चखुन्चा खहरे : भत्काएर त्यत्तिकै छोड्दा स्थानीयलाई सास्ती

 भदौ १०, २०८० आइतबार ८:५७:३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

बूढानीलकण्ठ नगरपालिका–१० का कुमार दुलाल काठमाण्डौ महानगरपालिकाकाले खोलेको चखुन्चा खहरेको डिलमा बसेर हेरिरहनु भएको छ । उहाँ यसलाई खहरे, खोला वा ढल के भन्ने भन्नेमै अलमलमा हुनुहुन्छ । उहाँका अनुसार चखुन्चा खोला पुरेको झण्डै २० वर्ष जति भयो । ठूलो पानी पर्दा पानी खोला पुरेको माथिबाटै बग्थ्यो र वरपरका घरमा पस्थ्यो । यो खोलाले बूढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकालाई छुट्याएको छ । यसकारण खोल्ने, नखोल्ने, किन खोल्ने, कसरी खोल्ने भन्ने ठूलो विवाद र हात हालाहालको स्थितिसम्म बन्यो । 

चखुन्चा खोला चाबहिल गोपीकृष्ण नजिक आएर धोबीखोलामा मिसिन्छ । दुलाललाई यो खोला खोतलेको मन परेको छैन । उहाँको यसमा आफ्नै तर्क छ ।

‘काठमाण्डौ महानगरले अन्त पनि यसरी खोलेर असरल्ल पारेको राखेको छ । यसकारण हामीले त यसलाई खोल्नै हुँदैन भनेका थियौँ । हामीले न नखोल्नलाई निकै जोड गरेका हौँ । एक दिन त रोकेको पनि हो । अर्को दिन आएर खोल्यो,’ उहाँ भन्नुहुन्छ, ‘हेर्नुस् अब खोल्यो त्यसै ह्वाङ छोड्दियो । मान्छे पर्ला भन्ने डर । हिजो कत्रो ठूलो बाढी आएको थियो । यहाँ वरपरका मान्छेलाई घरबाट निस्कनै गाह्रो छ ।’

दुलाललाई अहिले बर्खामा चखुन्चाले बगाउला भन्ने चिन्ता छ । अब बर्खा सकिएपछि गन्हाउने अर्को चिन्ता छ । उहाँ भन्नुहुन्छ, ‘यो बर्खामा मात्र हो पानी । त्यो पनि अब एक/दुई दिन । केही समयपछि पानी हुँदैन र ढल मात्र भएर गन्हाउन थाल्छ । अहिले पानीले बगाउला भन्ने डर छ । त्यो बेला ढलमा परिएला भन्ने डर छ ।’

पहिले चखुन्चा खहरे खोला हो । खोला बग्न छोडेपछि खहरेका दायाँबायाँका बासिन्दाले गन्हायो भनेर उपभोक्ता समितिमार्फत् त्यहाँ ढल हाल्दै पुर्दै गरेको पाइन्छ । यो पुर्ने काम भने २०५८ सालदेखि २०६५ सालसम्म भएको हो । 
बूढानीलकण्ठ नगरपालिकाको आरम्भ चोकमा यज्ञमति र चखुन्चा खहरे मिसिएको छ । यज्ञमतिमा मिसिए पनि यसको नाम चखुन्चा खहरे नै रहेको छ । यज्ञमतीको शुरुवाती बिन्दु गोकर्णेश्वर र बूढानीलकण्ठको सिमाना जगडोलभन्दा मुनिको पानी खोल्सा हो ।

चखुन्चा भने लाखेपोखरीबाट शुरु हुन्छ । चखुन्चा गोकर्ण पैयुँटार हुँदै आउने गर्छ । यसलाई खोल्न यसअघि पनि धेरै प्रयत्न भएको भएको बताउनुहुन्छ काठमाण्डौ महानगर–७ का नारायण संगत । उहाँलाई यो खहरे खोलेको राम्रै लागेको छ । तर, उहाँको आपत्ति भने यसलाई यसै छोडिन्छ भन्नेमा हो । उहाँ भन्नुहुन्छ, ‘यो खोलेको ठिकै हो । हुन त यसलाई खोल्दा यसको सिमानाका बूढानीकलकण्ठ नगरपालिकाका मानिसलाई मर्का पर्छ । तर, यसको उचित व्यवस्थापन भने हुनुपर्छ । यसलाई त्यसै छोडिनुहुन्न ।'

भर्खर महानगरले खोलेको चखुन्चा खहरेमा गएर हेर्दा संगतको भनाइ पुष्टि हुन्छ । चखुन्चा खहरेको डिलैमा घर भएकी महेश्वरी विक चखुन्चा खोलेको ठिकै भए पनि यसको तरिका भने गलत भएको बताउनुहुन्छ । यहाँ अहिले खानेपानीको समस्या छ । खहरे खोल्दा भएका खानेपानीका सबै पाइप बिग्रिएका छन् । हिँड्नलाई बाटो छैन । सानो डिल छ । डिलबाट साना, केटाकेटी बुढाबुढी खहरेमा खस्ने सम्भावना छ । राति त्यो खतरा झनै धेरै छ । राति काम विशेषले बाहिर निस्कनुपर्यो भने झन् समस्या छ । 

तीन वर्ष अगाडि यसै ठाउँमा महेश्वरी विकको भाइ ११ वर्षको नाती ढलमा परेर बेपत्ता भए । उनको अहिलेसम्म अत्तोपत्तो छैन । ‘खोलेको ठिकै होला । तर, यसरी खोल्ने होइन त्यो पनि यो बर्खामा । अबको दुई महिनापछि गरेको भए ठिकै हुन्थ्यो । अहिले त पानी छ ठिकै छ । अब यो त्यसै छोडदिन्छन् । गन्हाएर बस्न, टिक्नै सकिँदैन,’ विक भन्नुहुन्छ, ‘भाइको नाति तीन वर्ष अगाडि यहीँ परेर बेपत्ता भएको अहिलेसम्म कसैले खोजेको छैन । यस्तो नोक्सान हुँदा पनि अहिलेसम्म कसैले केही हेरेन । अहिले पनि फेरि हामीलाई नै खतरा हुने काम गरिएको छ ।’

बूढानीलकण्ठ नगरपालिका १०, १२ र काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ को सिमानामा पर्ने चखुन्चा खहरेमा उपत्यका विकास प्राधिकरणले बक्स कलभर्टको अवधारण अघि सार्दै झण्डै साढे एक किलोमिटरमा कलभर्ट निर्माण गरिसकेको थियो । अर्को साढे एक किलोमिटरमा कलभर्ट निर्माणको योजनासमेत तय भएको थियो । 

काठमाण्डौ महानगर र बूढानीकलकण्ठ नगरपालिकाबीच बक्स कलभर्ट निर्माणका बारेमा समन्वय भइसकेको बताउनुहुन्छ बूढानीलकण्ठ नगरपालिका १० नम्बर वडाका वडाध्यक्ष नवराज भट्टराई । जसअनुसार धोबीखोलादेखि साततल्लेसम्म निर्माणको योजना बनि पनि सकेको थियो । जसका लागि अहिले राखिएको ढल निकाल्नुपर्थ्याे । तर, अहिलेको यो बर्खा यसका लागि उपयुक्त समय नभएको र केही समयपछि निर्माण गर्ने कुरा थियो । तर, यो सबै हुँदाहुँदै एक्कासी महानगरले खहरे खोतलेर अहिले बिजोग बनाएको बताउनुहुन्छ वडाध्यक्ष भट्टराई ।

भट्टराईका अनुसार खोल्ने ठूलो कुरा होइन । तर, खोलिसकेपछि यहाँका नागरिकको जीवन कष्टकर हुन्छ । लामो समय सम्बोधन गर्न नसक्ने अवस्था हुन्छ । यसलाई कहरको अवस्था नबनाउँ । यसलाई सम्बोधन गर्ने बाटो क्लियर गरेर मात्र खोलौँ । खोल्नै नै हुँदा भन्ने थियो ।

उहाँ भन्नुहुन्छ, ‘तर, न्यूनतम पूर्वाधार र सुरक्षाका कुनै मापदण्ड पनि प्रयोग गरिएन । त्यहाँ आउन सक्ने जोखिम टार्नका लागि कुनै पनि उपाय नअपनाइ खोलियो ।’

अहिले त्यस क्षेत्रमा खानेपानीको ठूलो समस्या छ । काठमाण्डौ महानगरले गएको साउन २६ गतेदेखि चखुन्चा खहरे खोतल्न थालेको त्यस क्षेत्रमा झण्डै १५ दिन बितिसक्दा खानेपानीको कुनै सम्बोधन हुन सकेको छैन । घरमा जान पुलको व्यवस्था हुन सकेको छैन । 

वडाध्यक्ष भट्टराई त्यस क्षेत्रमा काठमाण्डौ महानगरको कुनै योजना नै नभइकन हचुवाको भरमा अगाडि बढेको आरोप लगाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘उहाँहरुसँग कुनै प्लान नै छैन । सरकारको एउटा निकायले योजना अनुरुप काम गर्न शुरु गरिसकेको प्रोजेक्टमा मनगढन्ते ढङ्गले काम भयो । आफुखुसी आफूलाई मनलागेको प्रोजेक्ट गर्नको निमित्त जुन के बन्छ भन्ने कुराको जानकारी हामीलाईसमेत छैन ।’ तर, काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामा भने बूढानीकलकण्ठ नगरपालिका १० नम्बर वडासँग समन्वय भएर काम अघि बढिरहेको बताउनुहुन्छ । 

अहिले त्यहाँ ‘रिटेनिङ वाल’ लगाउने क्रममा स्थानीयले चित्त नबुझाएका कारण पुनः नापजाँच गर्ने काम भइरहेको र पानी परिरहेका कारण काम सहजातापूर्वक अगाडि बढाउन नसकिएको बताउनुहुन्छ वडाध्यक्ष लामा । 

अहिले महानगरमा ६ वटा बेलिब्रिज तयार रहेको र नापजाँच नभएका कारण मात्र त्यहाँ नलगिएको पनि लामाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘दुवैतर्फका स्थानीयको आवश्यकता अनुरुप फलामको र काठको पुल हाल्ने योजना पनि छ।’

झण्डै दुई हजार घरहरु रहेको त्यस क्षेत्रमा लभगभ आठ सय घरहरु डुबानमा परेपछि खहरे खोल्न माग भए अनुरुप महानगरले यो कदम चालेको बताउनुहुन्छ लामा । यसकारण अहिले यस क्षेत्रका स्थानीय खुसी भएको र उहाँहरुको आवश्यकता अनुरुप नै काम हुने पनि उहाँको भनाइ छ । तर, यस क्षेत्रको अवस्था हेर्दा खानेपानी, घर आउजाउ गर्नेको बाटोको ठूलो समस्या छ । भत्काउनु अगाडि नै त्यहाँ के गर्ने भन्ने योजना नदेखिँदा यहाँका बासिन्दा मर्कामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया