को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

 पुस २२, २०७९ शुक्रबार १५:०:५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै गण्डकी प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने चर्चा बढेको छ । प्रदेश प्रमुखले यही पुस २५ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न हिजो बिहीवार आह्वान गर्नुभएको हो । 

प्रदेश सभामा कुनै एउटा दलको बहुमत नआएपछि प्रदेश प्रमुखले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्नका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ । 

केन्द्रको गठबन्धनमा निर्णय नहुँदा गण्डकी प्रदेशमा को मुख्य मन्त्री हुने भन्ने निर्णय भइसकेको छैन । तर पनि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने चर्चा छ । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर सरकार बन्ने देखिन्छ । नेकपा एमालेबाट संसदीय दलको नेता खगराज अधिकारी हुनुहुन्छ । गण्डकीमा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ र राप्रपाका दुई जना सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्य आवश्यक पर्दछ । तीन दल मिल्दा गण्डकीमा ३२ सदस्य पुग्छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले समय अवधिभित्रै मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने बताउनुभयो । 

एमाले–माओवादीले केन्द्रको निर्णय कुरिरहेका छन् । तर सरकार बनाउन एमाले र माओवादीको आ–आफ्नै दाबी छ । माओवादी केन्द्रबाट सांसदीय दलका नेता हरिबहादुर चुमान केन्द्रले निर्णय नलिँदासम्म सरकार गठनको प्रक्रिया सुरु नहुने बताउनुभयो । उहाँले अघिल्लो पटक माओवादीले एमाले र नेपाली कांग्रेस दुवैलाई मुख्यमन्त्रीमा सहयोग गरेकाले यस पटक माओवादीलाई एमालेले सहयोग गर्ने बताउनुभयो । 

गण्डकी प्रदेशमा २७ सदस्यसहित नेपाली कांग्रेस पहिलो पार्टी हो । त्यसैगरी २२ सदस्यसहित एमाले दोस्रो, आठ सदस्यसहित माओवादी तेस्रो र राप्रपा दुई सदस्यसहित चौथो पार्टी हो । स्वतन्त्ररूपमा विजयी हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै नेकपा एकको एक सिट भएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया