कमला नदीमा १२ वर्षदेखि पुलकाे काम अलपत्र : तीन मिनेटको बाटो पार गर्न डेढ घण्टा

 असार २, २०८० शनिबार १५:४१:४७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली - शुक्रवार सुरजकुमार मुखिया निकै हतारमा हुनुहुन्थ्यो । केही घण्टा भए पनि छिटो पुगिएला भनेर पूर्वपश्चिम महेन्द्र राजमार्ग छलेर जनकपुरबाट विराटनगर जान हिँडेका उहाँ निकै हतारमा रहेको मोटरसाइकलको गतिबाट प्रष्ट थाहा हुन्थ्यो । त्यस्तै हतारमा हुनुहुन्थ्यो रामदेव महतो पनि । 

हतार गरेर के गर्नु ? उहाँहरूको मोटरसाइकलको गति १२ वर्षदेखि भासिएको धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला नदी छेउमा पुगेर रोकिनु थियो । जसरी केही समयअघिदेखि सिरहा नगरपालिका–७ का कपिलदेव यादव छुताउँदै रोकिरहनुभएको थियो । 'छिटो पुगिन्छ भनेर पहिले यही बाटो आइन्थ्यो तर यस पटक भने दुःख पाइयो । पुल बगाएको बारे यही पुगेपछि मात्रै थाहा भयो । अब फर्किने कि अर्को बाटोबाट जाने दोधारमा छु', यादवले मलिन मुद्रामा भन्नुभयो। 

यस्तै पछुतो थियो सुरजकुमार मुखियाको पनि । 'साथीले एकाध घण्टा छोटो हुन्छ भनेर यो बाटो आए तर यहाँ त कामचलाउ काठको पुल पनि बगाइसकेको रहेछ', उहाँले भन्नुभयो, 'यस्तो हविगत होला भन्ने के थाहा ! फसादमा परियो । अब कुन बाटो भएर जाने थाहा नै छैन ।'

यतिबेलै आइपुग्नुभयो धनुषाको विदेह नगरपालिका वडा नं ६ का सुविन्दर झा । वर्षौँदेखि कमलाको दुःखबारे जानकार झाले पारी पुग्न दुई विकल्प सुनाउनुभयो । ती दुई विकल्पमध्ये या त भारतीय बजार जयनगर हुँदै जाने वा सारश्वरघाट हुँदै डुङ्गा चढेर पुलपारि पुग्ने । 'के गर्नु हजुर केही दिनअघि मात्रै आएको बाढीले अस्थायी काठेपुल पनि बगायो । धेरै मान्छेले यसरी नै पुलसम्म पुगेर धोका पाउनुपरेको छ । यस्तो दुःख वर्षायामभरि भोग्नु्पर्छ', उहाँले भन्नुभयो । उहाँले तीन मिनेटको दूरीमा पुग्ने ठाउँमा अब डेढ/दुई घण्टा समय लाग्ने बताउनुभयो ।

हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भाँसिएको थियो । स्थानीयले वर्षौँदेखि काम चलाउ काठेपुल बनाएर आवतजावत गरिरहे पनि वर्षायाममा भने त्यही पुल बगाएर सधैँ यस्तै सास्ती हुने गरेको छ । यो समय स्थानीयले वारपार गर्न भारतीय बजार जयनगर वा एक सय रुपैयाँ तिरेर डुङ्गाको जोखिमपूर्ण यात्रा परिरहेको स्थानीय पत्रकार नरेश रौनियारले जानकारी दिनुभयो । 

'अन्य बेला त काठेपुल वा अन्य विकल्प प्रयोग गरेर नदी वारपार गर्न सकिन्थ्यो तर वर्षायामभरी यो विकल्प पनि रहँदैन । खै ! कहिलेसम्म यस्तो सास्ति खेप्नुपर्ने हो ?', उहाँले भन्नुभयो । निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स कन्सट्रक्सन’ ले आउँदाे चैत मसान्तसम्म भाँसिएको पुल पुनःनिर्माण गर्ने गरी काम गरिरहेको थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीका आयोजना प्रमुख सुदीप थापाले आउँदाे असोजसम्म काम रोकिएको जानकारी दिनुभयो । 

विसं २०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो तर पटक पटक म्याद थपेर करिब दश वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइ उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ साल असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि पुनःनिर्माण अनिश्चित भयो । यही अनिश्चितताबीच गएकाे फागुन १५ मा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत निरीक्षण गरी तत्काल काम सुरु गर्न निर्देशन दिनुभएको थियो ।

'नागरिकले निकै सास्ती भोग्नुपरेको छ । यसरी पुल निर्माण कार्य अलपत्र पार्न पाइँदैन । म निर्माण कम्पनीलाई प्रक्रिया पुर्याएर तत्काल काम गर्न निर्देशन दिन्छु', उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभएको थियो । यसको केही समयपछि गएकाे चैत २६ गते प्राविधिक नक्सा स्वीकृत भइ पुनःनिर्माणको काम सुरु पनि गरियो तर शुक्रवारदेखि याे कार्य पूर्णरुपमा ठप्प भएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया