आठ वर्षमा छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै

 जेठ १८, २०८० बिहिबार ९:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बनाउन थालेको आठ वर्षमा छ पटक म्याद थप्दा पनि खोटाङको साकेला गाउँपालिका–५ को बिर्तामा रहेको स्वास्थ्य चौकी भवन बनिसकेको छैन । 

२०७४ साल कात्तिक २० भित्र निर्माण सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपियो ।

दुई करोड १६ लाख रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र  २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिनुभयो । 

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्य चौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ ।

झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउने काम अझै भएको छैन ।

निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ । 

स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । 

ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया