउनुभएकाे छ । कान्छी श्रीमतीसँग पनि एउटी छ महिनाकी छोरी छिन् । दासकी कान्छी श्रीमतीले पहिलेको श्रीमानलाई छोडेर दाससँग विवाह गर्नुभएकाे थियाे । 

केही दिनयता जेठी श्रीमतीसँग दासकाे विवाद हुँदै आएको थियो । सम्पत्ति विवादकाे कारणले दुई जनाबीच विवाद हुँदै आएकाे प्रहरी अनुसन्धानमा देखिएको छ । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नुपर्ने विषयमा भएको विवाद नै दासकाे हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया