सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न हुँदैन : केपी ओली

 साउन २०, २०८० शनिबार १७:२१:१८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे छ । 

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले काठमाण्डाैमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । 

अध्यक्ष ओलीले कालापानीमा भारतले ६१ वर्षअघि कुनै सम्झौता वा कुनै जानकारी नदिइकन एकतर्फीरुपमा आफ्नो सेना ल्याएर राखेको उल्लेख गर्दै नेपाल सरकारले लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गर्न नहुने बताउनु भएकाे हाे । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन आफैँले बुझ्ने तयारीका क्रममा सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, 'ईपीजी प्रतिवेदन नबुझ्ने भन्ने थिएन, तर मिति मात्रै तोकिएको थिएन, पछि मैले बीचमै सरकार छाड्नुपर्यो ।' 

ईपीजी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण याे प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको उहाँको आरोप छ । अध्यक्ष ओलीले भन्नुभयो, 'हाम्रो देश कुनै पनि सैनिक गुटमा सामेल हुँदैन, सैनिक गुटमा प्रत्यक्ष वा परोक्ष कुनै पनि हिसाबले हामी सामेल हुँदैनौँ, हाम्रो भूमिमा कुनै पनि बाह्य सैनिक आउँदैन, हाम्रो भूमिमा कुनै पनि देशको सैनिक स्थापित हुन दिँदैनौँ ।'

साथै, उहाँले भारतले दार्चुलाको लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर जिद्दी गरिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, 'लिम्पियाधुरा भएर बग्ने महाकाली नदीलाई नेपाल र भारतको सिमाना मान्नुपर्नेमा लिपुलेक भएर बग्ने सानो कुलोलाई सीमा भनेर अर्घेल्याइँ गरिरहेको छ, कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याइँ हो । हाम्रो दाबी छाड्नु हुँदैन ।'  

यस्तै, अध्यक्ष ओलीले अत्यन्त सन्तुलित र सम्यमित ढङ्गले कुनै पनि देशसँग नलागिकन, कसैप्रति अनावश्यक निकटता र कसैप्रति पनि अनावश्यक दूरी बढाउन वा कायम गर्नेतिर लाग्न नहुने बताउनुभयो । 'हामीले हाम्रा छिमेकीसँग मित्रतापूर्ण ढङ्गले र स्पष्ट ढङ्गले हाम्रा न्यायोचित हितको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्छ', अध्यक्ष ओलीले भन्नुभयो । भारत र चीन दुई मित्र राष्ट्र भएकाले दुवैसँग खुलस्त कुरा राखेर आपसी समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

साथै उहाँले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने बताउँदै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने बताउनु भएकाे हाे । 

'हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ, स्तर कस्तो छ ? नीतिले निर्धारण गर्दछ, यी सबै पक्षलाई विचार गरेर आज हाम्रो देशको हामीले अपनाउनुपर्ने विदेशी नीति, परराष्ट्र सम्पन्न कसरी अगाडि बढाउने भन्ने कुरा विभिन्न पृष्ठभूमिमा निर्धारित हुन्छ', उहाँले भन्नुभयो ।

 आन्तरिक र बाह्य सम्बन्धमा दृष्टिकोण बनाउन तथा नीति प्रस्तुत गर्न नेपाल स्वतन्त्र रहेको अध्यक्ष ओलीको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया