मलाई भन्न बाँकी केही भए भनिहाल्नु हाेला, मेराे माैनता आजसम्म मात्र हाे : रवि लामिछाने

 माघ १९, २०७९ बिहिबार १३:४९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता तोड्ने बताउनुभएको हो ।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, उहाँले लेख्नुभएकाे छ ।

महाभारत कथा अनुसार अभिमन्यूले कौरव पक्षले रचेकाे चक्रव्यूहको भेदन गरेका थिए । कथाअनुसार अभिमन्युले आफ्नो आमाकाे कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गरि त्यसभित्र पस्न जान्ने ज्ञान पाएका थिए । तर सुभद्रा बीचैमा निदाएकोले चक्रव्यूहबाट बाहिर निस्कने  ज्ञान पाएका थिएनन् । काैरबले रचना गरेकाे व्यूहमा पसेपछि निस्कन नसकेर उनी अनेक महारथीका हातबाट मारिए । अभिमन्यु मारिएकाे यही प्रसङ्गलाई लिएर लामिछानेले आफू अभिमन्यु नभएकाे बताउनुभएकाे हाे ।

सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध भएको फैसला गरेसँगै उहाँको सांसद र उपप्रधान एवम् गृह मन्त्री पद खारेज भएको छ । तर पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिएर सरकारबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि लामिछानेको चर्को आलोचना भएको छ । उहाँले गृह मन्त्रालयको अडान नछाडेको र नागरिकता प्रकरणमा दोषी ठहर भइसक्दा समेत कुनै गल्ती महसुस नगरेको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट आलोचना हुँदै आएको छ ।

आजसम्म यस्ता आलोचनाको जवाफ नदिएका लामिछानेले अब चुप लागेर नबस्ने उल्लेख गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया