बाग्मती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेद्वारा राजीनामा

 भदौ १९, २०८० मंगलबार १०:५९:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर -  नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएकाे छ । सामजिक सञ्जाल फेसबुकमार्फत् काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामासमक्ष राजीनामा पेस गरेको तस्बिर सार्वजनिक गर्दै यस्ताे जानकारी गराउनु भएकाे हाे । 

उहाँले राजीनामा दिनुकाे खास कारण भने खुल्न सकेको छैन । उहाँले प्रमुख सचेतकको भूमिकाले पार्टी सङ्गठनको काममा समय दिन नसकेका कारण जनसेवामा समय अभाव महसुस भएको बताउनु भएकाे छ । 

'प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अत: केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली नागरिकको सेवामा थप समर्पित हुन याे पदबाट राजीनामा दिएको छु । यस बीचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ’ उहाँले लेख्नुभएकाे छ । 

गएकाे पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाकाे गठबन्धनको सरकार गठन भएपछि कांग्रेस प्रतिपक्ष दल बनेको थियो । कांग्रेस प्रतिपक्ष दल रहँदा संसदीय दलका नेता लामाले उहाँलाई प्रमुख सचेतक नियुक्त गर्नुभएकाे थियाे । 

तत्कालीन सत्तागठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गएकाे फागुनमा सत्ता गठबन्धन परिवर्तनसंँगै कांग्रेस सत्ता पक्ष बन्यो ।

कांग्रेस सत्तामा आएसँगै उहाँको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालले पाउनु भएकाे थियाे । ढकाल प्रमुख सचेतक बनेपछि उहाँ सचेतकको जिम्मेवारीमा रहनु भएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया