कैलालीकाे टीकापुरमा कर्णाली नदी पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

 साउन २८, २०८० आइतबार ८:२२:५४ | रासस
unn.prixa.net

कैलाली - कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले जमिन कटान गर्न थालेकाे छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान गरेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ ।

नदी कटान तीव्र भएपछि शनिवार हिजाे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको थियाे । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिनुभयो । 

नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।

नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही ठाउँमा बिग बोल्डर (ठूला ढुङ्गा) सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो । खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो ।

नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ । आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक–पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताउनुभयो । 'हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौँ', उहाँले भन्नुभयो, 'निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो । साथै ठूला ढुङ्गा पाउन पनि समस्या भएको छ ।'

नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । पालिकाले मनोमानी नदी उत्खनन गरेकाले समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिवारदेखि आउँदाे तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ । पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ ।

तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताउनुभयो । 'नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ', उहाँ भन्नुहुन्छ, 'नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ ।'

जानकी गाउँपालिका वडा नं ९ मा रहेकाे पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन् । पालिकाले याे ठाउँमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ । जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ । 

पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका कार्य शुरु गरेको छ । वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो ।

'यसअघि साउन २२ गतेदेखि आएको अविरल वर्षाका कारण टीकापुर नगरपालिका वडा नं ६ र ७ का तीन सय ८१ घरधुरी बाढीबाट प्रभावित भएका छन्', उहाँले भन्नुभयो, 'सबै सरोकारवालालाई तयारी अवस्थामा रहन अनुरोध गरका छौँ । पालिकामा रहेका जनशक्तिलाई पनि तयारी राखेका छौँ ।'

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया