यूएईमा कार्यरत अर्का नेपालीले जिते तीन करोडभन्दा धेरैको चिट्ठा, भन्छन् : आमाको लागि घर किनिदिन्छु

 जेठ ३, २०८० बुधबार १७:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा कार्यरत अर्का नेपालीलाई फेरि करोडौँको चिट्ठा परेको छ ।

यएईको स्थानीय सञ्चार माध्यम खालिज टाइम्सका अनुसार यूएईमा कार्यरत नेपाली सूर्यलाई दश लाख यूएई दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५९ लाख एक हजार ३८७ रुपैयाँको चिट्ठा परेको हो । उहाँलाई यो यूएईको महजुज चिट्ठा गएको शनिबार परेको हो । सूर्यको थर भने उल्लेख गरिएको छैन ।

चिट्ठा जितेपछि सूर्यको भनाइलाई उद्धृत गर्दै खालिजटाइम्सले लेखेको छ ‘म अहिले पनि मिलियन दिर्हाममा कति वटा शून्य हुन्छ भनेर गन्ने कोसिस गरिरहेको छु ।’

३३ वर्षीय सूर्य रोजगारीका लागि सात वर्ष अघि यूएईको आबुधाबी जानुभएको थियो  ।  आबुधाबीमा मेशिन अपरेटरको रूपमा कार्यरत उहाँले मासिक दुई हजार दिर्हामभन्दा माथि कमाउँदै आउनुभएको छ ।

शनिबार महजुजको १२८ औँ ड्र हुँदा पनि उहाँ काम नै गरिरहनुभएको थियो । चिट्ठा काटे पनि आफूलाई नै यो चिट्ठा पर्ला भनेर उहाँले कल्पना समेत गर्नुभएको थिएन । 

‘आइतबार बिहान महजुजको खाता नहेर्दासम्म पनि मलाई यो चिट्ठा परेको छ भन्ने थाहै थिएन’ सूर्यले खालिज टाइम्ससँग भन्नुभएको छ । 

सूर्यले आफूले चिट्ठामा जितेको रकम आफ्नो आमाको लागि घर किन्ने र बालबच्चाको पढाइमा खर्च गर्ने बताउनुभएको छ ।

‘मलाई जहिले पनि भविष्यको चिन्ता हुने गरेको थियो, तर अब यो चिट्ठा पछि मैले जस्तो मेरो जीवनको कल्पना गरेको थिएँ त्यसरी नै जिउन सक्नेछु’ सूर्यले खुसी हुँदै भन्नुभयो ‘म एकदमै धन्य र खुसी छु ।’

उहाँ महजुजको ४३ औँ मिलिनियर हुनुभएको छ भने नेपालबाट रोजगारीमा गएर यूएईमा चिट्ठा मार्फत करोडौं रकम जित्ने उहाँ तेस्रो नेपाली हुनुभएको छ ।

यसअघि यूएईमा कार धुने काम गरिरहनुभएका भरतले १० मिलियन र सवारी चालकको रूपमा कार्यरत पदमले २० मिलियन यूएई दिर्हामको चिट्ठा जित्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ben bahadur bisowakarma

    May 17, 2023, 7:29 p.m.

    20232530

  •  0 Reply

तपाईको प्रतिक्रिया