रेसुङ्गाको प्रचार प्रसारका लागि धार्मिक महोत्सव सुरु

 बैशाख २४, २०८० आइतबार ९:३४:४६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गाको प्रचार प्रसारका लागि शनिवारदेखि यज्ञशाला परिसरमा धार्मिक महोत्सव सुरु भएको छ । 

भारतको अयोध्या र रेसुङ्गाको पुरानो सम्बन्धलाई विस्तार गरी धार्मिक एवम् पर्यटकीय गन्तव्य स्थलकोरुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा वैशाख २३ देखि ३१ गतेसम्म यज्ञशाला मन्दिर परिसरमा श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवम् विराट सन्त भक्त दर्शन मेलाको आयोजना गरीएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनु भयो ।

त्रेता युगदेखि रेसुङ्गाको सम्बन्ध अयोध्यासँग जोडिएको भएपनि यी दुईबीचको धार्मिक महत्त्व एवम् धार्मिक स्थलहरुको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि भारतको रामअयोध्या धामका स्वामी राजेन्द्रनन्दजी महाराज र राजस्थानका योगी शम्भुनाथजी महाराजको समन्वयमा महोत्सव गर्न लागिएको हो ।

आजदेखि सुरु भएको धार्मिक महोत्सवमा बोल्दै विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले धर्म र संस्कारको अभावमा मुलुकमा छाडापन आएको र त्यसले समाजमा विकृति बढ्दै गएको बताउनु भयो ।

उहाँले धर्मले नैतिक शिक्षा प्रदान गर्न सिकाउने काम गरेको भन्दै विश्वमा पश्चिमा संस्कृति मान्नेहरुले पनि अहिले हिन्दु धर्मतिर आकर्षित हुन थालेको बताउनु भयो । केन्द्रीय अध्यक्ष अधिकारीले धर्मले संस्कार र संस्कारले कर्तव्यबोध गर्न सिकाउने बताउनु भयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले धार्मिक क्षेत्र रेसुङ्गा क्षेत्रलाई धार्मिक एवम् पर्यटक स्थलको रुपमा सँगसँगै जोडनका लागि नगरपालिकाले 'जाउँ हिँडौं रेसुङ्गा' भन्ने कार्यक्रमको शुभारम्भ गर्न लागेको बताउनु भयो । धार्मिक महोत्सवले कार्यक्रमलाई प्रबर्द्धन गर्न थप टेवा पुग्ने  उहाँले विश्वास व्यक्त गर्नु भयो ।

तत्कालीन आयोध्याका राजा दशरथलाई पुत्र प्राप्त नभएपछि रेसुङ्गाका श्रृङ्ग ऋषिलाई अयोध्या लगेर यज्ञ गरेपछि पुत्र प्राप्त भएको भन्ने पौराणिक मान्यताका कारण रेसुङ्गासँग धार्मिक महत्व जोडिएको थियो ।

नौ दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा श्रद्धालुहरुको ठूलो संख्यामा सहभागिता रहने आयोजकहरुले अपेक्षा गरेका छन् ।  
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया