उपसभामुख इन्दिरा : दुई हजारभन्दा बढी असहायकी 'आमा'

 माघ ८, २०७९ आइतबार ९:१०:५३ | रासस
unn.prixa.net

झापा - कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधि सभाको उपसभामुख बन्नुभएको छ ।

झापाको अर्जुनधारा–११ सालबाडीकी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसक्नुभएकी उहाँलाई हिजाे प्रतिनिधि सभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो । अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

बुवा स्व.प्रताप रानामगर र आमा स्व.मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा २०२७ सालमा झापाको अर्जुनधारामा जन्मनुभएकी उहाँले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाण्डौमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थाल्नुभएको थियो । उहाँलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिनुभएको थियो ।

घर छाडेर काठमाण्डाैमा पढ्न जाँदा उहाँलाई पारिजातले नै संरक्षण प्रदान गर्नुभएको थियो । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उहाँले औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको उहाँका दाजु जगत् रानामगरले बताउनुभयो । उहाँले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसक्नुभएको छ । उहाँकी एउटी छोरी सुविना राना हुनुहुन्छ ।  

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उहाँले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गर्नुभएको थियो । पारिजातसँगै कारागार जाँदा उहाँले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाउनुभएको थियो । 

उहाँले बन्दी सहायता नेपालमार्फत् झापा, पाल्पा, काठमाण्डाैलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गर्नुभयो । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गर्नुभएको उहाँले नै झापामा सञ्चालन गर्नुभएको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिनुभयो ।
 
बन्दी सहायता नेपाल (पीए नेपाल) की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उहाँ लगातार बालअधिकार र मानवीय सेवामा लाग्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठन हुँदासमेत उहाँ कुनै पार्टीमा हुनुहुन्थेन ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उहाँ सुरुमा अलमलिनुभएको थियो । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत् पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उहाँ राजनीतिमा होमिनुभयो । छोटो अवधिमै रास्वपाले उहाँलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्यो । अब उहाँको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल हुनुभयो । उहाँ आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउनुहुन्छ ।

एक हप्ताअघि झापामा रहेकाे बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उहाँले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिनुभएको थियो । 'हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ', उहाँले भन्नुभएको थियो, 'हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसदभित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।'

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उहाँको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उहाँले प्रतिष्ठित ‘अशोका फेलो’ पाउनुभयो । विभिन्न दाता र शुभचिन्तकहरूले उहाँको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानबापत पाएको सबै साधन स्रोत उहाँले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाउनु भएन । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिनुभयो ।

सन् २००९ मा उहाँले ‘एसिया जनसेवा’ अवार्ड पाउनुभयो । सन् २०१४ मा उहाँले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड’ पाउनुभयो । यी सम्मानहरूले उहाँको व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा सुवासित भयो ।

सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेटेकाे थियाे।

तस्बिर : उपसभामुख रानामगरकाे फेसबुक

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया