बिनापैसा ७७ जिल्लाको भ्रमणमा १८ वर्षीय किशाेर

 असार ११, २०८० सोमबार १३:५०:२७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ कोटजहारीका १८ वर्षीय सुशील कवँर योगीले घर छोडेको २७ दिन भयो । चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोट बोकेका योगी अहिले रसुवा पुग्नुभएको छ । भ्रमण सुरु गरेदेखिको यो २६ औँ जिल्ला हो । 

हातमा मोबाइल, पिठ्युँमा झोला, झोलामा नेपालको झन्डा बोकेर निस्कनुभएका योगीले बिनापैसा यो भ्रमण गरिरहनुभएको छ । बिनापैसा देशका सबै जिल्ला भ्रमण गर्ने सोच बोक्नुभएका योगीको उद्देश्य भनेको नेपाल बुझ्ने र नेपालका पर्यटकीय स्थलहरू विश्वसामु चिनाउने हो ।

योगीले भन्नुभयो, ‘नेपाल घुम्ने मेरो सानैदेखिको रहर हो, अहिले बिनापैसा घरबाट निस्केको हुँ, बाटोमा प्रायः सबैले सहयोग गर्नुभएको छ ।’ उहाँले धेरैजसाेले गाँसबासका लागि सहयोग गरिरहेको बताउनुभयो । सक्नेले धेरथोर नगद पनि सहयोग गरेको उहाँको भनाइ छ । 

नेपालको भूगोल, समाज र मान्छे चिन्ने अनि घुमिसकेपछि नेपालको प्रचार गर्नलाई पुस्तक लेख्ने याेगीकाे सोच छ । हरेक दिनको यात्राकाेबारेमा दैनिकी टिपोट गर्ने गरेको उहाँले सुनाउनुभयो । अहिलेसम्मको यात्राले नेपाली भूगोल, समाज र मान्छेकाेबारेमा जान्न पाएको उहाँको बुझाइ छ ।  भ्रमणका क्रममा जिल्ला सदरमुकाम र केही प्रख्यात ठाउँ पुग्ने गरेको योगीले बताउनुभयो । 

कक्षा १२ काे परीक्षा दिइसकेपछि देश भ्रमणमा निस्केका उहाँले नतिजा आउने अवधिको सदुपयोगका लागि देशको भ्रमणमा हिँड्नुभएको हो । विज्ञान सङ्काय लिएर कक्षा १२ को परीक्षा दिनुभएका उहाँको चाहना विज्ञान विषयमै स्नातक गर्ने छ, त्यसपछि नेपालमै केही योजना सञ्चालन गर्ने र अरूलाई रोजगारी दिने सोच छ । यहाँसम्म आइपुग्दा घुम्नका पैसा नभई इच्छाशक्ति चाहिने उहाँ सुनाउनुहुन्छ । परीक्षा सकिएको मौका र घुम्ने सबैभन्दा उपयुक्त उमेर यही हो सोचेर घरबाट निस्किएको योगीले बताउनुभयो । 

सुरुमा रुकुम पश्चिमबाट चितवन झरेका योगीले अहिलेसम्म २४ वटा जिल्ला पुगेको बताउनुभयो । कहिलेकाहीँ ट्रक, गाडी, मोटरसाइकल चालकलाई लिफ्ट माग्दै आएको बताउने उहाँले कुनै दिन १३ घण्टासम्म पैदल हिँडेको बताउनुभयो । अहिलेसम्म उहाँले चितवन, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, उदयपुर हुँदै खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डाै, नुवाकोट र रसुवा भ्रमण पूरा गरेको बताउनुभयो ।  

योगीका बुवा नरेन्द्र मजदुरीका लागि भारतमा हुनुहुन्छ । आमा भद्रशीला घरमै कृषिकर्ममा गर्नुहन्छ । नेपाल घुम्ने कुरा बुबाआमाले सहमति नजनाए पनि विश्वास दिलाएर घरबाट निस्किएको उहाँले उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया