टर्की–सिरियाका भूकम्प पीडितका लागि ७ अर्ब युरो सहयोगको प्रतिबद्धता

 चैत ७, २०७९ मंगलबार १५:९:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

टर्की र सिरियामा गएको भूकम्पका पीडितहरूका लागि अन्तर्राष्ट्रिय दाताहरूले अहिलेका लागि कम्तीमा पनि सात अर्ब युरो सहयोग गर्ने वाचा गरेका छन् । ती भूकम्प पीडितहरूका लागि सहयोग रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले बेल्जियमकाे राजधानी ब्रसेल्समा आयोजना गरेको दाताहरूको सम्मेलनका क्रममा उनीहरूले यस्ताे प्रतिबद्धता व्यक्त गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

गएको महिना टर्कीमा केन्द्रविन्दु भएर गएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियामा गरी ५० हजार जनाभन्दा धेरै मानिसको ज्यान जानुका साथै भौतिक क्षति भएको थियो ।

यस भूकम्पबाट प्रभावित हुने र विस्थापित हुने व्यक्तिको सङ्ख्या पनि लाखौँ रहेको संयुक्त राष्ट्र सङ्घको प्रारम्भिक अनुमान छ । एक प्रारम्भिक प्रतिवेदनका अनुसार टर्कीमा मात्रै एक सय अर्ब डलरभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । त्यस क्षेत्रमा गएकाे हप्ता आएको बाढीले पनि थप दुःख भएको जनाइएको छ ।

सोमवार आयोजना गरिएको दाता सम्मेलनमा विश्वका विभिन्न देशका ६० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियाे । अहिले टर्की र सिरियामा सङ्कटग्रस्त अवस्था रहेको र तत्कालै उनीहरूका लागि आवश्यक सहयोग जुटाउन दाता सम्मेलनको आयोजना गरिएको र त्यसमा तत्कालै आवश्यक पर्ने सङ्कटकालीन सहयोगअन्तर्गत यो प्रतिबद्धता आएको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया