गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा कुकुरमा रेबिज पुष्टि

 फागुन २३, २०७९ मंगलबार १८:२१:१९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा मानिस र पशुलाई टोकेको छाडा भुस्याहा कुकुरमा रेबिज पुष्टि भएको छ । डिभिजन वन कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा समाइएको कुकुर मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो ।

यो कुकुरले जिल्ला सदरमुकाम तम्घास र अर्खलेमा शनिवार एकै दिन सात जना व्यक्ति र तीन वटा पशुलाई टोकेको थियो । कुकुरले टोकेको व्यक्ति र पशुलाई पनि अनिवार्य रेबिजविरुद्धको खोप लगाउन भेटेरेनरी अस्पताल र रेसुङ्गा नगरपालिकामार्फत सबैलाई जानकारी गराएको छ । डा. काफ्लेले छाडा कुकुरदेखि सचेत रहन पनि आग्रह गर्नुभएको छ ।

गुल्मी अस्पतालमा रहेको पछिल्लो तथ्याङ्कअनुसार फागुन तेस्राे हप्तासम्म एक सय २४ जना व्यक्ति कुकुरको टोकाइबाट घाइते भएका छन् । स्थानीय पालिकाहरूमा रहेका स्वास्थ्य संस्थामा खोप नपाइने भएका कारण मानिसहरू कुकुरले टोकेपछि सदरमुकाम तम्घास आउनुपर्ने बाध्यता छ ।  

गएकाे दुई महिनाअघि गुल्मीदरबार गाउँपालिका ६ की ४० वर्षीया रजुन शाहकाे रेबिज लागेको कुकुरले टोक्दा ज्यान गएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया