कैलालीका विभिन्न ठाउँ डुबानमा, झण्डै ३ हजार ४ सय घरधुरी प्रभावित

 साउन २५, २०८० बिहिबार १०:५७:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली - वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेकाे छ । डुबानका कारण दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।

डुबानका कारण धेरै परिवार विस्थापित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । प्रभावितलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित ठाउँमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।

घरभित्र पानीपस्दा खाद्यान्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेकाहरुलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेकाे छ । 

वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधवार हिजाे प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।

बर्सेनि नदीको सतहमा गेग्रान, माटो, ढुङ्गा, बालुवाले सतह पुरिँदै जाँदा नदी तथा खोलाको सतह बढेर डुबानको समस्या बढ्दै गएको स्थानीयको भनाइ छ । डुबानको समस्या बर्सेनि बढ्दै जाँदा दशकौँअघिदेखिका कतिपय पुराना बस्तीनै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । 

नदीको बहाव बढेर हुने कटानले कतिपय ठाउँको हुलाकी राजमार्ग र अन्य सडकसमेत कटान हुने गरेको छ । वर्षासँगै गएको पहिरोले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा यातायात आवागमन सोमवार रातिदेखि अवरुद्ध छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्ला आवागमन गर्ने यात्रु र मालवाहक गाडीबीच बाटोमै रोखिएर अलपत्र छन् । यो राजमार्गको बूढीतोला खानीडाँडा सडक खण्ड भासिएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया